एमालेले विदेशी पाहुनालाई जंगल सफारी गराउने

एमालेले विदेशी पाहुनालाई जंगल सफारी गराउने

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विभिन्न देशका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो ।

यसका साथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिनुभएको छ ।

विदेशी पाहुनाहरुले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना समेत दिनेछन् । अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरुसँग मंसिर १२ गते बिहान संयुक्त ब्रेकफाष्ट मिटिङ गर्ने कार्यसूची छ ।

चितवनमा रहँदा पाहुनाहरुलाई जंगल रिसोर्टमा बसोवासको व्यवस्था मिलाइएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्जमा जीप सफारीका साथै थारु संस्कृतिको समेत जानकारी गराइने छ ।

टिप्पणीहरू