राज्यले टपक्क यसरी मान्छे रोज्दा

सरकारले आफ्ना देशवासी प्रतिष्ठित नागरिकहरूलाई नै चिनेन त भन्न मिल्दैन । तर, चिनाई रहेछ ‘रातो राम्रो, गुलियो मीठो’ भनेजस्तो !

यसपालिदेखि संविधान दिवसको अवसर पारेर सरकारले सिफारिस गरेका विभिन्न पदकको प्रसंगमा हो, यस्तो देखिएको । एकै दिनको निर्णयबाट केही प्रतिष्ठित अनि बढीजसो चाहिँ विवादास्पद व्यक्तिहरू विभिन्न देशको मिशन सम्हाल्ने गरी राजदूत सिफारिस भए । साउदीमा ३, ४ लाख नेपाली बस्छन् । त्यहाँ महेन्द्रप्रसाद सिंह राजदूत छन् । कतारमा पाँच लाख नेपाली छन् । त्यहाँ रमेश कोइराला राजदूत छन् । एउटै निर्णयले राजदूत भएका हुन्, प्रा.डा. विश्वम्भर प्याकुरेल । उनी रहेको देश श्रीलंकामा दुई–चार सय नेपाली बस्लान् । तर, को हुन्, प्रा.डा. प्याकुरेल ? के यो सरकारले उनलाई चिन्यो ? पदकको सूची हेर्दा भन्न सकिन्छ, चिन्दै चिनेन । उहिल्यै नारायणगोपालले गाएको ‘तिमीले भनेका सारा देव छोएर म त खाइदिन्छु कसम आफैँलाई भाकेर’ सहित अनगिन्ती गीत रचनामात्र गरेका छैनन्, देशका मूर्धन्य अर्थविद्, राष्ट्र बैंकको बोर्ड र त्रिविमा लामो समय सेवा गरेका प्राध्यापकसँगै अहिलेको भूमिकामा राजदूत पनि हुन् । तर, यो सरकारले राजदूतमध्येबाट पदक दिन उनलाई उपयुक्त ठह¥याएन । डा.प्याकुरेलले नपाउँदा पनि गतिला–गतिला राजदूत नभएका हैनन् । तर, पदक पाइन् विवादैविवादको बिस्कुनले थिचिएकी शर्मिला ढकालले । उनी १५ हजार नेपाली कार्यरत ओमनमा राजदूत छिन् । महिला भएर दिइयो भन्ने हो भने पनि शकुन्तला शर्मा (गुरुङ) लाई नै हेरौँ न ! जतिबेला महिलाका लागि कलाकारिता वर्जित थियो, पुरुषले नै महिलाको भेषमा अभिनय गर्नुपथ्र्योे, त्यस्तो जटिल सामाजिक अवस्थामा समाजसँग विद्रोह गरिन् र रंगमञ्चमा आफैँ महिला भएरै अभिनय प्रस्तुत गर्दा देश–दुनियाँ नै चकित भयो । विवाह पनि अन्तर्जातीय गरिन्, वरिष्ठ नाट्यकर्मी हरिहर शर्मासँग । के एक वर्षअघि मात्र राजदूत भएर जनसमक्ष चिनिएकी शर्मिला शकुन्तलाभन्दा गज्जबको इतिहास बोक्ने व्यक्ति हुन् ? तर, पदकको सूचीमा शकुन्तला २५ र शर्मिला २६ मा परेकी छन् । परराष्ट्र सचिव शंकर बैरागी, अमेरिकामा बसेर दूतावास हाँकिरहेका अर्जुन कार्की र शर्मिलाहरूको योगदान उस्तै हो ? के देशले आफ्ना नागरिक कुन हैसियत, स्तर र दर्जाका हुन् भन्ने छुट्याउनुपर्ने हैन ? 

पत्रकारिता, त्यसमा पनि जनपक्षीय पत्रकारितामा गोपाल गुरागाइँबराबरको मान्छे नेपालमा बिरलै छन् । पदक दिनका लागि उनीसँग बायोडाटा मागियो । बद्रीविनोद प्रतीक, श्याम रिमाल, टीकाराम राईसँगै उनको नाम प¥यो । ‘पर्नुभयो है’ भनेर खबर पनि गरियो । तर, अन्तिममा च्वाट्टै काटियो र अनधिकृत तवरले सशस्त्र प्रहरीको फुटेजबाट डकुमेन्ट्री बनाउनेको नाम घुसाइयो । घोडा देखाएर, अन्तिममा लिदीलाई पदक दिएजस्तो भएन त ?

टिप्पणीहरू