आज महिला हिंसा उन्मूलन दिवस, १६ दिन मनाईंदै

आज महिला हिंसा उन्मूलन दिवस, १६ दिन मनाईंदै

आज २५ नोभेम्बर अर्थात् महिलाहिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । महिलाहरू बलात्कार,घरेलुहिंसा र अन्य प्रकारका हिंसाको शिकार भइरहेका तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यो दिवस आज विश्वभर मनाईंदै छ ।

संयुक्त राष्ट्र संघले नोभेम्बर २५ मा महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दै आएको छ । दिवसले समाजमा लैंगिक हिंसालाई रोक्नुपर्ने बारेको सचेतना फैलाउँदै आएको छ ।

लैंगिक हिंसाविरुद्ध आजबाट १६ दिनसम्म लगातार अभियान मनाइन्छ । विश्वका अधिकांश मुलुकमा महिला र बालबालिकामा अत्यधिक हिंसा हुने गरेको छ । एक सर्वेक्षणअनुसार तीन जनामध्ये एक महिलाले आफ्नो जीवनकालमा शारीरिक वा यौन दुर्ब्यवहार भोग्ने गरेको तथ्य खुलेको छ ।

नेपालमा भने संघ, प्रदेश र स्थानीय तहका सरकार, युएनएफपीएलगायत संयुक्त राष्ट्र संघका निकायहरू, विकास साझेदार र स्थानीय सरोकारवालाहरूले लैंगिक हिंसा र लैंगिक असमानता अन्त्यका लागि आवाज उठाउँदै यो १६ दिने दिवस मनाउने गरेका छन् । यो अवधिभर सोसम्बन्धी गोष्ठी तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

राजनीतिक प्रतिबद्धता र सहयोगी कानुन तथा नीतिगत ढाँचा भए पनि नेपालमा महिलाविरुद्धको हिंसा एउटा ठूलो समस्या बन्दै आएको छ । यौन कार्यमा बालिका बेचबिखन अर्को जटिल समस्या बनेको छ ।

हिंसाको अर्को प्रमुख कारण दाइजो पनि हो । बालविवाह, कन्याको भ्रुण हत्या, बोक्सीको आरोप, विधवामाथिको दुव्र्यवहार, बहुविवाह छाउपडी, वादी, देउकी, झुमा र कमलरीले पनि महिलाहिंसालाई प्रश्रय दिएको महिला हिंसाको क्षेत्रमा खटिएकाहरुको अनुभव छ ।

टिप्पणीहरू