​हल्ला कि काम ठूलो हजुर ?

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेको कार्यावधि असोज ६ गते पूरा हुँदै छ । अबको अध्यक्ष बन्ने लिगलिगे दौडमा थुप्रै जना सहभागी छन् । निवर्तमान कार्यकारी निर्देशक डा. चिनबहादुर पुन पनि संलग्न छन् ।

अस्पतालमा भ्रष्टाचार न्यूनीकरण गर्न उनको ठूलो योगदान छ । डा. चिनको यो थेगो नै छ कि ‘शिक्षा र स्वास्थ्यमा राजनीति गर्नु हुँदैन ।’ कर्मचारी भर्ती गर्दा राजनीतिकरण गरेनन् उनले । बरु लोकसेवा आयोगको सहयोग लिए । डा. पुन एमालेनिकट मानिन्छन् । आफूले भनेको मान्छे राखेन भनेर तत्कालीन एमालेकै कतिपय नेता रिसाए । यसअघि पार्टीगत रूपमा कर्मचारी भर्ना गर्ने चलन थियो ।

इ–टेण्डर गर्दा पनि चलखेल हुन सक्छ भनेर सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंका पदाधिकारीहरूसँग समन्वय गरी टेन्डर परम्पराको थालनी उनले नै गरेका हुन् । उनको नेपालस्थित चिनियाँ दूतावास तथा चीन सरकारसँग राम्रो सम्बन्ध छ । हालसम्मका कार्यकारी निर्देशकमध्ये उनी नै पहिलो व्यक्ति हुन्, जसले ३४ करोड बराबरका उपकरण अनुदानस्वरूप भिœयाए । अरु भए प्रधानमन्त्री, मन्त्रीहरूलाई बोलाएर उद्घाटन गर्थे । 

आईएईएबाट अनुदान स्वरूप प्राप्त गामा क्यामेरा र आन्तरिक स्रोतबाट एमआरआई सेवा समेत सञ्चालनमा ल्याए । सर्जिकल अंकोलोजी विभागमा विना चिरफार गरिने लेजर सर्जरीको नयाँ सेवा नेपालमै पहिलोपटक उनैले अपग्रेड गराए । प्याथोलोजी विभागमा फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाइजरका सम्पूर्ण सेट जडान गरी डा. चीनले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेका छन् । चीन सरकारले यी यावत् महत्वपूर्ण उपकरणहरू नदिएको भए ब्लड टेस्ट, बायोप्सी परीक्षण जस्ता महत्वपूर्ण सेवा अवरुद्ध हुने थिए । 

डा. चिन कार्यकारी निर्देशक भएपछि अमेरिकालगायत युरोपियन मुलुकसँग समेत महत्वपूर्ण सम्झौता भए । नर्र्वेको बर्गेन युनिभर्सिटीसँग सम्झौता गरी मुखको क्यान्सरको अनुसन्धान भइरहेको छ । नर्वेकै नर्वेजियन रेडियम हस्पिटलसँग सम्झौता गरी हड्डीको क्यान्सरको अनुसन्धान भइरहेको छ । नेपालका प्रत्येक ती बिरामीलाई तीन लाख रूपैयाँ बराबरको केमो औषधिसमेत नर्वेबाट उपलब्ध हुँदै आएको छ । अमेरिकाको फक्स चेज क्यान्सर सेन्टरसँग सम्झौता गरी मेनपावर टे«निङ गराए । युएसएकै उताह तथा मेरील्याण्ड युनिभर्सिटीसँग पनि सम्झौता गरी टाउको र घाँटीको क्यान्सरको अनुसन्धान भइरहेको छ भने अस्पतालमा डीएनए एक्स्ट्राक्ट पनि सफलतापूर्वक सम्पन्न भई साइटोजेनेटिक परीक्षण सुरु गरिएको छ । 

यस अस्पताललाई बिपी कोइराला मेमोरियल नेशनल क्यान्सर इन्स्टिच्युट नामको डिम क्यान्सर युनिभर्सिटीमा स्तरोन्नति गरी एकेडेमिक प्रोग्रामहरू सञ्चालन गर्नको लागि २०७३ चैत २६ गते बसेको सञ्चालक समितिको बैठकबाट अनुमोदन भई कार्य अगाडि बढिसकेको छ । 

भनिन्छ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । धेरै राम्रा कामहरू गरेर पनि प्रचारप्रसार नगर्दा उनको देन ओझेलमा परेको छ । तर वास्तविकता यही हो कि उनले अस्पतालको सुधारका लागि सकेजति गरेका छन् । पहिले बिचौलियाको असाध्यै बिगबिगी थियो । बिरामी जाँच्नेबित्तिकै अस्पतालको एक नं. गेट अगाडिका ल्याबहरूबाट आधा घण्टाभित्र स्पेशल ल्याब टेस्टको समेत रिजल्ट आउँथ्यो । अपरेशन र भर्नाको लागि ५÷६ महिना लाइनमा राखेपछि बिरामीहरू बाध्य भएर प्राइभेट अस्पतालमा केमो लगाउने, अपरेशन गर्ने गर्थे । यस्तो अवस्थामा डा. चीन कार्यकारी निर्देशक हुँदा तत्कालीन सिडिओ र एसपीसँग सल्लाह गरी बिचौलिया नियन्त्रणको लागि ठूलै मिसन सञ्चालन गरिएको जगजाहेर छ । त्यतिबेला अस्पतालभित्र र बाहिरका दलालहरू २० जनालाई थुनेर बिचौलिया समस्या समाधानतर्फ आवश्यक पहल भएको थियो । तर पछिल्लो समय फेरि यो अस्पतालमा बिचौलियाहरूले टाउको उठाउन थालेका छन् । अस्पताल अगाडि २३÷२४ वटा ल्याबहरू विनादर्ता सञ्चालनमा थिए । त्यसमा पनि सिडिओ, एसपी, जनस्वास्थ्य प्रमुख लगायतसँग मिलेर विना दर्ता सञ्चालित सबै ल्याबहरू हटाउन लगाएका थिए उनले । यसरी बिचौलिया समस्या समाधान गरेपछि अस्पतालको राजस्व आम्दानी दोब्बर वृद्धि भएको बताइन्छ । डा. चिनकै कार्यकालमा क्यू मेसिन जडान गरी अस्पतालको सेवालाई चुस्तदुरुस्त राख्न सहयोग पुगेकोमा पछिल्लो म्यानेजमेन्टले यसमा पनि जस लिन खोजेको देखिन्छ । 

प्याथोलोजी विभागमा अमेरिकाको उताह युनिभर्सिटीबाट फ्रोजेन बायोप्सी गर्ने क्रायोस्टाट मेसिन, जुन ३४ लाख नेपाली रूपैयाँ पर्छ, डा. चिनले नै अनुदानस्वरूप भिœयाएका हुन् । जबकि हालको म्यानेजमेन्टले भने नर्वेबाट आफूले ल्याएको भनी प्रचार गरेको पाइएको छ ।

नवनिर्मित भवन निर्माणको अधिकांश काम डा. चिनकै पालामा भएको हो । थुप्रै समस्याले जेलिएर सम्बन्धित ठेकेदारले उक्त भवनको काम नै रोकी काम गर्ने टिमलाई अन्य ठाउँमा पठाउन लागेको थियो । यसको जानकारीको लागि अस्पताललाई पत्राचार नै गरिएको थियो । तैपनि विचलित नभई उनले १५ वर्ष अख्तियार दुरूपयोग अनुसन्धानमा काम गरेका रिटायर्ड एकजना वरिष्ठ इन्जिनियरलाई वरिष्ठ सल्लाहकारको रूपमा नियुक्ति गरेर विस्तृत अध्ययन गरी सञ्चालक समितिमा पटक–पटक छलफल गर्दै सबै गाँठा फुकाएका थिए । त्यसपछि नै भवन निर्माणको कार्य तीव्र गतिमा अघि बढेर हस्तान्तरण गर्ने स्थितिमा पुगेको हो । 

– अस्पतालका शुभचिन्तक

टिप्पणीहरू