बालकोटमा ‘बा’ लाई भेट्दैको भ्याई नभ्याई

बालकोटमा ‘बा’ लाई भेट्दैको भ्याई नभ्याई

दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीको निवास बालकोटमा एमाले नेताहरुको भीड लागिरहेको छ । अध्यक्ष ओलीले आँखा नझिम्क्याएसम्म पद नपाइने मनोदशामा रहेका पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरु बालकोट धाउने क्रम बढेको हो ।

अध्यक्ष ओलीले नेतृत्व चयनमा प्रतिष्पर्धाको बाटो खुला गर्ने संकेत गरेपछि दुई दिन अघिसम्म खुल्न नसकेका आकांक्षीहरु आ-आफ्ना दावेदारी लिएर बालकोट जान थालेका हुन् । ओलीलाई भेटेर पद सुरक्षित गर्न पूर्वमाओवादीदेखि ‘१० भाइ समूह’ सम्मका नेताहरु कस्सिएर लागेका छन् । हिजोदेखि नै ओलीलाई ‘आइ लभ यू केपी बा’ भन्नेहरुको लर्को झन् उस्तै छ ।

स्रोतका अनुसार आगामी महाधिवेशनबाट आफ्नो पोजिसन के हुने भन्ने जिज्ञासा राख्न हिजो बिहानै रघुवीर महासेठ बालकोट पुगेका थिए । एमालेमा ‘खानदानी कमरेड’ भनेर चिनिने महासेठ उपाध्यक्षमा आउन चाहन्छन् । भेटका क्रममा उनले आफ्नो त्यहि आकांक्षा ओलीसामु राखेको बताइएको छ ।

भीम रावलसँग टसल गरेर चर्चामा आएका सुदूरपश्चिमका कर्ण थापा पनि आसन्न महाधिवेशनबाट पदाधिकारीमा आउने लाइनमा छन् । आफ्नो दावेदारी राख्न र अध्यक्षको धारणा बुझ्न उनी पनि बिहानै बालकोट पुगेको स्रोतले बताएको छ । यता, सचिवमा दोहोरिन चाहेका १० भाइ समूहका गोकर्ण बिष्टले पनि पद सुरक्षित गराउन हिजै ओलीलाई भेटिसकेका छन् ।

महासचिवका दावेदार मानिएका बिष्णु पौडेल पनि हिजो बिहानै बालकोट पुगेको बताइन्छ । ओलीले शंकर पोखरेललाई महासचिवमा अघि सार्ने चर्चा चलेपछि पौडेल संकेत बुझ्न गएको स्रोतको दावी छ । स्रोतका अनुसार बालकोटबाट फर्केर प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई पनि मिसाएर पौडेल र महासेठले भैसेपाटीको ग्रेस होटलमा दुई घन्टासम्म छलफल गरेका थिए । छलफल दुई नम्बर प्रदेशका केही जिल्लामा प्रतिनिधि छनोट हुन नसक्दा कसरी मिलाउने भन्ने सन्दर्भमा समेत केन्द्रित रहेको बताइन्छ ।

यता,वरिष्ठ उपाध्यक्षको आश गरेर बसेका संविधानसभाका अध्यक्ष तथा एमाले नेता सुवास नेम्वाङ पनि अध्यक्षसँग नियमित भेटघाटमा रहेको बताइन्छ । सोमबार दिउँसो खाजा खाने समय भेटघाटको क्रममा नेम्वाङले स्पष्टसँग ‘मेरो पोजिसन के हुने हो अध्यक्ष कमरेड ?,’ भन्नुभएको बुझिएको छ । नेम्वाङको हकमा अध्यक्षले ‘नआत्तिनुस्’ भनेर जवाफ दिनुभएको स्रोतको दाबी छ ।

पुराना नेता मात्र हैन नवप्रवेशीहरुको पनि बलकोटमा उस्तै भीड लागिरहेको छ । राप्रपा छाडेर एमाले प्रवेश गरेलगत्तै राष्ट्रियसभा सदस्य हात पारेकी गायिका तथा समाचारवाचिका कोमल वलीदेखि पूर्व डीआईजी नवराज सिलवालसम्म केन्द्रीय सदस्य पद सुरक्षित गर्न बालकोट दौडाहामा छन् । दुबैले अस्ति अध्यक्ष ओलीसंग छुट्टाछुट्टै दुई घण्टा भेट गरेको बुझिएको छ ।

सर्वसम्मत या निर्वाचन जुनसुकै विधिद्वारा नेतृत्व चयन भए पनि अध्यक्ष ओलीले चाहेकै पात्रले पद हात पार्ने अवस्था बनेपछि बालकोटमा भेट्नेहरुको ताँती लागेको बताइन्छ ।

टिप्पणीहरू