एमाले महाधिवेशनका सवारी छुट्न थाले

एमाले महाधिवेशनका सवारी छुट्न थाले

भोलि दिउँसोदेखि चितवनमा शुरु हुने एमालेको दशौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि र पर्यवेक्षकहरुको सवारी साधन विभिन्न जिल्लाबाट हिँडेका छन् । अधिकांश प्रतिनिधि आज साँझसम्म र केही भोलि बिहानसम्ममा नारायणगढ पुग्ने बताइएको छ ।

राजधानी काठमाडौं र उपत्यका आसपासका जिल्लाबाट आज बिहान महाधिवेशन प्रतिनिधिहरु चढेको सवारी साधन चितवनतर्फ गएका छन् । आज बिहान ६ बजेदेखि १० बजेसम्म प्रतिनिधि बोकेको १ सय ८ वटा सवारी साधन त्यसतर्फ लागेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

थानकोटको नागढुंगा नाकाबाट आज बिहान चार घण्टामा ५१ वटा बस, ३९ वटा कार र १८ वटा भ्यानले प्रतिनिधि बोकेर गएका हुन् । काठमाडौं महानगरपालिकाबाट छानिएका केही प्रतिनिधि हिजै चितवनतर्फ गएका छन् । उनीहरु दक्षिणकालीको बाटो हुँदै हेटौंडा गएका हुन् । हिजो र आज हेटौंडामा बसेर भोलि बिहान चितवन पुग्ने बताइन्छ ।

महाधिवेशनको उद्घाटन समारोह नारायणगढको नारायणी किनारमा हुँदैछ । बन्द सत्र शनिबार र आइतबार २० किलोमिटर पूर्वको सौराहामा राखिएको छ । झण्डै २३ सय प्रतिनिधिको निम्ति सौराहा क्षेत्रका होटल तथा लजमा गरी तीन हजार बेड चार रातको लागि बुक गरिएको छ ।

टिप्पणीहरू