आरतीका मालिकद्वारा नेपाली अधिकृतमाथि निर्घात चुटाइ

आरतीका मालिकद्वारा नेपाली अधिकृतमाथि निर्घात चुटाइ

मोरङको बूढीगंगा गाउँपालिका २ स्थित बहुराष्ट्रिय कम्पनी भुषण ग्रुपले सञ्चालन गरेको जस्तापाता र फलामे डण्डी निर्माण गर्ने कम्पनी आरती स्ट्रिप्सका मालिकले आफ्नै अधिकृतलाई कुटेका छन् ।

हिजो साँझ ग्रुपका सञ्चालक भारतीय नागरिक सञ्जय सिंघलले आरतीका प्रशासन तथा जनसम्पर्क अधिकृत दिवस नेपाललाई मुक्का,लात्ती र रड प्रहार गरेर रक्ताम्मे बनाएका हुन् ।

घाइते अधिकृत नेपालले आफूलाई कम्पनीका मालिक सिंघलले भारतीय कर्मचारी प्रयोग गरेर पेस्तोल देखाउँदै ज्यान मार्ने आशयले कुटपिट गरेर सख्त घाइते बनाएको बताएका छन् । उता मालिक संघलले पनि आफूमाथि दिवसले आक्रमण गरेर घाइते बनाएकाले प्रतिकार गरेको बयान दिएका छन् ।

घटनापछि प्रहरीले दुबैलाई साँझ नियन्त्रणमा लिएर कोशी अस्पतालमा घाउ जाँच गराई हाजिरी जमानीमा छाडेको छ । घटनाउपर जाहेरी नपरेकाले प्रहरीले मुद्दा भने दर्ता गराएको छैन ।

भुक्तानीको विषयमा विवाद हुँदा दुबै जनाबीच कुटाकुट भएको बताइएको छ । कुटाकुटमा दुबै जना घाइते भएको मोरङ प्रहरीका एसपी जर्नादन जिसीले जानकारी दिनुभएको छ । उहाँले कुनै एउटा पक्षले जाहेरी लिएर आएमा मात्र अनुसन्धान र मुद्दाको प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

घाइते नेपाल बिराटनगर निवासी हुन् । नेपाली काँग्रेसका परिचित कार्यकर्ता उनी डा. शेखर कोइराला निकट हुन् । नेपालले बिराटनगर पञ्चालीमा मेरो नेपाल नामको होटल समेत सञ्चालन गर्दै आएका छन् ।

सञ्चालक सिंघलले यसअघि पनि उद्योगका पियनदेखि मेनेजरसम्मलाई कुटपिट गरिसकेका छन् । उनले प्रमोटरका रुपमा नियुक्त मेनेजरहरुबाट अधिकार हत्याउन धाक र धम्की दिँदै कुटपिट गर्ने गरेको कर्मचारीहरुको आरोप छ ।

सस्तो श्रम र कर छुट भएकाले बहुराष्ट्रिय कम्पनी भारतको भुषण ग्रुपले नेपालमा सन् २००२ देखि आरती स्ट्रिप्स उद्योग सञ्चालन गरेको हो । करिब २०अर्ब रुपैयाँ बराबरको जस्ता पाता र उत्तिकै मात्रामा फलामे रड उत्पादन गर्ने उद्योगले झण्डै छ सय कर्मचारी र मजदुरमध्ये प्रायः सबै भारतीय नै प्रयोग गर्दै आएको छ । प्रहरी, प्रशासन,भन्सार,दलका नेता सबैलाई खरिद गर्दै आएकाले यो उद्योगमा हालसम्म कुनै पनि दलका ट्रेड युनियन स्थापना गरिएको छैन ।

छ सय कर्मचारी र कामदार कार्यरत उद्योगमा केही बाहेक प्रायः सबैजसो भारतीय कामदारहरुलाई वर्षौंदेखि श्रम ऐन विपरीत प्रयोग गरिएको बताइन्छ ।

टिप्पणीहरू