भीम रावलको आग्रह फेरि अस्वीकार

भीम रावलको आग्रह फेरि अस्वीकार

दशौँ महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका एमाले उपाध्यक्ष भीमबहादुर रावलले महाधिवेशन प्रतिनिधि चयन प्रक्रियालाई लिएर पार्टीमा फरक मत राखेका छन् । हिजो बसेको स्थायी कमिटी वैठकमा रावलले फरक मत राखेका हुन् ।

पार्टीको निर्णय र विधि मिचेर कैलाली-२ मा स्वेच्छाचारी ढंगले प्रतिनिधि चयन भएको र त्यसबारे पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको भन्दै बैठकको निर्णयमा रावलले फरक मत लेखेका हुन् ।‘पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएकाले यस्तो अनियमित र गलत कार्य बदर गरि विधिसम्मत प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु’, उले राखेको फरक मतमा भनिएको छ ।

रावलले आफ्नो फरक मतमा सहमति र निर्वाचनको प्रक्रिया छलेर स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाईएकोप्रति १२ सय २३ पार्टी सदस्यहरुले हस्ताक्षर गरि प्रतिनिधि चयन बदर गर्न संगठन विभागमा लिखित निवेदन दिएको पनि उल्लेख गरेका छन् ।

कैलाली-२ मा प्रतिनिधि छनौटमा पार्टीको संस्थापन पक्षले एकलौटी गरेको भन्दै रावल निकट नेताहरुले छुट्टै भेला गरेर प्रतिनिधि चयन गरेको थियो । तर, हिजोको स्थायी कमिटी बैठकले आफ्नो समूहको निर्णयलाई अमान्य गरेपछि रावलले फरक मत राखेका हुन् ।

टिप्पणीहरू