​बूढी आमा रोएको रोयै

एक जना वरिष्ठ कलाकार जीवन र मृत्युको दोसाँधमा ७ वर्षदेखि संघर्षरत छन् । तर, बलेको आगो ताप्ने यो दुनियाँमा ओरालो लागेका उनलाई कसैले पुछ्दैन । उनको जीवनमा जब हर्षको अध्याय चल्दै थियो । सबै झुम्मिन्थे ‘बुद्धिकृष्ण बा’ भन्दै, घर–आँगनभरि । तर जब घेर्न थाल्यो अभाव र पीडाले तब आफन्तले पनि हेर्न र गन्न छाडे । 

पिँढीमा बसेर मेरै बाटो हेरेर 
बूढी आमा रुँदिहुन् मलाई सम्झेर 

जस्तो कालजयी गीत गाएर धेरैलाई भावुक बनाउने, रुवाउने बुद्धिकृष्ण लामिछानेले भुइँचालोले भत्काएको भक्तपुरको तिल्कोटडाँडास्थित घरको पिँढीमा बसेर धेरै भयो आफन्त तथा सहृदयीहरूको बाटो हेरेको । जीवन र मृत्युको दोसाँधमा छन् । जुध्दै छन् प्रेसर, सुगर र प्यारालाइसिससँग । दैनिकी बनेको छ, आफ्नै पिँढीमा बसेर टोलाउने । एक मुठी सास अड्याउनकै निम्ति सात वर्षदेखि संघर्षरत छन् । कुनै समय रेडियो नेपालको जागिरे हुँदै सेनामा छिरेका उनको जीवनको ओरालो यात्रा सुरु भएपछि कोही पुगेनन् उनका आँगनीमा आफ्ना सहपाठी÷सहकर्मी । न त पुगे कुनै गीतकार, लोकदोहोरीका कोही प्रतिनिधि । तैपनि, पिँढीमा बसेर आफ्ना सहपाठी–सहकर्मी कोही भेट्न आउँछन् कि भन्ने आशमा बाटो हेरेर बसिरहेछन् बुद्धिकृष्ण । ५ छोरी र २ छोराको पिता । भुइँचालोले भत्काएको घर । त्यही घर बन्धकी राखेर छोरो अध्ययनको सिलसिलामा विदेश पुगेको छ । सेनाबाट पेन्सनस्वरूप मासिक प्राप्त हुने १२ हजार रुपैयाँ हो । त्यो रकम औषधोपचारमा खर्च सकिन्छ । दिसा, पिसाब एकै ठाउँ । दुई जना भतिज एक जना रेडियो नेपाल र अर्काे निजी टेलिभिजनमा कार्यरत छन् । तर, आफ्नै भतिजहरूबाट समेत उपेक्षित भएको बृद्धिकृष्णलाई नजिकबाट चिन्ने÷जान्नेहरू बताउँछन् । 

विद्यार्थी बटुल्दै विद्यालय 

नेपाली सिने क्षेत्रमा ‘आलु खाएर पेडाको धाक’ लगाउनेहरूकै बाहुल्यता छ । मुर्गा फसाएर फिल्म बनायो, लगानी उठाउन सक्दैन । तैपनि निर्माता गफ दिन पछाडि पर्दैनन् आफ्नो चलचित्रले करोडांै कमाएको । बनाइएका चलचित्रले दर्शक नपाउँदा निर्माता तथा निर्देशकको गन्तव्य बन्न थालेको छ विद्यालय तथा कलेज । 
यस्तै धन्दामा निस्केका छन्, केही निर्माता–निर्देशक । यस्तैमध्येका चलचित्र हो बाँध मायाले सवीर श्रेष्ठ, केदार धिताल, आर्यन अधिकारी र सृष्टि श्रेष्ठ बाँध मायाले चलचित्र बोकेर कलेज–कलेज छिर्दै छन् । स्कुल तथा कलेजका विद्यार्थीलाई गुहार्दै आफ्नो चलचित्र हेर्न हलमा निम्तो दिनसमेत भ्याएका छन् । यो टोलीले यो साता मात्र ललितपुरस्थित ओमेगा, मेगा, ब्लुबर्ड र मोलिस कलेजका विद्यार्थीलाई आफ्नो चलचित्र हेरिदिन आग्रह गरेको हो । चलचित्र असोज ५ गतेबाट हलमा प्रदर्शन हुँदै छ ।

टिप्पणीहरू