चितवनमा आउलान् त चिनियाँ ?

चितवनमा आउलान् त चिनियाँ ?

शुक्रबारदेखि शुरु हुने नेकपा (एमाले) को १० औँ महाधिवेशनमा भीम रावल, घनश्याम भुषालहरूले साँच्चिकै केसम्म गर्लान् ? सर्वाधिक चासोको विषय बनेको छ ।

भीम रावलले अध्यक्ष पदमा उठ्ने घोषणा गरिसकेका छन् भने घनश्याम भुषालले के पदमा उठ्ने भनेर हिजोसम्म पनि छलफल गरिरहेकै छन् । बुझिएअनुसार, उनी उपाध्यक्ष पदमा उम्मेदवार बन्न सक्छन् । उनीहरू एमालेको यो महाधिवेशनलाई ‘पर्ख र हेर’ को नीतिअनुसार उपयोग गर्दैछन् कि साँच्चै नै पद प्राप्तिका लागि आकांक्षा व्यक्त गर्दैछन् भन्ने अहिलेसम्म स्पष्ट छैन ।

कूल दुई हजार प्रतिनिधिमध्ये २ सय हाराहारी उनीहरूसँग छन् । यो संख्या चुनाव जित्नका लागि पर्याप्त हुँदैन । हारिन्छ भन्ने जान्दाजान्दै उम्मेदवारी घोषणा गरेर नेता छान्ने महाधिवेशनलाई वैधानिकता दिन खोजेका हुन् वा ‘पर्ख र हेर’ को नीतिअनुसार भाग लिने, हारे छोडेर जाने योजना बनाएका हुन् भन्ने कुरा खुलाएका छैनन् ।

यद्यपि, अन्तिममा माधव नेपालको साथ छाड्ने १० भाइ र उनीहरू पक्षका नेता समूहवद्ध भएर महाधिवेशनमा गइरहेका छैनन् । तीमध्ये सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईहरू ओलीको खास मान्छे भइसकेका छन् । भीम रावल आफ्नो प्रतिक्रियात्मक चरित्रअनुसार नै पेश भइरहेका छन् ।

ओलीले बालकोटको ढोका थुनेर ‘खाए खा, नखाए जा’ गरेपछि उनीसँग उम्मेदवारी कायम राख्नुको विकल्प छैन । अहिले उपमहासचिव रहेका घनश्याम भुषालले महासचिवमा उम्मेदवारी दिँदा जीत हात पार्ने निश्चित नभएका कारण यदि पार्टीभित्र सेट हुनै चाहेका हुन् भने उपाध्यक्षमा उठ्छन् । किनभने, पाँच उपाध्यक्षभित्र सर्वसम्मत गर्न खोजियो भने त्यहाँ उनीसँग अटाउने ठाउँ बाँकी रहन्छ । महासचिवमा विष्णु पौडेल र उपमहासचिवमा शंकर पोखरेललाई ल्याउने ओलीको तयारी छ ।

भनिन्छ, माधव नेपाललाई अन्तिममा साथ छोड्ने १० भाइमध्ये भीम रावल आफैँ मूर्ख हैनन् । अरुलाई मूर्ख बनाउन खोजे, तर अहिले आफैँ यता कि उता जाऔँ भन्नेमा परेका हुन् । उनले अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीहरूलाई मूर्ख बनाउन खोजेका थिए । तर, मुख्र्याईंको चपेटामा आफू नै नराम्रोसँग दपेटिए । यसचोटि ओलीले आफूसँग आजन्म साथ रहनेलाई व्यवस्थापन गर्लान् कि बीचबीचमा जोडिन आएकालाई हेर्लान् ? यो प्रश्न पनि निक्कै टड्कारो बनेको छ ।

जीवनका कुनै पनि तीता घटना नबिर्सिने र चित्रगुप्ताले झैं कदम–कदममा पुराना कुराको समेत हिसाब निकालेर निर्णयमा पुग्ने केपीको आदतै हो । त्यो आदत यो महाधिवेशनमा पक्कै पनि प्रकट हुन्छ । यसचोटिको एमाले महाधिवेशन अघिपछिको जस्तो हैन । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमजस्ता प्रभावशाली नेताहरूलाई पार्टीबाहिर पारेर गरिएको महाधिवेशन हो ।

अर्थात्, ओलीको एकलौटी बनिसकेको ‘एमाले’ को महाधिवेशनमा उनले चाहेभन्दा विपरितको परिणाम आउँछ भनेर कल्पनासम्म गर्न सकिँदैन । यो महाधिवेशनले काँचो धागो र नयाँ सिन्दुर लगाएर नयाँ भीमसेन जन्माउने काठमाडौंका रैथाने कृष्णगोपाल श्रेष्ठहरूकै उद्घोष हो । त्यसो गरिँदा भीम रावल, घनश्यामजस्ता ‘अतिरिक्त आत्माहरू’ अझ बढी असन्तुष्ट हुने, अन्ततः पार्टी छोड्नेजस्ता चरणमा पुग्ने महेश बस्नेतहरूको ठहर छ ।

महाधिवेशनमा प्यानलको लिष्ट बनाएर जान निषेध गरिने भएको छ । किनभने, केपीका पुराना हस्तीहरू एउटै पदमा प्रतिस्पर्धा गर्दै छैनन् । जस्तो कि, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल लड्दैनन् । आफूसँग जो लड्न आउँछन्, तिनलाई सबैले मिलेर हराउने उनीहरूको रणनीति हो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई नै ल्याउन चाहेको बुझिन्छ ।

यदि यो क्रम निर्विरोध भयो भने ईश्वरलाई राम्रो, भएन भने उनी खरो छन्, धरातल कमजोर छ, यसर्थ हार्ने खतरा रहन्छ । ईश्वर त्यस्ता व्यक्ति हुन्, केपीले जतिसुकै अपमानित गरे पनि पछिल्लो समय उनलाई निरन्तर साथ दिए । किनभने, उनीसँग जाने ठाउँ पनि भएन । रामबहादुर थापा (बादल) उपाध्यक्ष बनाइँदै छन् ।

माओवादीबाट गएकामध्ये सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टभन्दा टोपबहादुर रायमाझी सिनियर हुन् । उहिल्यै माओवादीको सचिव भैसकेका उनलाई केपीले के गर्लान् ? के उनले पाँच उपाध्यक्षभित्र माओवादीका निम्ति २ सिट छुट्टयाउलान् ? प्रभु साहलाई व्यवस्थापन गरिएन भने प्रदेश २ नै भत्किने खतरा छ । तर, रघुवीर महासेठलाई छोडेर प्रभुलाई बोक्ने कि एउटा म्यानमा दुईटा तरबार अड्याउने ? केपी अहिले यस्तो कठिन निर्णयको संघारमा छन् ।

प्रतिनिधि उपस्थितिको स्थिति हेर्दा पूर्वमाओवादीहरू १० बुँदेवालाभन्दा पनि कमजोर छन् । कूल प्रतिनिधिमध्ये केपी ओलीका मान्छेहरू १६ सयभन्दा केही बढी छन् । तीन सयको हाराहारीमा १० बुँदे पक्षधरको दावी छ, तर त्यही संख्याभित्र करिव पचासको हाराहारीमा पूर्वमाओवादी छन् । केपीका निम्तिचाहिँ १० बुँदेहरू अहिल्यै घाँडो भएका छन् । तीभन्दा पूर्वमाओवादी प्यारो छन् । किनभने, उनीहरूमध्ये अहिलेसम्म कसैले पद दावी गरेर उम्मेदवारी घोषणा गरेका छैनन् ।

एमाले महाधिवेशनमा भारतबाट सिपिआई, सिपिएम, सिपिआई लिबरेशनजस्ता कम्य्ुनिष्ट पार्टीका प्रतिनिधि आउँदैछन् । श्रीलंकाबाट जेभिपी, बंगलादेशबाट वर्कस पार्टी र कम्युनिष्ट पार्टीसहित कम्बोडियाबाट नेता आउँदैछन् । चीनमा डेल्टा भेरिएन्टको प्रकोपका कारण प्रोटोकल कडा हुँदा कोही पनि नआउने भएका छन् ।

टिप्पणीहरू