ओली पक्षमै दुई गुट,चुनाव लड्न सबलाई छुट

ओली पक्षमै दुई गुट,चुनाव लड्न सबलाई छुट

एमालेको दशौँ महाधिवेशन पर्सिदेखि चितवनमा शुरु हुँदैछ । असोजमै विधान महाधिवेशन गरेको एमालेले चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । महाधिवेशन नजिकिएसँगै पदाधिकारी र केन्द्रीय सदस्यमा अट्न आकांक्षीहरुको दौडधुप र रसाकस्सी शुरु भैसकेको छ ।

लामो समय पार्टीको नेतृत्वमा रहेका माधव नेपाल,वामदेव गौतम,झलनाथ खनाल र प्रदीप नेपालहरु बाहिरिएसँगै एमालेमा अहिले अध्यक्ष केपी ओलीको एकछत्र बर्चस्व छ । अध्यक्षमा दोहोरिने तयारीमा रहनुभएका ओली आफू अनुकूल पदाधिकारीको टीम बनाउन चाहनुहुन्छ । तर,आफ्नै समूहभित्र आकांक्षीहरुको थामिनसक्नु भीड बढेपछि १४ पदाधिकारीमा कसलाई ल्याउने भन्नेमा ओलीलाई सकस परेको छ ।

‘विष्णु रोज्ने कि शंकर,ईश्वर रोज्ने कि सुवास । सबै आफ्ना मान्छे । अहिले अध्यक्षज्यूलाई समस्या परेको छ । त्यसैले चुनावबाट जितेर आउनुस्, जो आए पनि मलाई कुनै समस्या छैन भन्ने उहाँको भनाइ हो’, निकट स्रोतले भन्यो ।

बालकोट निकट स्रोतका अनुसार एमालेमा अहिले ओली पक्षकै नेताहरु दुई खेमामा बाँडिएका छन् । बताइएअनुसार ‘आइ लभ यु केपी बा’ भन्नेहरु नै यसरी विभाजित भएपछि अप्ठेरोमा पर्नुभएका ओली चुनावी प्रतिष्पर्धा खुला गरेर आफूले चाहेकालाई भित्री सहयोग गर्ने रणनीतिमा हुनुहुन्छ । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहनुभएका ओलीलाई आफ्नै समूह व्यवस्थापनमा सकस परेपछि सबै पदमा चुनाव हुने अवस्था बनेको बताइन्छ ।

हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले चुनावबाटै नेतृत्व चयन हुने संकेत गरिसक्नुभएको छ । महाधिवेशनको सन्दर्भमा मूल व्यवस्थापन समितिले आयोजना गरेको सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलमा ओलीले त्यस्तो संकेत गर्नुभएको हो । ‘भरसक कर लगाएर उठिदिनुस् भन्न परोस्,कामको मूल्यांकनका आधारमा तपाईं बसिदिनुस् भन्न परोस्,भएन भने चुनाव हुनु राम्रो’,ओलीको भनाइ थियो ।

सर्वसम्मत हुँदा गोकुल र खगराज ओलीको रोजाइमा पर्ने बताइन्छ ।

ओलीले सहमतिका लागि आफूले कुनै नेतालाई दबाव नदिने दावी पनि गर्नुभयो । प्रतिनिधि चयनमै सर्वसम्मत गर्न प्रत्यक्ष निर्देशन दिनुभएका ओली कम्तिमा अध्यक्षसहित १५ पदाधिकारीमा चुनाव नगराउने तयारीमा हुनुहुन्थ्यो । तर,आफूनिकट नेताहरु एउटै पदमा आकांक्षी बनेर दावेदारीमा उत्रिन थालेपछि ओलीको बोली फेरिएको बताइन्छ ।

एमालेमा अहिले भीम रावल र घनश्याम भुसालको ‘तेस्रो धार’ र पूर्वमाओवादी समूह पनि अलग अस्तित्वमा छ । तर सांगठनिक प्रभावका हिसाबले कमजोर रहेको यो दुई समूह नतिजा उलटपुलट पार्नसक्ने हैसियतमा नरहेकाले ओलीलाई उनीहरुबाट चुनौती छैन । यहि अनुमानका साथ ‘सर्वसम्मत’ भन्दै हिँड्नु भएका ओलीलाई आफ्नै गुटभित्रको अर्को उपगुट टाउको दुखाइ बनेको हो ।

‘ओलीलाई गुमाउनु केही छैन । सर्वसम्मत भए आफूले चाहेजस्तै टीम बन्छ । चुनाव हुँदा पनि आफ्नै गुटका छानिएर आउने हुन्’, स्रोत भन्छ, ‘जिते पनि आफ्नै,हारे पनि आफ्नै । ती हारे पनि कतै जाँदैनन् ।’

पोखरेलबन्धु एकातिर,सुवास र विष्णु अर्कोतिर

ओली समूहभित्र अहिले प्रष्ट दुई खेमा छ । अध्यक्ष ओलीले संकेत नगर्दासम्म आफ्ना आकांक्षा प्रकट गर्नसमेत हिच्किचाएका ती नेताहरु क्रमश: खुल्न पनि थालेका छन् । बताइएअनुसार एउटा गुटको नेतृत्व ईश्वर पोखरेलले गरेका छन् । उनलाई शंकर पोखरेल र प्रदीप ज्ञवालीलगायतका नेताहरुको साथ छ । यो समूहबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकरको दावी छ ।

ईश्वर र शंकरबाहेक विष्णु पौडेल र सुवास नेम्वाङहरुको अर्को गुट छ । आफैँ वरिष्ठ उपाध्यक्ष बन्ने तयारीमा रहेका सुवास कुनै हालतमा ईश्वरलाई रोक्न चाहनुहुन्छ । महासचिवमा बिष्णुको दावेदारी छ । ईश्वर र शंकरलाई रोक्न यी दुई भाइ अर्को कित्तामा उभिएको बताइन्छ ।

‘त्यस्तो स्थितिमा चुपचाप बसिन्छ,बरु हात्ती चढिन्छ,जंगल सफारी गइन्छ । हार्ने चुनावका लागि अनावश्यक टाउको दुखाइँदैन ।’

अध्यक्ष ओलीको भित्री चाहना भने आफू सर्वसम्मत अध्यक्षमा दोहोरिएर वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकरलाई ल्याउनेमा रहेको बताइन्छ । तर, एउटालाई च्याप्दा अर्कोले चित्त दुखाउने अवस्थाका कारण ओली अप्ठेरोमा पर्नुभएको हो । ‘विष्णु रोज्ने कि शंकर,ईश्वर रोज्ने कि सुवास । सबै आफ्ना मान्छे । अहिले अध्यक्षज्यूलाई समस्या परेको छ । त्यसैले चुनावबाट जितेर आउनुस्, जो आए पनि मलाई कुनै समस्या छैन भन्ने उहाँको भनाइ हो’, निकट स्रोतले भन्यो ।

ओलीको रोजाइमा को-को ?

एउटा सत्य चैं के हो भने सर्वसम्मत या चुनाव जे भए पनि अध्यक्ष ओलीले चाहेकै पात्र पदाधिकारीमा आउने सम्भावना धेरै छ । ९० प्रतिशत बढी प्रतिनिधि ‘आइ लभ यु केपी बा’ भन्नेहरु छानिएका छन् । तिनीहरुले ओलीको अनुहार हेरेर भोट हाल्ने भएकाले चुनाव हुँदा पनि ओलीले चाहेजस्तै परिणाम आउने बलकोट निकटहरुको ठम्म्याई छ ।

सर्वसम्मत हुँदा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल उपाध्यक्ष बन्ने पक्कापक्की जस्तै भएको स्रोत बताउँछ । आफ्नो दावेदारी छाडे विष्णु र सुवासलाई पनि उपाध्यक्षमा ल्याउन ओलीलाई समस्या छैन । एउटा उपमहासचिवमा प्रदीप ज्ञवाली ओलीको रोजाइमा परेका छन् । सचिवमा योगेश भट्टराई,भीम आचार्य र र गोकर्ण बिष्टलाई दोहोर्याउने चाहना छ । पूर्वमाओवादीका लेखराज भट्ट र टोपबहादुरमध्ये एकजनालाई सचिवमा ल्याउन ओली तयार हुनुहुन्छ ।

बाँकी तीन सचिवमा सम्भवत: नयाँले इन्ट्री मार्दैछन् । तर, ओली गुटकै गोकुल बाँस्कोटा,महेश बस्नेत,खगराज अधिकारीहरु आकांक्षी देखिएका छन् । सर्वसम्मत हुँदा गोकुल र खगराज ओलीको रोजाइमा पर्ने बताइन्छ । बस्नेतमाथि ओलीको अझै भरोशा बनि नसकेकाले उनको सम्भावना नरहेको स्रोतको दावी छ । ग्राउण्डबाटै राजनीति गरेर आएका गोकुल र खगराजलाई छोडी हाट्टहुट्ट गरेर माथि उक्लिएका बस्नेतलाई ओलीको साथ नरहने स्रोत बताउँछ ।

चुनाव हुने स्थितिमा पनि ओलीको भित्री सहयोग उहाँले चाहेकै पात्रहरुलाई हुनेछ । ‘ओलीलाई गुमाउनु केही छैन । सर्वसम्मत भए आफूले चाहेजस्तै टीम बन्छ । चुनाव हुँदा पनि आफ्नै गुटका छानिएर आउने हुन्’, स्रोत भन्छ, ‘जिते पनि आफ्नै,हारे पनि आफ्नै । ती हारे पनि कतै जाँदैनन् ।’

यता, पछिल्लो समय अध्यक्ष ओलीलाई रिझाएरै पद सुरक्षित गर्ने रणनीतिमा रहेका ‘१० भाइ’ समूहका नेताहरु भने ओलीले संकेत नगर्दासम्म चुप लागेर बस्ने रणनीतिमा छन् । सांगठनिक आधार गुमिसकेकाले ओलीले भोट नमाग्दिए जितिँदैन भन्ने परेकाले उनीहरु त्यस्तो रणनीतिमा लागेका हुन् ।

‘ओलीले आँखा झिम्क्याइदिए जितिन्छ नभए उम्मेदवारी दिनुको अर्थ हुँदैन’, १० भाइ समूहका एक नेताको भनाइ उधृत गर्दै बालकोट निकट स्रोत भन्छ, ‘त्यस्तो स्थितिमा चुपचाप बसिन्छ,बरु हात्ती चढिन्छ,जंगल सफारी गइन्छ । हार्ने चुनावका लागि अनावश्यक टाउको दुखाइँदैन ।’

चुनाव भएको अवस्थामा ओलीले भित्री रुपमा प्रतिनिधिहरुलाई भेला गरेर आफूले चाहेका उम्मेदवारलाई भोट हाल्न आग्रह गर्न सक्ने निकट स्रोतको भनाइ छ ।

टिप्पणीहरू