ज्ञापनपत्र बोकेर विद्यार्थीहरु बालुवाटार पुगे

ज्ञापनपत्र बोकेर विद्यार्थीहरु बालुवाटार पुगे

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न छ वटा विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आज ज्ञापन पत्र बुझाएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई संगठनका नेताहरुले भेटेरै कुराकानी गरेका छन् ।

भेटमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । उनीहरुले मूल्यूवृद्धि, अन्याय र शोषणको विरोधमा बुलन्द आवाज उठाउने चेतावनी दिएका छन् ।

जनतालाई सहज तवरले जीवनयापन गर्ने वातावरण बनाइदिन उनीहरुले प्रधानमन्त्रीसँग जोडदारसँग माग गरेको बताएका छन् । प्रधानमन्त्री देउवाले भने मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिनुभएको छ ।

टिप्पणीहरू