४ महिनामा ७ लाखको ज्यान जानसक्छ : विश्व स्वास्थ्य संगठन

४ महिनामा ७ लाखको ज्यान जानसक्छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोप क्षेत्रीय कार्यालयले युरोपमा कोरोनाको कारण आगामी चार महिनामा सात लाख जनाको ज्यान जान सक्ने चेतावनी दिएको छ ।

संगठनले खोपलाई तीव्रता नदिएमा आगामी चार महिनामा युरोपका ५३ वटा देशमा थप ७ लाख मानिसले अकालमा मृत्युवरण गर्नुपर्ने बताएको हो । डब्लुएचओले युरोपमा कोरोना महामारीको अवस्था अझै भयावह रहेकाले सर्वसाधारणले देखाएको विद्यमान लापरबाही प्रवृत्तिले यो वर्षको हिउँदमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या बढ्ने आकलन गरेको हो ।

युरोपका कतिपय मुलुकका नागरिकले कोरोनाविरुद्धको खोप नलगाएपछि त्यहाँ कोरोनासंक्रमण बढेको कतिपयहरुको बुझाइ छ । डेल्टा भाइरसको बढ्दो संक्रमण, हिउँदको चिसोसँगै केही राष्ट्रमा सुस्त खोप अभियानका कारण युरोपेली मुलुकमा महामारीको जोखिम बढेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार गतहप्ता युरोपका ५३ देशमा कोरोनाका कारण प्रतिदिन ४ हजार २ सय जनाको निधन भएको थियो । उक्त संख्या गत सेप्टेम्बरको अन्त्यमा भन्दा दोब्बर हो । जतिबेला दैनिक २ हजार १ सयको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनको चेतावनी अघि नै अष्ट्रियामा लकडाउन शुरु भएको छ । जर्मनी र नेदरल्याण्ड्सले लकडाउन घोषणाको तयारी गरेका छन् । ग्रीस, फ्रान्स, जर्मनीलगायत धेरै देशले पूर्णमात्राको खोपको निम्ति तेस्रो अर्थात् बुस्टर डोजको जोहो र प्रबन्ध गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

टिप्पणीहरू