​अबचाहिँ ढुक्कै

अब नेपाललाई चीनले पनि बन्दरगाह प्रयोग गर्न दिने भएको छ । यसअघि भारतले मात्रै प्रयोग गर्न दिइरहेको थियो । अब चीन पनि थपिएपछि भारतसँग मात्र निर्भर रहनु परेन । 

चिनियाँ बन्दरगाह पनि चलाउन पाइने भएपछि अब चिनियाँ भूमिबाट पनि सामान ल्याउन पाइने भयो । उता, भारतीय बन्दरगाहबाट सामान त ल्याइरहेकै थियौँ । भारतको दुइटा बन्दरगाहबाट सामान ल्याउने गथ्र्याैं । अब चीनको ६ वटा बन्दरगाहबाट पनि सामान ल्याउन पाइने भइयो । 
यसरी उत्तर र दक्षिणका सबैजसो बन्दरगाहबाट सामान ल्याउन पाइने भएपछि नेपालमा संसारका जम्मै देशको सामान आउने भयो । आखिर यी बन्दरगाह हामी आफ्नो सामान विदेश पठाउनभन्दा पनि विदेशको सामान आफ्नो देशमा ल्याउनै बढी प्रयोग गर्छाैं क्यारे !

अब चारैतिरका बन्दरगाहबाट सामान आएको आयै गरेपछि हामीलाई आफ्नै देशको उद्योग किन चाहियो, कारखाना किन चाहियो ? सामान जति चीन, जापान, बेलायत, अमेरिकाबाट आइहाल्छ नि ! सामान किन्ने पैसाजति साउदी अरब, दुबई, मलेसिया, कोरियाबाट आउँछ । जिन्दगी त ढुक्कै रहेछ हाम्रो । कि कसो ? 

टिप्पणीहरू