​राजनीतिमा अरिंगाल

राजनीतिमा अहिले अरिंगाल घुसेको छ । त्यसैले जहाँ गए पनि अरिंगालकै भुइँयाऽ आवाज मात्रै सुनिन्छ । अरू सुनिँदैन । अरिंगाल उसै पनि डरलाग्दो कीरा हो । त्यसमाथि राजनीति लागेपछि यसको डरलाग्दोपन पनि दोहोरो अंकले वृद्धि भएको छ ।

त्यसो त नेपाली राजनीतिमा अहिले मानिसभन्दा पनि जीवजन्तुकै बाहुल्यता छ । नेपाली राजनीति कुनै मानिसले चलाएजस्तो देखिँदैन । त्यो कुनै जीवजन्तुद्वारा नै सञ्चालित देखिन्छ । नेपाली राजनीतिमा खसी, बोका, मुसा, भैंसी, राँगा, हात्ती, गैंडा त यसअघि नै प्रवेश गरिसकेकै हो । अब अरिंगालको पनि प्रवेश भएको छ । स्वयं प्रधानमन्त्री केपी ओलीले अरिंगाललाई राजनीतिमा प्रवेश गराउनुभएको हो । नभए राजनीतिसँग अरिंगालको कुनै सम्बन्ध थिएन । अब प्रधानमन्त्रीले नै प्रवेश गराएपछि अरिंगालको पनि राजनीतिकरण भएको छ । 

प्रधानमन्त्री चाहनुहुन्छ कि उहाँको आफ्नो पार्टी पनि अरिंगालजस्तै बनोस् । कार्यकर्तामा कम्तीमा पनि अरिंगालको जति बुद्धि आइदेओस् । अहिले उहाँको पार्टी अरिंगालजस्तो होइन, झिंगाजस्तो भइरहेको छ । जहाँ गुलियो, त्यहीं भुलियो । जहाँ फोहोर, त्यहीँ मोहोर । 
के विज्ञानले झिंगालाई अरिंगालमा परिणत गर्ने बुटी बनाइसकेको हो र ? 

टिप्पणीहरू