विपन्नको ५ अर्ब रुपैयाँ पठाइयो

विपन्नको ५ अर्ब रुपैयाँ पठाइयो

अर्थ मन्त्रालयले पाँच लाख अति विपन्न नागरिकको परिवारलाई वितरण गर्ने भनेको १० हजार नगद हस्तान्तरणका लागि आवश्यक रकम पठाएको छ । मन्त्रालयले त्यसको निम्ति पाँच अर्ब रुपैयाँ स्थानीय तहमा पठाउन स्वीकृति दिएको हो ।

अब स्थानीय तहले कार्यविधिअनुसारका विपन्न नागरिकलाई रकम वितरण गर्ने बाटो खुलेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले कोरोना महामारीका कारण रोजगारी गुमाएका, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक एवम् अति विपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजार रुपैयाँका दरले अनुदान वितरण गर्ने कार्यक्रम अघि सारेको थियो ।

यसको लागि मन्त्रिपरिषद्ले कोरोना महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ को तर्जुमा र स्वीकृति समेत गरिसकेको छ ।

कार्यविधिअनुसार उक्त योजनामा योग्य हुन रोजगारी पूर्णरूपमा गुमाएको र अर्को रोजगारी प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित मजदुर वा कामदार हुनुपर्ने छ ।

यस्तै खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला र मजदुरी गर्ने भरिया, कृषिमजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटन, भरियाले उक्त अनुदान रकम प्राप्त गर्न सक्ने छन् ।

टिप्पणीहरू