सानिमा बैंककाे साहुजीकी श्रीमतीसँग तीन देशको नागरिकता

सानिमा बैंककाे साहुजीकी श्रीमतीसँग तीन देशको नागरिकता

–द्रव्य शाह

सानिमा बैंकले नेपाल राष्ट्र बैंकको ग्राहक पहिचान (केवाईसी) सम्बन्धी निर्देशनको ठाडो उल्लंघन गरेको अर्को तथ्य फेला परेको छ । बैंकका पूर्वसञ्चालक अरूण ओझाकी श्रीमतीले तीन वटा देशको नागरिकता उपयोग गरेको आशंकामा केन्द्रीय बैंकले तीन वर्षअघि गम्भीर आपत्ति जनाएको थियो ।

रुस, क्यानाडा र नेपालको नागरिकता लिएकी भनिएकी ओझाकी श्रीमती ओल्गाबारे वास्तविकता जानकारी गराउन बैंक सुपरिवेक्षण विभागको एउटा टोलीले केही वर्षअघि स्थलगत निर्देशन दिएको थियो । तर, त्यसबारे सानिमाले हालसम्म कुनै जानकारी नगराएको र राष्ट्र बैंकले समेत थप विवरण माग नगरेको बुझिएको छ ।

सञ्चालन जोखिम (अपरेशनल रिस्क) को पाटो केलाउँदै गर्दा सानिमामा ओल्गाको नागरिकतासम्बन्धी झमेला फेला परेको स्रोतको दाबी छ । बैंकमा सबैभन्दा धेरै विदेशी मुद्रा कारोबार गर्ने ग्राहकको रूपमा रहेकी ओल्गाको पारिवारिक विवरण केलाउँदै गर्दा उनले तीन वटा मुलुकको नागरिकको हैसियतमा व्यवसाय गरेको टोलीको आशंका थियो । विदेशी मुद्राको शंकास्पद कारोबारबारे वित्तीय जानकारी इकाइलाई त्यतिबेलै अवगत गराइएको स्रोतको दाबी छ ।

रुसमा जन्मिएकी र नेपालमा वैवाहिक सम्बन्ध गाँसेकी उनीसँग क्यानाडाको समेत नागरिकता रहेको बताइन्छ । ओझासँग वैवाहिक सम्बन्ध गाँसेपछि उनले नेपालको अंगीकृत नागरिकता प्राप्त गरेकी हुन् । तर, सानिमाको अपरेशनल रिस्कको स्थलगत निरीक्षण गर्न पुगेको टोलीले ओल्गाले अन्य देशको नागरिकताको समेत दुरूपयोग गरेर विदेशी मुद्राको शंकास्पद कारोबार गरेको हुन सक्ने विवरण वित्तीय जानकारी इकाइलाई त्यतिबेलै दिएको थियो ।

सबैको मिलेमतोमा इकाइले समेत थप सोधखोज नगरेको बताइन्छ । वित्तीय जानकारी इकाइ राष्ट्र बैंकभित्रै छ । तर, बैंक सुपरीवेक्षण विभागले साढे तीन वर्षअघि उठाएको उक्त आशंकालाई अहिलेसम्म न केन्द्रीय बैंक, न वित्तीय जानकारी इकाइ, न सानिमाले नै सम्बोधन गरेका छन् । उनै ओल्गाका श्रीमान अरूण केही समय अघिसम्म बैंक सञ्चालक समितिको सदस्य थिए । राष्ट्र बैंकले मेजर अपरेसनल रिस्कको विषय उठाउँदा उनी सञ्चालक नै थिए । ओझा सानिमा बैंकमा धेरै लगानी गर्ने ठूला सेयरहोल्डरमध्येका एक हुन् ।

उनकी रुसी श्रीमती सानिमामा सबैभन्दा धेरै विदेशी मुद्राको कारोबार गर्ने ग्राहक हुन् । राष्ट्र बैंकले शंकास्पद मुद्रा शुद्धिकरणको निम्ति केही वर्षदेखि ग्राहकको यथार्थ विवरण अद्यावधिक गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । तर, संस्थागत सुशासन निकै राम्रो भनिएको बैंकले आफ्नो ग्राहकको राष्ट्रियता र कारोबारबारे उठाइएको विषयमा अहिलेसम्म केन्द्रीय बैंकलाई विस्तृत जानकारी नगराउनु अनौठो मानिएको छ । राष्ट्र बैंक र वित्तीय जानकारी इकाइले त्यसबारे थप सोधखोज नगर्नु झन् उदेकलाग्दो छ ।

अरूण अहिले बैंक सञ्चालकको जिम्मेवारीबाट हटेर सानिमा समूहले सञ्चालन गरेका जलविद्युत र अन्य कम्पनीको व्यवसायमा बढी खट्न थालेका छन् । बैंकका अध्यक्ष, सञ्चालक र उच्च कर्मचारीहरूबीच अपारदर्शी कारोबार भएको समाचार यसअघि नै बाहिरिइसकेका छन् । त्यहाँ सीईओ भुवन दाहाल स्वयं अघिल्लो महिनासम्म बैंकर्स संघको अध्यक्ष थिए । संस्थागत सुशासनको प्रवचन दिएर नथाक्ने दाहाल नेतृत्वको बैंकमा सबैभन्दा धेरै वित्तीय चलखेलका भ्वाङहरू रहेको प्रमाण पछिल्ला दिनमा बाहिरिन थालेका हुन् ।

टिप्पणीहरू