एमालेको बन्दसत्र यसरी सञ्चालन हुँदैछ

एमालेको बन्दसत्र यसरी सञ्चालन हुँदैछ

एमालेको दशौं महाधिवेशन पर्सि शुक्रवार चितवनको नारायणगढ,नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । भोलिपल्टदेखि चितवनको सौराहामा बन्द सत्र शुरु हुनेछ । बन्द सत्र भनिए पनि यस पटकको अधिवेशनमा राजनीतिक र सांगठनिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छैन । अघिल्लै महिना गोदावरीमा विधान अधिवेशनको क्रममा ती सबै कार्य भएकाले मंसिर ११ र १२ गते नयाँ नेतृत्व चयन र त्यसको घोषणा हुने बताइन्छ ।

एमालेले महाधिवेशनमा १ हजार ८ सय ८९ जना प्रतिनिधि निर्वाचित हुने निर्णय यसअघि नै गरेको हो । त्यसबाहेक २ सय ३८ जना पदेन प्रतिनिधि छन् । हिजोसम्म महोत्तरी, रौतहट, मजदुर (प्रदेश नम्बर २) र भूतपूर्व सैनिकसमेत गरेर ६७ जना प्रतिनिधिको नाम केन्द्रमा आइपुगेको छैन । योबाहेक यसबीचमा पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्न बाँकी छ । त्यो भनेको थप १ सय ३ जना हो ।

कूल प्रतिनिधिमध्ये दलित प्रतिनिधि १ सय ९५ जना छानिएका छन् । तीमध्ये ६२ जना महिला रहेको बताइन्छ । एमाले महाधिवेशनमा कूल महिला प्रतिनिधिको संख्या ५ सय ७६ जना हुनेछ ।

यसैबीच उद्घाटनसत्रको भोलिपल्ट बन्द सत्र सञ्चालनको निम्ति हिजो स्थायी समितिले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ । जसमा स्थायी समिति सदस्यहरु युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल,ईश्वर पोखरेल, सुवास नेम्वाङ,रामबहादुर थापा, टोपबहादुर रायमाझी,छविलाल विश्वकर्माका साथै लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ ।

यस्तै महाधिवेशनको क्रममा लेखोटको निम्ति माइन्युट कमिटीको समेत व्यवस्था गरिएको छ । उक्त कमिटीमा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा सूर्य थापा,विष्णु रिजाल,मनोज थापा,ठाकुर गैरे,गोविन्द नेपाली र ज्वालाकुमारी साहलाई राखिएको छ ।

टिप्पणीहरू