​विप्लवलाई बुझाउनेहरूको विवरण

ती ठूला करदाता, जो राज्यलाई तिर्नुपर्ने जति कर तिर्नु नपरे हुन्थ्यो भनेर मिनाहाका लागि दशतिर धाउँछन् । अनि तिनैले विद्रोहमा उत्रिएको विप्लव समूहलाई एक फोन र चिठीको भरमा लाखौँ बुझाइरहेका छन् । 

विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउलगत्तै फेला परेको एउटा डायरीमा थोरै विवरण उल्लेख भए पनि भर्खरै हात लागेको अर्को टिपोटमा विप्लवका मुख्य–मुख्य आर्थिक सहयोगीको नाम आएको छ । सरकारी वकिलसँग रहेको सो डायरीमा उल्लेख भएअनुसार, अमर रायमाझीले ५ लाख, राजेश खड्काको जेम्स स्कुलले २० लाख दिएका छन् । काठमाडौं मेडिकल कलेजले १५ लाख, प्रसादी एकेडेमीले १० लाख, गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख, नाइटिंगेल स्कुलले ५ लाख, हेलि एभरेष्टले १० लाख, निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख दिएको डायरीमा उल्लेख छ ।

त्यस्तै, सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख, औषधि माफिया विशाल पण्डितले ५ लाख, सुरेन्द्रबहादुर सिंहले १ करोड, ग्लोबल (बैंक वा समूह नखुलेको) २० लाख, नोबेल मेडिकल कलेजले १५ लाख, रामबहादुर धितालले १ लाख, क्यासिनो किङ किशोर सिलवालले १ करोड, युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख, म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख, सुरेन्द्र अधिकारीले १० लाख दिएका छन् । हेटौंडामा सञ्चालित चिनियाँ लगानीको शिवम् सिमेन्टले १५ लाख, मारुती सिमेन्टले ५ लाख, अनिल अग्रवालले ५, सोनापुर सिमेन्टले ३ लाख, घोराही सिमेन्टले ५ लाख, एनबी ग्रुपले ३ लाख, गोल्छा अर्गनाइजेशनले ३ लाख, बुटवल पावर कम्पनी लिमिटेडले १ लाख, ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख, सुवास श्रेष्ठले १ लाख, निष्टका माधव बरालले ५ लाख, डाक्टर कनौडियाले १ लाख, सिर्जना राणाले १ लाख, रामेश्वर अर्यालले १ लाख, अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएका छन् । 

यस्तो विवरण सुनेपछि गृहमन्त्री रामबहादुर थापा बादलले केही सुरक्षा अधिकारीको बीचमा टिप्पणी गरेका छन्, ‘न्यायाधीशको घरमा बम नपड्किएसम्म, उनीहरूसँग चन्दा नमागिएसम्म विप्लव समूहलाई श्रीमान्हरूले राजनीतिका नाममा जति ध्वंसात्मक क्रियाकलाप गरे पनि छुट दिने र मानवअधिकारवादीले पनि रेस्क्यु गरिरहने खतरा देखियो ।’

टिप्पणीहरू