मधेशमा माओवादीलाई प्रभु साहबाट कति क्षति ?

मधेशमा माओवादीलाई प्रभु साहबाट कति क्षति ?

माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका नेताहरुको सांगठनिक अवस्था र उनीहरुले चुनावी परिणाममा पार्ने प्रभाव कस्तो रहला ? उनीहरुको बहिर्गमनका कारण माओवादीले व्यहोर्ने सांगठनिक क्षतिको आकार कत्रो होला ? महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा पूर्वमाओवादी नेताहरुको सांगठनिक हैसियतबारे चर्चा छ ।

माओवादीबाट प्रत्यक्षतर्फ चुनाव जितेर एमालेमा गएका नेताहरु हुन् – लेखराज भट्ट,गौरीशंकर चौधरी, टोपबहादुर रायमाझी र प्रभु साह । रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्य हुँदै गृहमन्त्री बनेका हुन् । एमाले प्रवेश गरेका उनीहरु दलसम्बन्धी ऐनअनुसार कारवाहीमा परेर सांसद पद गुमाइसकेका छन् ।

एमालेका पूर्वमाओवादी नेताहरुले सांसद पदमात्र गुमाएका छैनन्, उनीहरुको राजनीतिक भविष्य पनि संकटमा परेको टिप्पणी हुने गरेको छ । राजनीति गर्नेहरुका लागि विचार र संगठन सबैभन्दा महत्वपूर्ण हतियार हो । तर,एमालेका पूर्वमाओवादी नेताहरुसँग अहिले न बिचार छ न संगठन । उनीहरुलाई अहिले केपी ओलीको छत्रछायाँ मात्रै छ,जो सँधै प्राप्त भैरहँदैन । त्यसैले त,आफ्नै धरातलमा उभिएर राजनीति गर्नुपर्ने अवस्थामा उनीहरुको अवस्था के होला ? भन्ने प्रश्न उठ्ने गरेको छ ।

एमाले प्रवेश गर्ने पूर्वमाओवादी नेतामध्ये व्यक्तिगत रुपले पनि जनमतमा प्रभाव पार्नसक्ने नेताका रुपमा चिनिएका प्रभु साह आफ्नै गृहजिल्लामा कमजोर देखिएका छन् । जिल्लामा नेता र जनप्रतिनिधिको तहमा साहको आंशिक प्रभाव देखिए पनि आधारभूत तहमा भने उनका कारण ठूलो सांगठनिक क्षतिको अवस्था नरहेको माओवादी नेताहरुको दावी छ ।

एमाले महाधिवेशनमा देशभरबाट छानिएका प्रतिनिधिको चित्र हेर्दा पनि पूर्वमाओवादी नेताहरुको अवस्था प्रष्ट हुन्छ । देशभरबाट ५ प्रतिशतसम्म प्रतिनिधि जिताउन नसकेको पूर्वमाओवादी समूह मधेसबाट पनि बढारिएको छ । साहले पनि अपेक्षित प्रतिनिधि पठाउन नसकेको बताइएको छ ।

माओवादी केन्द्रले साहको जिल्ला रौतहटबाट उल्लेख्य संख्यामा सदस्यता नवीकरण गराएको र त्यसले पनि संगठनमा साहको प्रभाव निकै कम रहेको दावी उनीहरुको छ । रौतहटमा केही दिनअघि माओवादीले शक्ति प्रदर्शन पनि गरेको थियो । अध्यक्ष प्रचण्डलाई बोलाएर कटहरियामा गरेको विशाल जनसभामा माओवादीले ठूलो संख्यामा नेता-कार्यकर्ता उतारेको थियो । मधेसलाई प्रचण्डमुक्त बनाउने घोषणा गर्दै हिंडेका साहको दैलोमै कार्यक्रम राखेर माओवादी र प्रचण्डको शक्ति देखाईएको माओवादी नेताहरुको भनाइ छ ।

साहका लागि आगामी निर्वाचन पनि कठिन हुने देखिएको छ । रौतहट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि गृहजिल्ला हो । राष्ट्रियस्तरमै समाजवादी र माओवादीले मिलेर चुनाव लड्ने पहिले नै बताइसकेका छन् । अझ जसपासमेत जोडिएको अवस्थामा चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रभुका लागि फलामको च्युरा चपाउनु सरह हुनेछ ।

एमालेमा पूर्वमाओवादीका टोली नेताकै अवस्था दयनीय छ । तत्कालीन नेकपाको सचिवालय सदस्य र गृहमन्त्री भैसकेका रामबहादुर थापा बादलको सांगठनिक अवस्था जिरो छ । भएभरका नेता-कार्यकर्ता माओवादीमै छोडेर एमालेमा पसेका उनलाई आफ्नै सचिवालयका नेताहरुले समेत साथ दिएका थिएनन् । त्यसैले प्रभुमात्र होइन, बादलदेखि गौरिशंकरसम्म र टोपबहादुरदेखि लेखराजसम्मलाई आगामी चुनाव जित्न महाभारत पर्ने देखिन्छ ।

महाधिवेशन प्रतिनिधिमा उनीहरुको अवस्थितिले पार्टीको आन्तरिक राजनीतिमा समेत समस्या पर्दै गएको पुष्टि हुन्छ ।

टिप्पणीहरू