​बाहिर जान क–कसलाई बन्देज

फौजी संगठनमा विशिष्ट श्रेणीका अधिकृतको विदेश भ्रमणमा रोक लगाइँदा हिँड्न ठिक्क परेका हाकिमहरु फिर्ता हुनुपरेको छ ।
जस्तो कि, एजुकेशन टेक्नोलोजी अध्ययन गर्न आईजीपी विदेश जाने प्रस्ताव गयो, तर सरकारले रोकिदियो । फेरि अमेरिका जान सशस्त्र प्रहरीका एआइजी नारायणबाबु थापाको प्रस्ताव गयो । त्यो पनि रोकियो । नेपाल प्रहरीको १ नं. प्रदेश प्रमुख (डिआइजी) केदार रिजाल, अर्का डिआइजी दीपक थापाहरु जाने कार्यक्रम थियो । केदारले ‘एक महिना लामो रहेछ’ भनेर जान अनिच्छा जनाए, दीपक वैकल्पिकमा थिए । वैकल्पिक सूचीबाट दीपक जान तयार भए तर त्यो पनि रोकियो । प्रदेश ४ मा कार्यरत एकजना सचिवलाई विदेश जान रोकिएको छ । निर्वाचन अयोगको टोलीलाई पनि त्यस्तै छ । तर, सेना, प्रहरीसहितको एउटा मझौला टोली भर्खरै विदेश गएको छ । 

त्यसै पनि अहिले प्रहरीको मनोबल गिरेको अवस्था छ । कञ्चनपुर, विराटनगरका घटनामा प्रहरीमाथि नै औँलो तेस्र्याउने काम भएपछि अनुसन्धानकर्मी हतोत्साहित भइरहेको बेला एउटा शवको पोष्टमार्टम गर्ने कुरामा गलफत्ति चलेपछि महाराजगञ्जका डिएसपी भेषराज रिजाल तानिएर गणमा पु¥याइएका छन् । सिके राउतका कार्यकर्ता राममनोहर यादव उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा रुपन्देही प्रहरीद्वारा पक्राउ परी हिरासतमा राखिएका थिए । तर, थुनामै हृदयघातका कारण निधन भयो । शवलाई परीक्षणका लागि काठमाडौं ल्याइयो । यस क्रममा महाराजगञ्जका डिएसपी रिजालले परिवारको मान्छेले जाहेरी नदिई पोष्टमार्टम गराउन जरुरी नभएको अडान लिए । तर, अनुसन्धानक्रममा परिवारको जाहेरी नआए पनि मुचुल्काका आधारमा पोष्टमार्टम गराउने प्रचलन रहँदै आएको छ । त्यसो गर्दा कानुनले केही छेकबार लगाउँदैन । यही काम गर्न नमानेपछि उनी तानिएर झापाली डिएसपी फणीन्द्र प्रसाईं त्यहाँ पठाइएका छन् ।  

उता, संखुवासभाका इन्स्पेक्टर अर्जुन पोखरेलले एउटा कुटपिटको घटनालाई ‘यस्ता नाथे..’ भनी बलजफ्ती भिडलाई नियन्त्रणमा लिन खोजेपछि उनी पनि अप्ठेरोमा छन् ।  बाजुराका इन्स्पेक्टर प्रकाश भण्डारीसहित वीरगञ्जतिरका हाकिमविरुद्ध पनि धमाधम हेडक्वार्टरमा उजुरी पर्न थालेका छन् ।

टिप्पणीहरू