इजलासमा अल्झिएको एउटा जिन्दगानी

इजलासमा अल्झिएको एउटा जिन्दगानी

तीन कोटको भर नपर्नू भन्छन्, ‘कालोकोट, सेतो कोट र पेटिकोट ।’ कसले किन बनायो यस्तो टुक्का थाहा छैन तर त्यही कालोकोटेका कारण अप्ठ्यारोमा परेकी एक भुइँमान्छे हुँ म । कानुन व्यवसायीको छाता संगठन नेपाल बारको आन्दोलनको राप रामशाहपथस्थित सिंहदरबारबाट देशभर फैलँदो छ । तिनै बारका टाउका, कालोकोटेहरूबाट बर्बादीको डिलमा पुगेकी एक अवला न्याय खोज्दै छु ।

जन्मिएँ, हुर्किएँ चितवनमा । तिनताक स्कुल पढ्ने चलन थिएन । भन्छन्, जन्म, मृत्यु र विवाहचाहिँ पूर्वनिर्धारित हुन्छ रे ! कच्चा उमेरमा बाँधिएँ विवाह बन्धनमा चितवनकै वासुदेव बास्ताकोटीसँग । विवाह मण्डपको जग्गेमा घुम्दा खाइएकोथ्यो सातै जन्म सँगै मर्ने अनि सँगै बाँच्ने कसम । तर, सात पल पनि पाइएन उनको साथ ।

विवाहको केही वर्षपछि श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा निस्किए, ०५८ सालको कुरा हो यो । यो बीचमा उनले दिएको मानसिक प्रताडना र पीडाको हिस्सा लेखिसाध्य छैन, कि त्यो भोग्नेलाई थाहा छ वा अदृश्य भगवान्लाई । घर गर्न सक्ने अवस्था रहेन । हरेक रातदिनको टोकसो सहनुपर्ने स्थिति रह्यो । बाहिरफेरको चोरेर खान पल्किएपछि कसलाई लाग्छ र घरको खाना मीठो ? श्रीमान्को मन पनि घरपरिवारसँग कम र परस्त्रीसँग बढी रम्न थाल्यो । काखे बच्चा हुर्काउने, पढाउने र बढाउने दायित्व थियो आफ्नै काँधमा । छोरालाई दुःखजिलो गरेर, सडकको धुलो धुँवा खाएर हुर्काएँ, बढाएँ, पढाएँ ।

बरु पहरो, ढुंगो रसाउला उनको मन मप्रति रसाएन । अन्याय गर्नुभन्दा सहनु बढी अपराध हो भन्छन् । कति दिन अन्याय सहेर बस्ने ? उनीबाट पाएको हरेक दिनको प्रताडना सहन सक्ने स्थिति रहेन । न खाना लगाउन दिने, न त राम्रो व्यवहार । एउटा श्रीमतीले श्रीमान्बाट अपेक्षा के नै राखेकी हुन्छे र ? माया, ममता र प्रेमबाहेक । उनीबाट केही पाउन नसकेपछि अंश माग्दै र हक अधिकारका लागि अन्तिम विकल्प थियो न्यायालय । जुन आशा र उत्साह बोकेर म न्यायालयको ढोका ढकढक्याउन पुगेको थिएँ ।

वकिल, फाँटवालादेखि न्यायमूर्तिहरूको व्यवहारका कारण निरास भएँ । कालोकोटधारीले पीडितलाई झन् पीडित कसरी बनाउँछन् त्यसको ज्वलन्त एउटा उदाहरण हुँ म । उनीहरूका लागि पीडितहरू पैसा कमाउने भाँडो हुन् । दुहुनो गाई । दूध आउन्जेल दुन्छन्, दूध आउन छाडेपछि फालिदिन्छन् । वकिलदेखि फाँटवालासम्मले घुमाए फनफनी पैसा मात्र स्वाहा । के थाहा न्यायमूर्तिहरूबाटै यतिबिघ्न अन्याय होला भनेर ।

तिनताक चितवन जिल्ला अदालतमा घरेलु हिंसाविरुद्धको मुद्दा दायर गरेँ । श्रीमान्हरूले पीडितको मर्का बुझेनन् । घरेलु हिंसाको मुद्दा बदर भयो । के कारणले किन भयो ? उनै श्रीमान् (न्यायमूर्ति) जानुन । जब म न्याय खोज्दै न्यायलयमा पुगें, त्यहाँ भेटिए छाँया चन्द । शुरुमा उनलाई भेट्दा, उनका कुरा सुन्दा देउता भेटिएझैं लाग्यो । जालसाझीको मुद्दा उनैले लेखिदिए ।

उनीप्रति अगाध श्रद्धा थियो, शुरुमा उनीप्रति गरिने आदर र नमस्कार कालान्तरमा तिरस्कारमा बदलियो । जालसाँजी, लिखत बदर, दूषित बदर गरी शुरुमा ६ थान र पछि अरू ९ वटा मुद्दा थपेर १५ थान मुद्दा पु¥याए । एउटा मुद्दाको ५ हजार लाग्छ भने । ऋण गरेर ल्याएर उनलाई १५ वटा मुद्दाको ७५ हजार दिए । भएभरको पैसा खाएपछि मेरो मुद्दाबाट उनी पन्छिए ।

एउटा कालोकोटधारीबाट धोखा खाएको म फेरि अर्काे कालोकोटवालाको खोजीमा लागेँ । एउटा वकिलबाट अर्काे वकिल हुँदै फेरि वकिल फेर्ने र तिनैलाई पोस्ने मात्र काम भयो । म पीडितले कहिल्यै न्याय पाइनँ भेटिए दिवाकर भुषाल । उनले शुरुमा साक्षी बकाए । कहिल्यै मुद्दाको फाइलै पल्टाएनन्, पैसाका लागि मात्र मुद्दा हेरे । उनीबाट पनि तार लागेन । फेरि अर्काे वकिल भेटिए कमल पाठक । उनी चितवन बारको अध्यक्ष ।

कानुन व्यवसायीहरूको अध्यक्ष बनेका पाठकले कसरी पीडितलाई थप पीडा दिन्छन् एउटा भुक्तभोगी हुँ म । शुरुमा भेट्दा भनेका थिए, ‘मैले लिएको मुद्दा अहिलेसम्म हारेको छैन ।’ उनले पनि दिवाकर भुषालले झैं मेरो मुद्दाको फाइल कहिल्यै पल्टाएर हेरेरनन् । मसँग लिएको मुद्दाको फाइल दराजमा थन्क्याएर राखे । फाइल लिनुअघि म इजलासमा उभिनासाथ जुनै मुद्दा पनि जितिन्छ भन्ने आश्वासन दिएका थिए । उनले पनि पटक–पटक गरी असी हजार खाए ।

तायजातीमा गयो । दुईवटा बहस भयो । अहँ ढुंगा बोल्ला, मान्छे बोलेनन् । पछि त मेरो फोन पनि उठाउन छाडे । सायद विपक्षीबाट मोटो दाम भेटे होलान् । शुरुमा मुद्दा हेरुन्जेल, खुरुखुरु मबाट दाम पाउन्जेल तपाईं साह्रै पीडामा पर्नुभएको रहेछ भनेर मप्रति सहानुभूति दर्शाउने मान्छे पछि मबाट पैसा झर्न छाडेपछि पागल भन्न थाले । कतिसम्म भने मेरो फोन उठाउन छाडेको धेरै भइसकेको थियो कमलले ।

एक दिन चितवन बारको कार्यालयमा छिरेँ । त्यहीँ भेटिए उनी । सल्लाह मागेको मात्र थिएँ उनीसँग । फिल्ड आदेश नभई मुद्दा फैसला गर्न मिल्दैन, के गर्ने ? तनाथाम गाली गरे, मान्छेहरूकै अगाडि । मकै पड्किएझैं पड्किए उनी । तँ पागल होस् तलाई यहाँबाट प्रहरी लगाएर निकाल्छु भन्दै धम्क्याउन थाले । पैसा धुत्नुसम्म धुतेपछि अन्त्यमा तेरो मुद्दा हेर्दिनँ भन्दै फाइल फिर्ता लैजा भने । विपक्षीबाट कति पैसा भेटे र अन्त्यमा मेरो मुद्दा कमजोर पारिदिए ।

अन्त्यमा, ममाथि दुव्र्याच्य बोले । यही हो कानुन व्यवसायीको धर्म ? यसरी अहिलेसम्म कति जना पीडितलाई रुवाए होलान् ? कमलबाट पनि तार लागेन । यदि, उनले बदमासी गरेका हैनन् भने श्रीमान्बाटै सोधनी भएको छ मसँग, ‘तपाईंले सीधै जित्ने मुद्दा हो कमलले किन पेसी सारिरहेका छन् ?’

एकपछि अर्काे कालोकोटधारीबाट धोखाधडीमा परेँ । एकातिर घरको तनाव, अर्काेतिर अदालतको । एक दिन कमलको कार्यालयमा पुगेँ । उनी त टेबलमा भेटिएनन्, त्यहाँ रहेछन् टेकनाथ अधिकारी । उनी पनि वकिल । सारा पीडा पोखेँ । टेकनाथकै सल्लाहअनुसार अदालतमा पुगेँ ।

त्यहाँ पुगेर खोजबिन गर्दा भेटियो दुई कित्ता जग्गा लुकाएको । अंशबण्डा गर्दा छोरालाई जग्गा जमिन दिनुपर्ला भनेर लुकाएको रहेछ । मालपोतको तामेलीबाट प्रत्येक मुद्दाको प्रमाणित कागज त्यहाँ गइसके । तामेलीका कर्मचारीलाई थाहा भइसक्यो कि आठ कठ्ठा जग्गा लुकाइएको छ । न्यायाधीशहरू भन्छन् ‘तपाईंले सिधै जित्ने मुद्दा हो ।’ तर चितवन बारका अध्यक्ष कमलले लत्तो छाड्दा ममाथि झन् अन्याय भयो । एउटै मुद्दा कहिले कुन इजलास, कहिले कुन ? इजलास र फाँट फेरि–फेरि नाचिरहन्छ । फाँट परिवर्तन भइरह्यो ।

१० वर्षदेखि । जुनदेखि कमलकहाँ मेरो मुद्दा गयो । त्यही समयदेखि मेरो मुद्दा झन् कमजोर भयो । जित्ने मुद्दामा पनि नियोजित रूपमा विपक्षीसँग पैसा खाएर फैसला हुनु साताअघि कमल पाठकले लत्तो छाडिदएपछि मेरो मुद्दा कमजोर भयो । मुद्दा कमजोर बनाउन र मलाई हराएर विपक्षी जिताउन कालोकोटधारीहरू नै लागे । जसले मैसँग पैसा लिएका छन् । उनीहरू नै मविरुद्ध लागिपरे ।

कमलबाट धोखाधडीमा परेपछि म न्याय खोज्दै काठमाडौं आएँ । काठमाडौंका एक जना चल्तापुर्जा अधिवक्ताकहाँ पुगेँ । उहाँकै जोडबल र परामर्शमा मेरो मुद्दा लडिदिने वकिल पाएँ । र, संयोग झण्डै १० वर्षसम्मको लडाइँपछि मेरो पक्षमा फैसला भयो । अदालतबाट मेरो पक्षमा फैसला आयो अघिल्लो २९ पुसमा । तर, फैसलाको प्रति माग्दा तत्काल दिएनन् । दुई महिनापछि अर्थात् २९ फागुनमा मात्र हात लाग्यो । फैसला भइसकेपछि राय कित्ता माग्दा दिइएन । पछि २ हजार रूपैयाँ फाँटवालालाई बुझाएपछि बल्ल फैसला हात लाग्यो । फैसलाको कपी हातमा लिँदा छाँगाबाट खसियो, श्रीमान्को बेञ्चबाट एकाथरी फैसला आएको छ, फाँटबाट कित्ता गायब बनाइएको छ । पछि फैसला बोकेर न्यायाधीशकहाँ पुगेँ । उहाँले फाँटवलालाई थर्काउनुभयो । तर, ढुंगा बोल्ला फाँटवाला बोल्दैनन् ।

एउटा पीडित न्याय खोज्दै अदालत पुग्छ । लाखौं रूपैयाँ कालोकोटवालाहरूका लागि खर्चन्छ तर अन्त्यमा वकिलले मुद्दाको फाइलै फालिदिन्छन् । अनेक हण्डर र संघर्षमार्फत मुद्दाको फैसला आउँछ आफ्नो पक्षमा तर फाँटवालाले उल्टै जालसाँजी गरी जितेको मुद्दाको फैसला उतार्दा गडबडी गरिदिन्छन् भने हाम्रो न्याय प्रणाली कहाँ र कस्तो अवस्थामा छ ? यसरी अदालतबाट एक दशकको लडाइँपछि आएको फैसलामा समेत विपक्षीको पैसाको प्रभावमा परी गद्दार भयो । आज तिनै कानुन व्यवसायी न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलित छन् ।

जो न्याय किनबेच गर्छन्, कानुनी रूपमा जित्ने बलियो आधार भएको मुद्दालाई हराइदिन्छन्, कमजोर मुद्दावालाबाट मोटो रकम बुझेर तिनकै पक्षमा फैसला सुनाइदिन्छन्, यस्तै बेइमानहरू न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलित छन् । जिल्ला अदालतका बेइमान कालोकोटेहरूले मेरो विपक्षीसँग आर्थिक प्रलोभनमा परी ममाथि गद्दारी गरिए पनि मेरो मन हारेको छैन । एक मुठी सास र शरीरमा एक थोपा रगत रहेसम्म न्यायको खोजीमा हिँडिरहन्छु । चाहे उच्च अदालतदेखि सर्वाेच्चसम्म पुग्नु किन नपरोस् !

निरुता चौलगाई, चितवन

टिप्पणीहरू