टीको लगाइने नाममा टक्कर « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

टीको लगाइने नाममा टक्कर

प्रकाशित मिति :  ५ आश्विन २०७५, शुक्रबार १२:००


‘यो भागबण्डा गर्ने, टीको लगाइदिने बेला हो ? यदि यहीअनुसार एकता गरेर जानुहुन्छ भने भोलि देशभर समानान्तर कमिटी बन्न सक्छन् । त्यसपछि पार्टी कसरी चलाउनुहुन्छ, हेरौँला !’

माधव नेपाल यसरी कड्किएपछि प्रचण्ड पनि झस्किए । उनले ‘यसरी त नगरौँ । माधवजीले भनेको कुरामा ख्याल गरौँ है’ भनेपछि विहीबार बालुवाटारमा सम्पन्न नेकपाको सचिवालय बैठकले पार्टी एकतासम्बन्धी नयाँ मापदण्ड बनाउने जिम्मा दुई अध्यक्षलाई दिने र दुई अध्यक्षले पेश गरेको मापदण्डका आधारमा तल्लो तहका पार्टी एकतालाई अगाडि बढाउने सहमति भएको छ । तर, निर्णय भएदेखि यो समाचार लेख्दासम्म मापदण्ड बनाउने कामका लागि केपी ओली र प्रचण्डबीच भेट भएको छैन । प्रचण्ड चीन जाने अघिल्लो दिन धुम्बाराहीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति दिवसको कार्यक्रममा भेट त भयो । तर, यसबारे केही कुरा भएन । त्यही कार्यक्रममा हो, सरकारविरुद्ध चौतर्फी प्रहार भएको भन्दै केपीले कार्यकर्तालाई अरिंगाल बनेर प्रतिवादमा जुट्न भनेको ।

रमाइलो कस्तो छ भने, झगडा हुनुपर्ने पहिलाका दुई पार्टीबीच, तर भइरहेको छ तत्कालीन एमालेका दुई गुटबीच ।

अहिले एकताका लागि माधव र प्रचण्डका कुरा मिलेका छन् । प्रचण्डले प्रस्ताव गरेर होइन, माधवले भनेअनुसार गर्नुपर्छ भन्ने कुरामा प्रचण्ड राजी भएका हुन् । माधवले पहिला देशभरका जिल्ला कमिटीमध्ये कुन–कुन कसको भागमा टुंग्याउनुपर्ने माग गरेका छन् । यदि कुनै जिल्ला तत्कालीन एमालेको भागमा प¥यो भने जो अध्यक्ष थियो, उसैलाई अध्यक्ष बनाउने, यदि अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको भए उपाध्यक्षलाई अध्यक्ष बनाएर जानुपर्ने र तत्कालीन माओवादीको जो अध्यक्ष थियो उसलाई दोस्रो हैसियतमा राख्नुपर्ने माधवको माग थियो । तत्कालीन माओवादीले अध्यक्ष पाउने जिल्लामा पनि त्यही, अर्थात् जो दोस्रो व्यक्ति हुन्छ, त्यो पहिलाको अध्यक्ष वा उपाध्यक्षमध्येबाटै हुनुपर्छ । तर, देशभरि कमिटीबाहिरका मान्छेहरूलाई हुल्ने र भएका नेताहरूलाई पछि व्यवस्थापन गरौँ भन्दै फकाउन थालिएपछि माधव ‘यस्तो अन्यायपूर्ण एकता स्वीकारिँदैन’ भन्दै कड्किएको बताइन्छ ।

प्रदेश कमिटी एकताका लागि अध्यक्षका दावेदारमध्ये जो सिनियर छ उसलाई बनाउनुपर्ने माधव पक्षको माग छ भने केपी पक्षले सिनियर हेर्दा बूढाखाडा आउने, काम नहुने कारण देखाउँदै क्रियाशीलतालाई आधार मान्नुपर्ने अडान लिएको छ । प्रचण्ड चीनबाट फर्किनासाथ र केपी अमेरिका उड्नुअघि कार्यदलहरूले प्रतिवेदन बुझाइसकेका प्रदेश र जनसंगठनको एकता टुंग्याउने तयारी रहेको नेकपास्रोतले जनाएको छ । 
तत्कालीन एमाले र माओवादीबीच विवाद भइरहेको विषय हो, जनसंगठनको नेतृत्वलाई लिएर । दुबैतिरबाट उत्तिकै बलियोसँग दावी गरिएका जनसंगठन हुन्, मजदुर, किसान, महिला, युवा र विद्यार्थी । मजदुरको अध्यक्ष तत्कालीन माओवादीलाई नदिने गरी पार्टीको मजदुर जिल्ला कमिटीको सर्वसम्मत अध्यक्षमा माओवादी ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी सिफारिस भइसकेका छन् ।

किसान महासंघमा केशवलाल श्रेष्ठलाई अध्यक्ष बनाउने गरी प्रचण्डसँग कुरा मिलाइसकेको वामदेव गौतमले भन्ने गरेका छन् । अमृता थापामगरलाई महिला संघको अध्यक्ष बन्न तयार हुनु भनिसकिएकोले महिला संघको दाबी छाड्न नसकिने माओवादी पक्षको अडान छ । तत्कालीन एमालेबाट राधा ज्ञवाली प्रस्तावित भएकी छन् । बरु, विद्यार्थीमा रञ्जित तामाङलाई अध्यक्ष बनाइए युवा संघ एमालेलाई दिन सकिने माओवादी पक्षको भनाइ छ । तर, एमालेहरू युवा र विद्यार्थी छाड्न तयार छैनन् । विवादको अर्को विषय बनेको छ, पेशागत महासंघ । भएभरका पेशाकर्मीलाई संगठित गर्ने उक्त जनसंगठनको अध्यक्ष केपी पक्षले तत्कालीन माओवादीलाई दिन सकिने भनेपछि माधव पक्ष रुष्ट भएको छ । कारण हो, पेशागत महासंघ ओली पक्ष कमजोर भएको संगठन हो भने माधव पक्षको एक्लो वर्चस्व छ । अहिलेका अध्यक्ष विश्वनाथ प्याकुरेल हुन् ।

एकतामा ढिलाइ भएका कारण कार्यकर्ता तहमा असन्तुष्टि छाएको छ । 


प्रतिक्रिया दिनुहोस !