एमाले अध्यक्षले जुँगामा ताउ लगाउनुभयो

एमाले अध्यक्षले जुँगामा ताउ लगाउनुभयो

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीको १० औं महाधिवेशनको जोड घटाउमा लाग्नुभएको छ । अरु नेतालाई आफ्नो व्यवस्थापन गरे पुग्ने तर अध ओलीलाई आफ्नो मात्रै नभएर सबैको व्यवस्थापन गर्नुपर्ने भएपछि उहाँ सबैभन्दा बढी व्यस्त देखिनुभएको छ ।

पार्टीमा आएको विभाजन,दुई तिहाइ बहुमतको सरकारबाट बहिर्गमन मात्रै होइन चार वटा प्रदेशबाट एमाले सरकार बढारिएको छ । यस्तो अवस्थामा पनि पार्टीलाई एक ढिक्का बनाएर सर्वसम्मत अध्यक्ष बन्ने उहाँको चाहनालाई उपाध्यक्ष भीम रावलले अस्ति आइतबार पत्रकार सम्मेलन गरेर चुनौती दिनुभएको छ ।

शुक्रबारदेखि चितवनमा हुने एमाले महाधिवेशनको निम्ति उहाँले आज दिउँसो २ बजे काठमाडौंमा पत्रकार सम्मेलन गर्नुभएको छ । केही दिनदेखि उहाँको निवास बालकोटमा आफ्नो पद र स्थान सुरक्षित बनाउन एमाले नेताहरुको एकल दौड जारी छ । त्यो दौडमा पार्टीभित्रका विपक्षी भनेर चिनिएका १० बुँदे पक्षधर नेताहरु समेत रहेको बताइन्छ ।

आफ्नै समूहका कतिपयलाई समेत थुम्थुम्याउन उहाँलाई भ्याइनभ्याइ छ । पूर्वप्रधानमन्त्री भएका नाताले औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागिता जनाउनुपर्ने, भेटघाट गर्नुपर्ने बाध्यता पनि अर्कोतिर छँदैछ ।

सँधै चिटिक्क परेर हिँड्ने गर्नुभएका अध्यक्ष ओली आज बिहानको घाममा आफ्नै घरको कौसीमा एउटा हातले ऐना समातेर अर्को हातले जुँगा मठार्दै गर्दा विद्यार्थी नेता ऐन टुप्लुक्क पुगेका थिए ।

उनै ऐनले ऐना समातेर कैंची चलाउँदै गरेका अध्यक्षको फोटो खिचेर सामाजिक सञ्जालमा लेखिदिए, ‘पार्टीका श्रध्देय अध्यक्ष बालकोट निवासमा बिहानीपख आफ्नो जुँगा आफैँ बनाउँदै गर्दा मेरो क्यामेराले कैद गरेको एक तस्बिर ।’

टिप्पणीहरू