​शिशुको हत्यामा किन कमलो हुनुभो श्रीमान् ? « Jana Aastha News Online
Logo
९ जेष्ठ २०७९, सोमबार
|  Mon May 23 2022
Logo
९ जेष्ठ २०७९, सोमबार
|  Mon May 23 2022

​शिशुको हत्यामा किन कमलो हुनुभो श्रीमान् ?

प्रकाशित मिति :  ५ आश्विन २०७५, शुक्रबार ११:५५


३ वर्षीय बालकको हत्या, २ वटा प्रहरी चौकी आगजनी र ३ ठाउँमा लुटपाटका मुख्य योजनाकारप्रति कपिलवस्तु जिल्ला अदालतका २ नम्बर न्यायाधीशले विशेष माया पोखेका छन् ।

०६३ साल जेठ १८ गते फुलिका खैराटी इलइची बरईका ३ वर्षीय छोरा मजितको हत्यादेखि ०७२ भदौ २९ गते लबनी र बिजुवा प्रहरी चौकीमा आगजनी गर्ने मुख्य नाइके रामनयन यादवलाई जिल्लाकै चर्चित ५ वटा अभियोगबाट दुई दिनभित्रै धरौटीमा छाडिएको छ । न्यायाधीश गिरिराज गौतमले १२ वर्षदेखि फरार रहेका यादवलाई भदौ २८ र २९ गते लगातार ५ वटा मुद्दामा हाजिर गराई धरौटीमा छाडेका हुन् । उनले आरोपीलाई ३ वर्षीय बालकको हत्या आरोपमा १ लाख धरौटी, २ वटा प्रहरी चौकी आक्रमण तथा आगजनीमा १०–१० हजार धरौटी, हथिहवा फुलवापुरमा भएको सामुहिक डाँका मुद्दामा २० हजार धरौटी तथा ०७२ माघ १० गते लबनी विमिहामा भएको लुटपाट तथा चोरीमा साधारण तारेखमै उन्मुक्ति दिएका हुन् । 

दशकौंदेखि प्रहरीको व्यापक खोजीमा रहेका यादव २ दिन लगातार अदालतमा हाजिर भई सबै घटनामा धरौटी पाएपछि चर्चा चुलिएको छ । सबै घटनामा सरकारी वकिल कमलराज पन्थीको फितलो प्रस्तुति र बहस हुनु, त्यही घटनामा संलग्न अन्यलाई १ महिनादेखि जन्मकैदसम्मको सजाय सुनाएकोमा आरोपी यादवलाई  एकमुष्ट धरौटीमा छाडिएपछि पीडितले न्यायमूर्तिमाथि आशंका गर्न थालेका छन् । 

फरार अभियुक्त एक्कासि हाजिर हुनु र परिवारले एक साताअघि मात्रै हथिहवा–८ बिचौवापुरस्थित करिब ३० लाखको जग्गा बिक्री गर्नुले आर्थिक चलखेलको आशंका जन्माएको छ । स्थानीय बिचौलियासँगको हिमचिम र तिनीहरूसँगै सरकारी वकिल पन्थी तथा न्यायाधीश गौतम अहिले सिंगापुर, मलेसियाको निजी भ्रमणमा जानुले पनि आशंका उब्जाएको छ । स्रोतका अनुसार न्यायाधीश गौतमको आदेश आउने क्रममा बार एसोसिएसनका केही सदस्यले गलत भएको टिप्पणी गरेका थिए । आदेशबारे मुख्य जिल्ला न्यायाधीश लोकजंग शाह दैनिक अन्य न्यायाधीशबाट हुने आदेश तथा फैसलाको विवरण तथा जानकारी मलाई किन भएन भनी कर्मचारीसँग कड्किएको बताइन्छ ।

यतिखेर उक्त घटना र त्यस्तै अन्य घटनामा आरोपी भई फरार रहेकाहरूसमेत उन्मुक्ति पाउन सकिने आस देखिएको भन्दै सेटिङ गराउनेहरूको खोजी गर्दै छन् । ०६१ वैशाख १८ गते हथिहवाको मुडफुटवामा चेतन कुर्मी र चौधरी कुर्मीको हत्यामा समेत रामनयन यादव मुख्य मतियार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा घटना दर्ता छ । उक्त मुद्दा अदालतमा अझै गइसकेको छैन । 


प्रतिक्रिया दिनुहोस !