सर्वोच्चका दुई ढोका : एउटा न्यायाधीशलाई, अर्को वकिललाई

सर्वोच्चका दुई ढोका : एउटा न्यायाधीशलाई, अर्को वकिललाई

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको विवाद अझै निष्कर्षमा पुग्न सकेको छैन । झण्डै एक महिनादेखि नेपाल बार र सर्वोच्चका वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको बिरोधमा उत्रिँदै आएका छन् ।

उनीहरुको बिरोध कार्यक्रमको तेस्रो चरणमा आइपुग्दा बेञ्च बहिस्कार गर्दै आएका न्यायाधीशहरु इजलासमा फर्केका छन् । तर, प्रधानन्यायाधीशको राजीनामा माग्दै आएका वकिलहरुको धर्ना भने आज पनि जारी छ ।

प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने भन्दै बारले गर्दै आएको अदालतको मूल गेटको धर्ना कार्यक्रम एकातिर प्रधानन्यायाधीशलगायतका न्यायाधीशहरु अकैतिरबाट अदालत छिर्दै आएका छन् । यसबाट सर्वोच्चका दुई वटा ढोकामध्ये एउटा न्यायाधीशलाई अर्को वकिललाई भएको देखिएको छ ।

कानुन व्यवसायीहरुले प्रधानन्याधीशको राजीनामा माग्दै आज पनि बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज बिहान साढे १० बजेदेखि बारको प्राङ्गणमा हातमा कालोपट्टी बाँधेर बिरोध गरेका हुन् ।

त्यसपछि सर्वोच्च अदालतको मूलगेट वरिपरि जम्मा भएर उनीहरुले प्रधानन्यायाधीशको राजीनामा मागेका हुन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा भएको विरोध कार्यक्रममा वरिष्ठ पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतको उपस्थिति थियो ।

सहभागीहरुले बिचौलियालाई कारबाही गर, न्यायाधीशले मान, पदवी र पदक अस्वीकार गर, कानुन व्यवसायी एकता जिन्दवाद, नेपाल बार जिन्दावाद, न्यायपालिकामा राजनीतिक हस्तक्षेप बन्द गरलगायत नारा लगाएका थिए ।

आजै काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोकका बारका पदाधिकारी तथा सदस्यहरुले पनि सर्वोच्चको गेटभित्र बिरोध गरेका छन् । उनीहरुले समेत चर्का नाराबाजी गरेका थिए ।

कार्यक्रमको अन्तमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोल्दै मंसिर ९ गते बिहीबार दिन सर्वोच्च अदालतको धर्ना र बिरोध कार्यक्रमपछि कानुन व्यवसायीहरुले जुलुस निकाल्ने बताउनुभएको छ । उहाँका अनुसार पर्सी कानुन व्यवसायीहरुले सर्वोच्च अदालतदेखि प्रधानन्यायाधीशको निवास बालुवाटारसम्म मार्चपास गर्नेछन् ।

टिप्पणीहरू