​बुबाले पनि शीर ठाडो पार्न सकुन्

  • लक्ष्मी पौडेल

शक्ति र पहुँचको आडमा ठुल्ठूला अपराधलाई कसरी राज्यले संरक्षण गर्छ भन्ने कुरा अहिले कञ्चनपुर खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र निर्मम हत्याले पुष्टि गर्दै छ । राजशाहीको बेला ०३८ सालको नमिता–सुनीता हत्याकाण्ड जसरी भयो र अपराधीलाई अहिलेसम्म लुकाइयो त्यस्तै नियति होला भन्ने आशंकामा देशभर विरोध कार्यक्रम, प्रदर्शन, जुलुस र ¥याली भइरहेका छन् । 

छोरा नपाएको भनेर दुर्गादेवीलाई यज्ञराजले ९ वर्षदेखि छाडेका थिए । घरमा आउजाउ थिएन । तीनवटी छोरी दुर्गादेवीले एक्लै हुर्काइन् । छोरीहरूसँँग पनि यज्ञराजको सम्पर्क टुटेको थियो । उनी दोस्री श्रीमतीसँग बस्दै आएका थिए । 

साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला दोस्रो दिन उखुबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या पुष्टि भयो । प्रहरीसामु दुर्गादेवीले सुरुमा निर्मलाका सौतेनी मामा र बाबुमाथि शंका व्यक्त गरिन् । सौतेनी मावलीपट्टीकाले नराम्रो व्यवहार गर्दै आएकाले दुर्गादेवीको शंका त्यतापट्टि थियो ।

घटनामा प्रहरीले अनुसन्धान गर्ने र न्याय दिने आश्वासन दियो । तर, अनुसन्धान लम्बियो, दिन बित्दै गयो । अपराधी पत्ता लागेन । अपराधीलाई कारबाही गर्न प्रहरी प्रशासनले चासो नदेखाएको र लुकाएको आरोप परिवार र स्थानीयले लगाए ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट बबिता बम र रोशनी बम दिदीबहिनी बस्ने घरमा आउजाउ गरिरहन्थे । निर्मलाकी साथी हुन् रोशनी बम । उनको घरमा गएका बेला उक्त घटना घटेको थियो । घरमा बम दिदीबहिनी मात्रै बस्थे । जुन दिन निर्मला हराइन् त्यो दिन आमा दुर्गादेवी छोरी खोज्न बम दिदीबहिनीकहाँ पुगेकी थिइन् । तर, बम दिदीबहिनीको बोली र व्यवहारका कारण निर्मलाको परिवार र स्थानीयले उनीहरूमाथि शंका मात्र हैन, दाबी नै गरेका छन् ।

‘एसपी विष्ट सधैँ आइरहन्थे बबिताको घरमा, खोज्न जाँदा घरमा छिर्न नदिने, प्रहरीले खोज्न नमान्ने उनीहरूको सतप्रतिशत दोष छ’, स्थानीयले दाबी गर्दै भनेका छन् । 

निर्मलाको शव भएको स्थानमा प्रहरी पुगेर प्रमाण मेटाएको छ । शरीरको तल्लो भाग खोलामा पखालिनु, कपडा खोलेर धोइदिनु, छेउमा भएको किताब नभिज्नु, निर्मलाले लगाएको पेन्टी नभेटिनुले स्थानीयले बन्दकोठाभित्र निर्मलाको बलात्कार र हत्या गरेर उखुबारीमा ल्याई फालिएको आशंका गरेका छन् । अघिल्लो दिन उखुबारीको बाटो भएर निर्मलाकी आमा, गाउँले र सयौँ मान्छे ओहोर दोहोर गर्दा नदेखिएको साइकल भोलिपल्ट बाटोछेउमा कसरी भेटियो ? बम दिदीबहिनीको घरबाट लिएर गएको भनिएको अम्बा पोकामा सकुशल भेटिनुले घटना शव भेटिएको ठाउँमा नभएको शंका गर्ने आधार देखिन्छ । २२ दिनसम्म अनुसन्धान भइरहेको छ भनेको प्रहरीले मानसिक रोगी दिलीपसिंह विष्टलाई सार्वजनिक गरे पनि जनताले पत्याएनन् । अहिले विष्ट निर्दोष सावित भएर छुटे । उनको बयानका अनुसार उनीमाथि अनुसन्धान अझै हुनुपर्ने थियो । डिएनए टेस्टबाट बलात्कार गरेको प्रमाणित नभए पनि हत्यामा उनको संलग्नता हुन सक्थ्यो । उनलाई प्रयोग गरेर कसैले हत्या गरेको हुन सक्छ भन्नेतर्फ भीडका कारण अनुसन्धान टोलीले ध्यान पु¥याउन सकेन ।

बबिताले धन्दा गर्ने गरेको र उनकै योजनाबमोजिम हत्या भएको स्थानीयको आरोप अपुष्ट छ । निर्मला र रोशनी त्यत्ति मिल्ने साथी होइनन् तर घटना हुनु केही दिनदेखि लगातार घरमा रोशनी आएकी थिइन् । दुई दिनअघि साउन ९ गते रोशनीले निर्मलाका आमाको पसलमा उधारो चटपटे खाइन् । रोशनीले भोलिपल्ट पैसा लिन र होमवर्क गर्न आफ्नो घर आउन दबाब दिइन् । निर्मला आफ्नी दिदी घरबाट निस्केको केहीबेरमा बबिताकोमा गइन् तर फर्केर आइनन् । कसको दबाबमा विष्टले आफू निलम्बित हुनेसम्मको काम गरे ? पहिले अनुसन्धानमा खटिएका अंगुर जिसी यसबारे जानकार हुन् । तर, उनले अब गर्न सक्ने स्थिति रहेन । विष्टले कसको आदेशमा अपराधीलाई जोगाए ? जसले सत्ता नै जोखिममा परेको छ । प्रधानमन्त्री र मन्त्रीको राजीनामा माग गर्ने स्थिति सिर्जना भएको छ । प्रधानमन्त्री ओलीले यो स्थिति सिर्जना हुनुपूर्व घटनालाई जिम्मेवार रूपमा नहेरेको प्रस्टिन्छ ।

प्रधानमन्त्री ओलीले हत्यापछि निर्मलाको शव भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा लगिएको बताए । यो गलत सूचना थियो । यति गम्भीर विषयमा प्रधानमन्त्रीलाई गलत रिपोर्टिङ कसले गरिरहेको छ ? के प्रधानमन्त्री सचेत बन्नु पर्दैन ? घटनाबारे आफंै तथ्य बुझेर अनुसन्धान कडाइ गर्न निर्देशन दिनुपर्ने विषयमा कसैले गरेको गलत रिपोर्टिङका भरमा सार्वजनिक रूपमा बोल्नु हुँदैनथ्यो । 

निर्मलाका बाबुआमा न्याय माग्दै काठमाडौं आएर फर्किइसकेका छन् । न्यायका लागि स्वस्फूर्त नागरिकसँगै केही गैरसरकारी संस्थाका पदाधिकारी सक्रिय छन् । राज्यलाई दबाब दिन उनीहरूले खेलेको भूमिका प्रशंसनीय छ । तर, निर्मलाका बाबुआमाले स्वतन्त्र रूपमा मिडियासामु बयान दिन वा आफ्ना कुरा राख्न पाइरहेका छैनन् । ३० गते माइतीघर मण्डलामा विरोध कार्यक्रम हुनुभन्दा केही दिनअघि दिनभर पनि बाबुआमासँग मिडियाकर्मीले कुरा गर्न पाएनन् । बाबुआमाको विरोधको स्वर जायज छ तर घर्केको समयमा आलो घाउमा उपचार गर्न जत्तिकै सजिलो खाटा बसेको घाउमा हुँदैन । निर्मलाका बाबुको परिवारसँगको सम्बन्धका कारण दुर्गादेवीले प्रहरीसमक्ष सुरुमा दिएको बयानमा अनुसन्धान हुन नसक्नु, छोरीको मृत्युपछि मात्रै दम्पती नै काठमाडौं ल्याइएको विषयलाई गौण मानिनु हुँदैन । घटनामा दोषीलाई कारबाही माग गर्दै जति ठाडो शिर गरेर आवाज दुर्गादेवीले उठाउन सकेकी छन्, बाबु यज्ञराज त्यसमा केही चुकेका देखिन्छन् । निर्मलाको बलात्कार र हत्या दुई वटा घटना हुन् । 

घटनापछि बम दिदीबहिनीको घरमा भएका गतिविधि– रंगरोगन, अम्बाको रूख काटिनु, प्रहरीले सुरक्षा दिनु गम्भीर अनुसन्धानका विषय हुन् । तर, यी विषयमा सम्बन्धित निकायको चासो कम छ । 

यसअघि पक्राउ परेका दिलीपसिंह विष्टले बयानमा आफूले हत्या गरेको बताइसकेका कारण उनीमाथि कारबाहीभन्दा पनि अनुसन्धान गरेर असली अपराधी पत्ता लाग्न सक्थ्यो । अब जति शक्तिशाली अनुसन्धान समितिलाई पनि अपराधीलाई कठघरामा ल्याउन त्यत्ति सहज हुने देखिँदैन । अबका अनुसन्धान समितिले अपराधीलाई पत्ता लगाउन नसके संगीतकार प्रवीण गुरुङको हत्यामा नक्कली ड्राइभर खड्ग भुजेललाई अघि सारेर युवराज पारश जोगिएझैं डमी अपराधी खडा गरेर घटनालाई साम्य बनाउन सक्ने जोखिम छ । समितिले तोकिएको समयमा अनुसन्धान सम्पन्न गरेर अपराधी पेस गर्न सक्ने सम्भावना कम देखिन्छ ।

टिप्पणीहरू