काठमाठौंमा काँग्रेसको लठीभद्र पारा, क्षेत्र नम्बर ७ मा प्रकाशमानको प्यानल विजयी

काठमाठौंमा काँग्रेसको लठीभद्र पारा, क्षेत्र नम्बर ७ मा प्रकाशमानको प्यानल विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको निम्ति प्रतिनिधि समेत चुन्नको लागि हिजो भएका क्षेत्रीय अधिवेशनहरु धेरै ठाउँमा स्थगित भए । काठमाडौंमा भएका केही निर्वाचन क्षेत्रको चुनावमा विवाद देखिएको छ । कतिपय स्थानमा स्थगित भएको निर्वाचन आज हुँदै छ । दुई वटा निर्वाचन क्षेत्रको परिणाम आएको छ ।

भर्खरै प्राप्त जानकारीअनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को अधिवेशन नयाँ बानेश्वरको कात्यायनी चोकस्थित आनन्द इभेन्टसमा भएको छ । हिजो भएको मनोनयपछि आज दिउँसो १ बजे चुनाव गर्न लागिएको छ ।

क्षेत्र नम्बर २ को मतगणना अन्तिम अवस्थामा पुगेको छ । निर्वाचन र गणना हेभन क्याफे मुलपानी चौरमा भइरहेको छ ।

क्षेत्र नम्बर ३ को अधिवेशन गोकर्णेश्वरस्थित सुन्दरीजलमा रहेको विपी संग्रहालयमा भएको हो । हिजो चर्को विवाद भएपछि स्थगित अधिवेशनको चुनावी कार्यक्रम आज बिहान ८ बजेबाट शुरु भएको छ ।

क्षेत्र नम्बर ४ को अधिवेशन शिवदर्शन पार्टी प्यालेस पिंगलास्थानमा भएको छ । हिजो सहमती हुन नसकेपछि आज बिहान ११ बजेबाट मतदान शुरु गरिएको बताइएको छ ।

क्षेत्र नम्बर ५ को अधिवेशन गल्फुटार भेटघाट चोकको अनुपास्ता होटेलमा भएको छ । मतदानपछि अहिले मतगणना अन्तिम चरणमा पुगेको छ ।

क्षेत्र नम्बर ६ को अधिवेशन टुसाल हेल्थ क्लब फुटुङ्मा भएको छ । हिजो रातिसम्म विवाद नसुल्झिएपछि आज दिउँसो १२ बजेसम्म कोही पनि अधिवेशनस्थलमा पुगेका छैनन् । त्यहाँ चुनाव कहिले हुन्छ र कसरी हुन्छ भनेर कसैले पनि बताएका छैनन् ।

त्यसैगरी क्षेत्र नम्बर ७ को अधिवेशन सासा ब्याङ्क्वेट नयाँबजारमा भएको हो । हिजो भएको मतदानको नतिजा प्राप्त भएको छ । नेता प्रकाशमान सिंहको प्यानल विजयी भएको छ । जसमा २६ जना रहेका छन् ।
क्षेत्र नम्बर ८ को अधिवेशन परोपकारस्थित काष्ठमाण्डप क्याङ्क्वेटमा भएको हो । हिजो सहमति हुन नसकेपछि मतदान भएको थियो । त्यहाँको पनि नतिजा आइसकेको बताइएको छ । तर विजयीको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

क्षेत्र नम्बर ९ को अधिवेशनस्थल नैकाप पार्टी प्यालेस हो । सहमतिको प्रयास विफल भएपछि अहिले १२ बजेपछि चुनावको बारेमा निर्णय गरिने बताइएको छ ।

निर्वाचन क्षेत्र नम्बर १० को अधिवेशन किर्तिपुरको दरबार ब्याङ्क्वेट टौदहमा भएको हो । हिजो त्यहाँ पनि सहमतिको प्रयास विफल भएपछि मआज आज मतदानको तयारी गरिएको छ ।

टिप्पणीहरू