पत्रकार महासंघले भन्यो : राजनीतिक दलहरुमा निर्वाचित पत्रकारहरुले पद त्याग गर्नु

पत्रकार महासंघले भन्यो : राजनीतिक दलहरुमा निर्वाचित पत्रकारहरुले पद त्याग गर्नु

नेपाल पत्रकार महासंघ सुर्खेत जिल्ला शाखाले ‘लेकबेसी घोषणापत्र’ जारी गरेको छ । लेकबेसी नगरपालिकाको गमखोलामा सम्पन्न महासंघको तेस्रो पूर्ण बैठकले आठ बुँदे घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा प्रदेशसभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकलाई संविधानको परिकल्पनाअनुसार पूर्णप्रेस स्वतन्त्रताको प्रत्याभूति हुने गरी आवश्यक संशोधनसहित विधेयक पारित गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेका जिल्लाका सञ्चारमाध्यमहरुको दिगो सञ्चालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनमा वृद्धि गर्न र स्थानीय तथा प्रदेश सरकारले प्रकाशन गर्दै आएका विज्ञापन स्थानीय सञ्चारमाध्यममा अनिवार्य प्रकाशन र प्रशारण गर्ने गरि आवश्यक कानून तथा नीति निर्माणमा समेत उसले जोड दिएको छ ।

महासंघले प्रदेश सरकारले सञ्चालन गरिरहेको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन आग्रह गरेको छ । उसले श्रमजीवी पत्रकारका लागि सञ्चार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न र पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराउन र छात्रवृत्ति स्थापना गर्न प्रदेश सरकारसँग माग गर्दै घोषणापत्र जारी गरेको छ ।

पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका र आवद्ध शाखाका सदस्यहरुलाई सदस्यता शुद्धिकरण खारेज गर्नुअघि नै स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग्न पनि आह्वान गरिएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पर्यटकीय क्षेत्र लेकबेसी नगरपालिकाको समग्र भौतिक तथा पर्यटकीय विकास र प्रवद्र्धनका लागि विशेष योजना ल्याउन संघीय र प्रदेश सरकारलाई आग्रह गरिएको छ । हालसम्म स्तरोन्नति हुन नसकेको मदन भण्डारी राजमार्गअन्तर्गत धुलियाबिट–भेडाबारी सडक तत्काल स्तरोन्नतिलगायतका माग पनि घोषणापत्रमा गरिएको छ ।

 

टिप्पणीहरू