​प्लेन झर्ने ठाउँमुनि पानी नै पानी « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

​प्लेन झर्ने ठाउँमुनि पानी नै पानी

प्रकाशित मिति :  ५ आश्विन २०७५, शुक्रबार ११:५१


मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्यसमाथि एउटै रनवे, त्यही रनवेमुनि पानी नै पानी ।

त्रिभुवन विमानस्थलको धावनमार्ग जम्मा तीन किलोमिटर छ । त्यही बीचमा ८६ वटा वाटरहोल (पानीको मुहान) पाइएको छ । मेलम्चीबाट ल्याउनै नपर्ने गरी त्यही रनवे खन्दा छेलोखेलो पुग्ने पानी निस्कने सम्भावना छ । त्यसमाथि मनसुनको बेला वर्षा हुने, तल पानी छिर्ने, जमिन तात्दै जाँदा पिच फुटाएर पानी निस्कने । झण्डै दुई सय टनको एउटा बोइङ या एयरबस ल्याण्ड गर्ने क्रममा पिचमा टायर बज्रिएर रनवेमा क्षति पुग्नु त मामुली भइहाल्यो । त्यसले गर्दा देशभरि र बाहिरको उडान जहाँ–जहाँ पुगेको छ, त्यहीँ–त्यहीँ होल्ड या डाइभर्ट गर्दै केमिकलले टालटुल पार्नुपर्ने अवस्था छ । बोरिङ गर्दा पानी निस्कने ठाउँमा जति टालटुल गरे पनि के लाग्छ ? पानी र पिपलको बिरुवा त्यस्तो चिज हो, जसले जरो हालेपछि जस्तै बाधा पनि पन्छाएर जमिनबाहिर आउँछ–आउँछ ।

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मालिन्डो एयर, यति र टर्किस एयरलाइन्सहरु धस्सिँदा रनवे अक्युपाइड भएर घण्टौँदेखि तीन दिनसम्म विमानस्थल पूरै बन्द हुने गरेको छ । अघिल्लो महिना यति एयरलाइन्सको घरेलु उडान राति ८ः२० मा चिप्लिएर भोलिपल्ट बिहान ७ बजेसम्म १५ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट हुँदा जहाजले खाने तेल, ग्राउण्ड ह्याण्डलिङका नाममा वायुसेवा निगमले लिने दस्तुर, भारत र बंगलादेशका विमानस्थलमा आकस्मिक अवतरण गराउँदा यात्रुलाई राख्ने, खुवाउने होटल खर्च जोड्दा एक दिनमै सबैतिरको कूल खर्च करिब एक अर्ब बढेको छ । रनवेबाट चिप्लिएको जहाजलाई सुरक्षितसाथ तानेर छेउमा लैजान २५ टन तौल क्षमताको एक्साभेटर चाहिन्छ । त्यो ल्याउने कहाँबाट हो ? सेनाको ल्याउने कि, दमकलले पानी छेपेर धकेल्ने ? अर्थात्, जहाज चिप्लिँदा झिक्ने यन्त्र पनि हामीसँग छैन । त्यस्तो क्रेनको मूल्य एक करोड ४० लाख पर्छ । नागरिक उड्डयन कार्यालयले असार १ गते त्यसका लागि टेण्डर निकाल्यो । त्यसमा डकुमेण्ट पुगेन भनेर फेरि रिटेण्डर गर्नुपर्ने अवस्था छ । 

अत्याचार कतिसम्म हुन्छ भने, डेढ महिनाअघि एउटा ठूलो रसियन कार्गो जहाज आउने भयो, ‘एन्तोनोभ’ नामको । युएन पठाउने नेपाली सेनाका विभिन्न सामान लिएर जबकि रतिशसुमन उड्डयन प्राधिकरणको महानिर्देशक हुँदा पाँच वर्षअघि निर्णय भएको थियो, १ सय ९० टनभन्दा बढी तौल भएको जहाजलाई अवतरण गर्न नदिने भनेर । सामान्यतया एयरबस ३१९, ३२० वा बोइङ ७४७, ७३७ ले नेपालमा अवतरण गर्ने गरेका छन् । तर, बोइङ ७७७ लाई अवतरण अनुमति छैन ।

नियम जस्तो भए पनि ०७२ वैशाख १२ को भूकम्पपछि राहतका नाममा अनेकन जहाज अवतरण भए । अहिले पनि कमर्शियल फ्लाइटका नाममा थाई र इमिरेट्सहरुले २५० टनसम्मको कार्गो जहाज ल्याइरहेका छन् । कहिले सेनापतिको मन राख्न, कहिले देशको व्यापारका नाममा त कहिले मानवीय उद्धार र राहतका नाममा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दिनानुदिन छियाछिया भइरहेको छ । आदेश दिनेहरु घर जान्छन् तर मारमा चाहिँ देश पर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !