आइतबारदेखि बिराटनगर भन्सार ठप्प हुने

आइतबारदेखि बिराटनगर भन्सार ठप्प हुने

बिराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी) मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्ताल गरेर भन्सार ठप्प पार्ने चेतावनी दिएका छन् । आइसिपीले श्रमिक तथा मजदुरहरुलाई श्रम ऐनअनुसार सेवा सुविधा नदिएको भन्दै समाजवादी कारखाना श्रमिक संघले आइतबारदेखि भन्सार ठप्प पार्न लागेका हुन् ।

संघका इकाई अध्यक्ष शम्भुकुमार यादवले संघको अगुवाईमा गत माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ का उपदफाअनुसारका मागहरू राखे पनि हालसम्म सम्बोधन नभएको बताएका छन् ।

समाजवादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले पनि कार्यरत कामदार तथा कर्मचारीहरूको सात लाख रुपैयाँ बराबरको जीवन बीमा गर्नुपर्ने माग राखेको जानकारी दिए । आइसिपीमा कार्यरत मजदुरहरुलाई ठेकेदारी प्रथाबाट खटाएर श्रमशोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने माग समेत गरिएको छ ।

आइसिपीमा विदेशी कामदारहरुलाई श्रम स्वीकृति नलिई रोजगारीमा लगाइएको समेत संघले आरोप लगाएको छ । अध्यक्ष यादवले भने,‘आइसिपीमा कामदार ट्रान्स नेपाल कम्पनीले खटाउने गरेको छ । श्रमिकहरुले श्रम ऐनअनुसार सेवा र सुविधाको माग गर्दा उसले आफ्नो कामदार नभएको भन्दै पन्छिन खोजेको छ । भन्सारले पनि आफ्ना कामदार भन्दैन ।’

आइसिपीमा नेपाल र भारतका गरी झण्डै तीन सय श्रमिक कार्यरत छन् । श्रमिकको मागका बारेमा सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत ध्यान नदिएको कारण हड्तालमा उत्रनुपर्ने बाध्यता भएको संघले जनाएको छ ।

टिप्पणीहरू