​खाने दलाल, सहने सरकार

सेनाभित्र भूपू भइसकेकाहरुको ‘भूत’ जागिरहेको छ । अख्तियारबाट उहिल्यै लोकमान गए, प्रधानसेनापतिबाट राजेन्द्र क्षत्री पनि भूपू भइसके । तर, तिनको पालाका काम नटुंगिँदा रक्षा मन्त्रालयदेखि जंगी अड्डासम्म तातिरहेका छन् ।

लोकमानले अख्तियार प्रमुख छँदै राजेन्द्र क्षत्रीलाई दुईचोटि टंगाल बोलाएर भिभिआइपी सवारी प्रयोजनार्थ सेनाका लागि आफ्ना सम्धी रोहिणी थपलियामार्फत खरिद गरिने अगुस्ता हेलिकोप्टर छिटो ल्याउन निर्देशन दिएका थिए । इटलीबाट किनिएको उक्त हेलिकोप्टर ल्याउने कागजी मामिला सल्टियो । अर्थ मन्त्रालयस्थित स्रोतका अनुसार कागज र भुक्तानी प्रक्रिया हेर्दा असार ३ र भदौ २७ गते स्पेयर पार्ट्स आइसकेको पनि बुझिन्छ । तर, १२ हजार ९ सय २९ पाउण्ड मूल्यका फ्राग्मेन्टेसन गगल्स ३१ पिस र उत्तिकै परिमाणको इन्ट्री ब्यालेस्टिक शिल्डको भन्सार क्लियरेन्स भइसकेको छैन । बेलैमा महसुल छुटको कुरा नटुंगिँदा सामान जफतसम्मको कानुनी व्यवस्था छ । सामान ल्याएर कमिसन खाने पदबाहिरका दलाल र भूपू फुलीवालले, तर कर मिनाहा गर्नुपर्ने चाहिँ सरकारले !

त्यस्तै, नेपाली सेनासँग रहेका पाँच पुराना जहाजमध्ये चारवटा मर्मत भएका छन् । बिक्री गर्न भनी राखिएका १५ मध्ये आठवटा बेचिइसकेका छन् । अब नयाँ हवाई साधन किनेर कूल ३१ वटा पु¥याउनुपर्ने छ । त्यसमध्ये ११ वटा जहाज (फिक्स्ड विङ) र २० हेलिकोप्टर हुन् । सातवटा आउने क्रममा छन् । यही डिसेम्बरसम्ममा एउटा जहाज आउँदैछ । अमेरिकाले दिनुपर्ने स्काई ट्रकको घोषित संख्या चार हो । तर, अहिलेसम्म नामोनिशान छैन । अर्को वर्षसम्ममा दुईवटा दिन्छ कि भन्ने झिनो आश रक्षा सचिवलाई छ । 

टिप्पणीहरू