अमेरिका जान थापेको ११ हजार डलर खोई ?

अमेरिका जान थापेको ११ हजार डलर खोई ?

नेपाल वायुसेवा निगमको तालुक अड्डा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ११ हजार १ सय ५० अमेरिकी डलरको हिसाब देखाउन ताकेता लगाएको छ ।

महाप्रबन्धक डिमप्रसाद पौडेल र कानुनी सल्लाहकार आभाष पण्डितले विदेश जाने निहुँमा बुझेको उक्त रकम छ महिनासम्म पनि नबुझाएपछि मन्त्रालयले तीन दिनभित्र कागजात बुझाउन आदेश दिएको हो ।

महाप्रबन्धक डिमप्रसाद पौडेल र कानुनी सल्लाहकार आभाष पण्डितले विदेश जाने निहुँमा बुझेको उक्त रकम छ महिनासम्म पनि नबुझाएपछि मन्त्रालयले तीन दिनभित्र कागजात बुझाउन आदेश दिएको हो ।

गत जुन ६ तारिखका दिन निगमको बोइङ ७५७, ९बी एसीए जहाज र आइबेरियाको बोइङ ७५७ इञ्जिन बेच्न र लिलाम गर्न अमेरिका जाने भन्दै महाप्रबन्धक पौडेल र सल्लाहकार पण्डितले क्रमशः ७ हजार र ४ हजार १ सय ५० अमेरिकी डलर बुझेका थिए । तर,पछि मन्त्रालयले भ्रमण रद्द गरिदिएकाले उनीहरु यतै अड्किएका हुन् ।

भ्रमण रध्द भएपछि कार्यालयबाट जुन प्रयोजनको निम्ति पेश्की रकम बुझेको हो,त्यो तत्काल फिर्ता गर्नुपर्नेमा उनीहरुले आजको मितिसम्म पनि वास्ता गरेका छैनन् ।

हालसम्म पनि डलरमा बुझेको पेश्कीवापतको १३ लाख रुपैयाँभन्दा बढी रकम नबुझाएपछि मन्त्रालयमा उजुरी परेको भन्दै सोसँग सम्बन्धित कागजात तीन दिनभित्र उपलब्ध गराइदिन तालुक अड्डाले निगमलाई ताकेता गरेको हो ।

सरकारी कर्मचारी वा अधिकारीहरुले भ्रमण रद्द भएपछि तत्काल पेश्की रकम फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अन्यथा,त्यसपछि नियमानुसारको ब्याजसहित असुल गर्नुपर्ने अवस्था देखिन आएको मन्त्रालय स्रोतले बताएको छ ।

अर्कोतर्फ उनीहरुले सोसम्बन्धी विदेशी मुद्रा (डलर) सटही गरिसकेको हो भने,भ्रमण रध्द भएपछि तत्काल ती डलर सम्बन्धित बैंकमा फिर्ता गर्नुपर्ने हुन्छ । त्यसरी फिर्ता गरेपछि प्राप्त हुने नेपाली रुपैयाँ निगममा दाखिला गर्नुपर्नेमा सो नगरेको बताइन्छ ।

टिप्पणीहरू