अर्को सातादेखि मतदाता नामावली संकलन

अर्को सातादेखि मतदाता नामावली संकलन

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । कोभिड–१९ का कारण गत वर्षदेखि रोकिएको मतदाता नामावली संकलन आयोगले शुरु गर्न लागेको हो ।

आयोगले आज विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट भइरहेको नामावली संकलन कार्य पुनः थाल्न लागेको हो । इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय बाहेकका ६ सय ३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराइ, भित्रीमधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिने आयोगले जानकारी दिएको छ ।

मतदाता नामावली संकलन कार्य हरेक जिल्लामा दुइ चरणमा सञ्चालन हुने भएकाले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरेर आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ । नामावली संकलन विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष संलग्न हुने जनाइएको छ ।

मतदाता नामावली संकलन अभियानमा सबै राजनीतिक दल, तीन वटै तहका सरकार, आमसञ्चार माध्यम तथा नागरिक समाजलाई समेत आ–आफ्नो स्थानबाट सहयोग गर्न आयोगले आग्रह गरेको छ । नामावली संकलन पुस २० गतेभित्र गरिसक्ने आयोगले योजना बनाएको छ ।

टिप्पणीहरू