​साह्रै समस्या भयो हजुरको शहरमा !

  • जीवन डाँगी
राजधानीमा चहल–पहल हुने नै भयो । देशभरका नागरिकको आवत–जावत जो यतै हुन्छ । निकै भीडभाड र अव्यवस्थित स्थान कता होला ? कसैले दिमाग खेलाउँनै पर्दैन । जो–कोहीले कलंकी भनिहाल्छन् । यस क्षेत्रमा बस्ने नागरिकका कति गुनासा छन् कति !

थानकोट–कलंकीको सुन्दर र व्यवस्थित बाटो बन्ने हल्ला चलेको धेरै भयो । 

यात्रु चोर्ने चलन

यात्रु चोर्ने ! झट्ट सुन्दा अचम्म लाग्छ । तैपनि, वास्तविकता यही हो । कलंकीको बाटो भएर, एक दिनमा हज्जारांै गाडी गुड्छन् । ड्राइभर, खलाँसी सडकमै गाडी रोकेर, यात्रु खोज्दै कुदिरहेका हुन्छन् । 

गाडीका स्टाफले कता जाने– कता भन्दै, पैदलयात्रीलाई सास्ती दिएको देख्दा पनि प्रहरी सिटी फुकेर मात्र बस्छ । धरान जाने यात्रुलाई धनगढीको गाडीमा कोचेको समेत देख्न पाइन्छ । हिँड्ने मान्छे देख्नै हुँदैन, हात समातेर तानिहाल्छन् । 

नयाँ बसपार्कबाट छुट्ने, गाडीले कलंकीमा रमिता देखाएनन् भने केही हदसम्म थानकोट–कलंकीको जाम हुँदैन । देशकै बढी गाडी जाम हुने यही स्थान हो । तीनथानाबाट गाडी चढेर जानुभन्दा, हिँडेर जाँदा कलंकी पहिल्यै पुगिन्छ ।

नयाँ बसपार्कबाट दाङका लागि नौ सयमा टिकट काटेकोमा विमल डाँगीलाई पछुतो लाग्यो । कारण ः कलंकी आउँदा स्टाफ खानासहित ४ सयमै आउन सकिँदो रहेछ । अहिले यात्रुको नयाँ बसपार्कभन्दा कलंकीमा भीड हुन्छ । बार्गेनिङसहित यात्रा गर्न पाउँदा उनीहरू यतै कुद्ने गरेको यात्रुले बताए ।

नागरिकमा, रोग थप्दै सरकार

‘सरकारले हामीलाई रोग थपिरहेको छ । आयु घटाएको घटायै छ । हप्तामा एक पटक औषधि खानै पर्छ । अलि–अलि कमाएको पैसा उपचारमै जान्छ’, बाटो छेउमा चस्मा बेच्दै गरेकी रुपा तामाङले दुखेसो पोखिन् । 

हजारौ मानिसले धुलोको समस्या भोगिरहेका छन् । सडकको बिजोग छ । गाडी चढ्दा धुलोको समस्या, पैदलयात्रा गर्दा अझ धेरै । सडक अव्यवस्थित भएका कारण पनि नागरिक रोग थपिरहेका छन् । यहाँको धुलोका कारण सयौ संख्यामा बिरामी पर्ने गरेका छन् । राजधानीकै मुख्य मार्गको छिटो निकास नदिने विगतदेखिका सरकारबाट जनताले अन्य चिप्ला कुरा पत्याउने कुरै भएन ।

टिप्पणीहरू