जवाहरको विरासतमा जन्मिएकाहरू « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

जवाहरको विरासतमा जन्मिएकाहरू

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार २०:००


मोतीलाल नेहरू भारतका प्रथम प्रधानमन्त्री जवाहर नेहरूका पिता, लामो समय देशको नेतृत्व गरेकी अर्की प्रधानमन्त्री इन्दिरा गान्धीका बाजे, अर्को प्रधानमन्त्री राजीव गान्धीका जिजुुबुवा । लेखक रोबर्ट हार्डी एन्डुजद्वारा लिखित पुस्तक ‘लैम्प फर इण्डियाः दि स्टोरी अफ म्याडम पण्डित’ मा उल्लेख भएअनुसार मोतीलाल नेहरूका पिता गंगाधर हुन् । उनको सक्कली नाउँ थियो ‘गयासुद्दिन गाजी’ अर्थात् उनी एक सुन्नी मुसलमान थिए । जवाहरले पनि आफ्नो बाजेको नाउँ गंगाधर नै बताउने गर्थे । उनैका कान्छी बहिनी कृष्णा हठिसिंहले पनि आफ्नो बाजे मुगल दरबारमा कोटवाल थिए भनेकी छन् । लामो समय वकालत र राजनीति गरेका मोतीलालले आफ्नो नाउँको पछाडि ‘नेहरू’ झुन्ड्याएका थिए, अर्थात् त्यसपछि बल्ल नेहरूवंश शुरू भएको हो ।

दिल्लीमाथि अंग्रेजहरूले पूर्णरूपमा कब्जा जमाइसकेपछि कतिपय हिन्दू र मुसलमानहरू फेरि विद्रोह हुने डरले आगरा तथा अन्यत्र भागे । त्यसै क्रममा नेहरू परिवार पनि आगरातर्फ लाग्यो । नेहरूले आत्मकथामा उल्लेख गरेका छन् ‘बाटोमा अंग्रेजहरूले रोकेका थिए हामीलाई । र, बच्ने क्रममा हाम्रो बाजे गंगाधरले आफूहरू मुसलमान नभई काश्मिरी पण्डित भएको बताए । त्यसपछि बल्ल हामीलाई जान दिइएको थियो ।’ पछि मोतीलालले पूरै हिन्दू देखियोस् भन्ने हेतुले नाउँको पछाडि ‘नेहरू’ जोडेका थिए । भनिन्छ, नेहरूको अर्थ ‘नहर भएकाहरू’ हो ।

नेहरू परिवारले भारतमा ३९ वर्ष सरकार चलाए । जवाहर नेहरूले १७ वर्ष, इन्दिरा गान्धीले १७ वर्ष र राजीव गान्धीले ५ वर्ष । जवाहरको मृत्युपछि बीचमा २ वर्ष लालबहादुर शास्त्री प्रधानमन्त्री भए । उनीपछि प्रधानमन्त्री बनेका जवाहरकी छोरी इन्दिरा ‘फलामे नारी प्रधानमन्त्री’ नै कहलिइन् । यहाँसम्म कि उनको शासनकालमा ‘इन्दिरा भनेकै इण्डिया, इण्डिया भनेकै इन्दिरा’ सम्म पनि भन्न थालियो ।

इन्दिराको नाउँ थियो – इन्दिरा प्रियदर्शिनी नेहरू । इन्दिराको नाउँ बाजे मोतीलालले राखेका थिए । इन्दिराको अर्थ कान्ति, लक्ष्मी, शोभा हो । उनी जवाहरकी एक्लो सन्तान । वाल्यकाल सुखमय थिएन । पितासँग विरलै भेट हुन्थ्यो । हुन्थ्यो त पत्रमार्फत । आमा कमला रोगी, सधैं बिरामी, ओछ्यानमै हुन्थिन् । इन्दिराले सुरुका शिक्षा घरैमा लिइन् । ठूलो भइसकेपछि बल्ल स्कुलमा पढ्न गइन् । उनी स्विट्जरल्याण्डको जेनेभा स्कुल र पश्चिम बंगालस्थित शान्तिनिकेतन विश्वभारतीबाट खराब आचरणको कारण निष्कासित भइन् ।

वास्तवमा उक्त कलेज गुरू रविन्द्रनाथ टैगोरबाट सञ्चालित थियो । इन्दिराले त्यहीँ पढाउने जर्मन शिक्षकसँग प्रेम गरिन् । यो उनको पहिलो प्रेम थियो । जब रविन्द्रनाथले इन्दिरा र जर्मन शिक्षकबीचको ‘सम्बन्ध’ बारे थाहा पाए, उनले खराब आचरण गरेको अपराधमा इन्दिरालाई कलेजबाट निकालिदिए । त्यसपछि दिक्क मानेर जवाहरले छोरी इन्दिरालाई अक्सफोर्डमा पढाउन बेलायत पठाइदिए । इन्दिरालाई त्यहाँ प्लेग रोग लाग्यो । निकै बिरामी परिन् । दोस्रो युद्धमा युरोप जर्मनीको कब्जामा जान थालेपछि पढाइ छाडी स्वदेश फर्किइन् ।

फिरोज जहाँगिर खाँ स्वतन्त्र सेनानी, राजनीतिज्ञ र पत्रकार । पार्सी परिवारका पुत्र । इञ्जिनियर बाबुको निधनपश्चात् आमासँगै मुम्बईबाट इलाहाबाद पुगे । सन् १९३० मा कांग्रेस पार्टीले ‘बानर सेना’ बनायो र यसै क्रममा फिरोजको भेटघाट कमला नेहरूसँग भयो । उनी नेहरूसँगै दुई पटक जेल परे । नतिजा, फिरोजको घनिष्टता नेहरू परिवारसँग बढ्यो । आतेजाते शुरु भयो । सोही क्रममा नेहरू परिवारकी पुत्री इन्दिरातर्फ उनको आकर्षण बढ्यो । एकदिन उनले बिहेको प्रस्तावसमेत राखे तर उनको प्रस्तावलाई जवाहर, कमला र स्वयं इन्दिराले समेत अस्वीकारे । कमलाले आफ्नी छोरी भर्खर १६ वर्षमा टेकेकी भनेर टारिन् । यसबीच, कमलालाई क्षयरोगले सतायो । अस्पतालमा राख्दा उनको सम्पूर्ण हेरचाह फिरोजले नै गरे । कमलालाई जब सन् १९३५ मा उपचारार्थ युरोप लगियो फिरोज पनि सँगै गए । कमलाको निधन सन् १९३६ मा स्विट्जरल्याण्डमै भयो ।

इन्दिरा र फिरोज बेलायतमै हुँदा नजिकिए । सन् १९४२ मा उनीहरूले हिन्दू परम्पराअनुरूप बिहेसमेत गरे । इन्दिरा बिहेपछि मैमुना बेगम बनिन् । नेहरू छोरीको बिहे फिरोजसँग नहोस् भन्ने चाहन्थे । दुबैको धर्म एउटै नभएका कारण आफ्नो राजनीतिक गतिविधिमा आँच न आओस् भन्ने उनको चाहना थियो । त्यसैले सो बिहेको बिरोध नै गरे । महात्मा गान्धीलाई बिहेको मान्यता नदिन आग्रहसमेत गरे । तर, बिहे रद्द भएन । यद्यपि, महात्मा गान्धीमार्फत फिरोजलाई नाउँको पछाडि ‘गान्धी’ राख्न लगाउन सफल भए । बिहे गरेको ६ महिनापछि नै ‘अंग्रेज भारत छोडो’ अन्दोलनको दौरान दुबै पक्राउ परे । ६ महिनाअघि नै छुटे ।

इन्दिरा पुरुषलाई आफ्नो बसमा राख्न खोज्थिइन् । तर, फिरोज पनि उत्तिकै स्वाभिमानी थिए, त्यसैले उनीहरूको दाम्पत्य जीवन तुलनात्मक तवरले ‘सुखद’ बनेन । इन्दिरा आफैँ भन्थिइन् ’हामी अक्सर झगडा गथ्र्यौं । दुबै उस्तै, नझुक्ने । सायद झगडा कलह नहुँदो हो त जीवन रमाइलो पनि हुने थिएन ।’ तथापी उनीहरूको दुइ छोरा भए – राजीव र सञ्जीव (पछि सञ्जय गान्धी) बने ।

कान्छो छोरो सञ्जीव बेलायतमा ३ वर्ष बसे । गाडी दौडका सोखिन । एकदिन गाडी चोरेको अपराधमा पक्राउ परे । प्रधानमन्त्री बनिसकेकी इन्दिराले तत्कालीन बेलायतका लागि भारतीय राजदूत कृष्णमेननलाई सञ्जीवलाई जसरी भए पनि छुटाउन दबाब दिइन् । मेननले शक्तिको दुरूपयोग गरी सञ्जीवको नाउँ सञ्जय भएको दाबी पेस गरे र सञ्जयकै नाउँबाट नयाँ पासपोर्ट जारी गरिदिए । यसपछि बल्ल सञ्जीव सञ्जय बनेर सकुशल भारत फर्कन सके ।

त्यसो त, सञ्जय गान्धी इन्दिराका पुत्र त हुन् तर फिरोजको तर्फको होइनन् भन्ने कम छैनन् भारतमा । एउटा तर्क के हो भने सञ्जयको गर्भ बोकेको समयसम्म इन्दिरा र फिरोज अलगथलग बस्न थालिसकेका थिए । धेरैले सञ्जय कूटनीतिज्ञ मोहम्मद युनुसतर्फको छोरा भन्ने दाबी गर्छन् । युनुस सञ्जयले गैरमुस्लिम युवतीसित बिहे नगरोस् भन्ने चाहन्थे तर सञ्जयले सिख केटी मानेकासँग बिहे गरे । मानेकासित बिहे गरेपछि युनुस क्वांक्वां रोएका थिए रे ! उनी दोस्रोपटक सन् १९८० को जुनमा सञ्जयको विमान दुर्घटनामा मृत्युु भएको समयमा रोए । फिरोजको ४८ वर्षको उमेरमा सन् १९६० मा निधन भएको थियो ।

यौनप्रति कुनै त्यस्तो आशक्त हुने नगरेको इन्दिरा आफैँ बताउँथिन् तर वस्तविक जीवनमा भने उनले धेरै पुरुषसित सम्बन्ध गाँसे । पिता जवाहरका निजी सहायक भई काम गरेका एमओ माथाइले त पुस्तक नै लेखी इन्दिरा र उनको १२ वर्ष लामो अन्तरसम्बन्ध रहेको सार्वजनिक गरिसकेका छन् । ‘माई डेज विथ नेहरू’ को अध्याय २९ को शीर्षक छ ‘तिनी’ । इन्दिराकै बारेमा रहेको उक्त अध्यायमा उनले दुवैको सम्बन्धबारे खुलस्त पारेका छन् । यहाँसम्म कि उनले इन्दिरा र उनको ओछ्यानमा हुँदाको सम्म बयान गरेका छन् । लेखेका छन् – इन्दिरा मलाई मायाले भूपत (डाकुको नाउँ) र म उनलाई पुतली भनेर बोलाउँथे । फिरोज हाम्रो सम्बन्धलाई मन पराउँदैनथे । मेरो तर्फबाट इन्दिराले पटक–पटक पेटसमेत बोकिन् तर पछि गर्भपात गराइन् । पुतली ओछ्यानमा असाधारण तरिकाले राम्री बन्थिन् । पुरुषको जस्तो तागत निकाल्थिन् । यौन समागमको विषयमा उनलाई फ्रान्सिसी र केरलाका महिलासरह सबै कलाको ज्ञान थियो । उनी प्रायः मलाई कस्सेर अँगालो हालेर बस्न र लामो चुम्बन मन पराउँथिन् । उनको क्लियोपेट्राको जस्तो नाक, पाउलिन बोनापार्ट (इटलीका राजकुमारी) को जस्तो आँखा र भिनस (रोमनहरूका यौनकी देवी) को जस्तो स्तन थियो ।’

इन्दिराले अन्तरंग सम्बन्ध गाँसेका अर्का पुरुष हुन् – योग गुरु धीरेन्द्र ब्रह्मचारी । माथाईका अनुसार उनले आफ्नै आँखाले देखेका थिए दुबैलाई इन्दिराको शयनकक्षमा । इन्दिराको प्रधानमन्त्रीकालमा निकै शक्तिशाली बनेका उनै ब्रह्मचारीका कारण आफ्नो र इन्दिराको सम्बन्धमा चिसोपना आएको बताउँछन् उनी । हुन पनि, ब्रह्मचारीमा बेरोकटोक इन्दिराको शयनकक्षमा छिर्न सक्ने ‘पावर’ थियो । इन्दिराले अमेरिकी फोटोग्राफर डोरोथी नोम्र्यानलाई लेखेको एउटा पत्रमा उनै ब्रह्मचारीबारे उल्लेख गरेकी छन्, ‘उनको भव्य शरीरप्रति आकर्षित भएको थिएँ ।’

इन्दिराबारे पुस्तक लेखेकी क्याथरिन फ्रान्क लेख्छिन्, ‘ब्रह्मचारी एक्लो पुरुष हुन् जो इन्दिरा एक्लो भएको बेला कोठामा आउन जान पाउँथे । अग्लो र हृष्टपुष्ट बिहारी उनले हरेक दिन एक घण्टा इन्दिरासँग बन्द कोठामा बसेर योगा गर्थे । ब्रह्मचारीलाई आफ्नो जीवनमा प्रवेश गर्न दिइएपछि इन्दिराले अरु कोही पुरुषलाई टेरिनन् ।’

वरिष्ठ पत्रकार खुशवंत सिंहका अनुसार उनीहरूको संयुक्त योगाभ्यास पछि गएर कामसूत्रमा परिणत भएको थियो । उनका अनुसार प्यारो छोरा सञ्जय गान्धीको मृत्युपश्चात बुहारी सोनिया गान्धीको लहलहैमा लागेर इन्दिराले सञ्जयकी पत्नी मानेकालाई घरबाट निकालिदिइन् । त्यो बेला इन्दिरा विक्षिप्तजस्तै बनेकी थिइन् र त्यस्तो अवस्थाकी इन्दिरालाई धीरेन्द्रले सम्हाल्दै शयनकक्षमा लगेका थिए । धीरेन्द्रसित इन्दिराले शारीरिक सम्बन्ध राख्ने गरेको समाचार त्यो बेलाको सबै भारतीय मिडियाले छरपस्ट पारेका थिए ।

स्वामी धीरेन्द्रलाई पण्डित जवाहर नेहरूले सन् १९६० मा छोरी इन्दिराका लागि योगा गुरूमा नियुक्त गरेका थिए । पछि इन्दिराको अन्तरंग मित्र बनेपछि धीरेन्द्रले इन्दिरामार्फत राजनीतिमा हस्तक्षेपसमेत गर्न शुरु गरे । इन्दिराले विपक्षीहरूलाई दमन गर्न थालिएको ‘आपातकाल’ मा उनी झन् शक्तिशाली बने । एक किसिमले प्रधानमन्त्री इन्दिरा गान्धीको प्रमुख सल्लाहकारजस्तै बने । शक्तिको दुरूपयोग गरे । अवैध रूपमा जम्मुमा बन्दुक बनाउने कारखानासमेत सञ्चालन गरे । हतियारको व्यापार गरे । जग्गा–जमिन हडपे । निकै विवादास्पद बने । उनी निजी विमानमा सवार गर्थे । सन् १९९४ मा विमान दुर्घटनामा मारिएपछि मात्र बल्ल भारतीय जनताले सन्तोषको स्वास फेर्न पाएका थिए । स्मरणीय छ, इन्दिरा गान्धीको मृत्यु सन् १९८४ मा हत्याबाट भइसकेको थियो ।


प्रतिक्रिया दिनुहोस !