टी–२० विश्वकप छनोट : पहिलो खेलमै नेपाल पराजित

टी–२० विश्वकप छनोट : पहिलो खेलमै नेपाल पराजित

यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग पराजय ब्यहोरेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरु भएको खेल हङकङले ६ विकेटले आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले दुई ओभर बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३ विकेटको क्षेतिमा १ सय ४ रन जोडेको थियो ।

कम्जोर शुरुआत गरेको नेपालका लागि सिता मगर र इन्दु बर्माले ७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए । सिताले ४० र इन्दुले नटआउट ३१ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो पदर्शन गर्न सकेनन् । नेपालले पहिलो ओभरको दोस्रो बलमा ओपनर कबिता कुँवरलाई शुन्य रनमा तथा सात ओभर पाँच बलको खेल सकिँदा २४ बल खेलेर ४ रन जोडेकी काजल श्रेष्ठलाई दोस्रो विकेटको रुपमा गुमाएको थियो भने अन्तिम बल खेल्न मैदान उत्रेकी कप्तान रुविना क्षेत्रीले २ रन जोडेकी थिइन् ।

यस्तै, बलिङतर्फ नेपालका लागि कबिता कुँवर, सिता मगर र सबनम राईले समान १ विकेट लिए । हङकङको जीतमा मारिको हिलले नटआउ सर्वाधिक ४४ रन जोडिन् । नतासाले १६, क्यारी क्यान १७, सञ्जिन ७ तथा इमा लाईले १३ रन जोडे । नेपाललाई सस्तैमा रोक्न हङकङकी क्यारी छन र आईक्यूर सहरले समान १ विकेट लिएका थिए ।

नेपालले दोस्रो खेलमा भोलि भुटानसँग खेल्दैछ । त्यस्तै, बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार यूएईसँग खेल्ने छ ।

टिप्पणीहरू