कोरोनाले अष्ट्रेलियाको अर्थतन्त्र हल्लायो

कोरोनाले अष्ट्रेलियाको अर्थतन्त्र हल्लायो

अष्ट्रेलिया सरकारले कोरोना महामारीका कारण विदेशमा रोकिएका विद्यार्थी र विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने भएको छ । महामारीलाई देखाउँदै सन् २०२० को मेदेखि अन्तर्राष्ट्रिय सीमानामा लगाएको प्रतिबन्ध हटाउन लागिएको हो ।

अष्ट्रेलियाले डिसेम्बर १ देखि लागू हुनेगरी यात्रा प्रतिबन्ध हटाउने भएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनका अनुसार डिसेम्बरदेखि प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लगिने छ ।

उसले भिसा पहिले पाएकाहरुलाई प्राथमिकताको आधारमा प्रवेश दिने बताएको छ । अब कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप लगाएका र अष्ट्रेलियाको भिसा भएका जो पनि अस्ट्रेलिया प्रवेश गर्न पाउने छन् ।

दुबै खोप लगाएका जापानी र कोरियाली नागरिकहरुलाई भने क्वारेन्टाइन बस्न पर्दैन । अन्य देशका पर्यटक, दक्ष कामदार, अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने छन् । तर उनीहरुले क्वारेन्टाइन बस्नैपर्छ । अष्ट्रेलिया प्रवेशका लागि खोपको पूर्णमात्रा लगाएको र प्रस्थानभन्दा तीन दिन अगाडि आरटी पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

अस्ट्रेलियाका विभिन्न क्षेत्र तथा प्रान्तमा कायम रहेको फरक नियमका कारण सोही अनुसारको व्यवस्था पालना गर्नुपर्ने समेत बताइएको छ । त्यहाँको न्यू साउथ वेल्स, भिक्टोरिया तथा राजधानी क्षेत्रमा यात्रुहरुले बिना क्वारेन्टाइन प्रवेश पाउँछन् ।

विदेशी पर्यटक र विद्यार्थीको आगमन सुक्दै गएपछि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नाका खुला गर्न लागेको हो । कोरोनाका कारण अष्ट्रेलियाको अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ ।

टिप्पणीहरू