केपीले कसलाई कोट्याउनुभयो,कसको नाडी छाम्नुभयो ?

केपीले कसलाई कोट्याउनुभयो,कसको नाडी छाम्नुभयो ?

शुक्रबारदेखि शुरु हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी भइरहँदा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत अध्यक्षको निम्ति अनेक जोड घटाउमा लाग्नुभएको छ । हिजो दिउँसो उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गरेपछि उहाँको सर्वसम्मत हुने चाहनालाई भने धक्का पुगेको छ ।

सबै परिस्थितिलाई सुक्ष्म अध्ययन गर्दै आउनुभएका ओलीले वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेललाई नदिएर रावललाई अध्यक्षको उम्मेदवार हुनबाट जोगाउने अन्तिम अस्त्र अझै बाँकी छ । तर,महासचिव ईश्वर पोखरेल र पूर्वमाओवादी रामबहादुर थापा बादललाई माइनस गरेर अहिलेको अवस्थामा रावललाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिनसक्ने अवस्थामा उहाँ नरहनुभएको एमाले स्रोत बताउँछ ।

महाधिवेशनको पाँच दिन अघिसम्म कसले कुन पद पाउँदैछन् भन्ने कुरोको सुईंको समेत नदिनुभएका अध्यक्षले हिजोदेखि असन्तुष्ट खेमाका धेरैजसो नेतालाई छुट्टा छुट्टै भेटेर उनीहरुको नाडी छाम्न थालेको बालकोट स्रोतले जनआस्थालाई बताएको छ । स्रोत भन्छ,‘एक एकलाई बोलाएर कोट्याउँदै,नाडी छाम्दै हुनुहुन्छ । १० भाइमध्येकाहरु पनि पद व्यवस्थापनको ज्ञारेण्टी खोज्दै बालकोट धाउने क्रम जारी छ ।’

त्यहि क्रममा आफ्नै खेमाका सुर्खेती नेता यामलाल कँडेलसहितलाई हिजो बिहान भेटेर तिनका पीरब्यथा सुन्नुभएको थियो । लगत्तै पूर्वमन्त्री तथा कास्केली नेता खगराज अधिकारीको पालो आयो । उहाँसँग पनि झण्डै डेढ घण्टा कुरा गर्नुभएको स्रोतले बताएको छ ।

अधिकारीपछि ६१ दिन मात्रै १ नम्बर प्रदेशको मुख्यमन्त्री भएका भीम आचार्यले अध्यक्ष ओलीसँग हिजै एक घण्टा भेटेर आफ्नो भविष्य के हुने भनी कुरा राख्नुभएको थियो । यो क्रम आज पनि जारी रहने बताइन्छ ।

टिप्पणीहरू