रामदेवको टेलिभिजन विवादमा, पत्रकार महासंघले भन्यो ‘गैरकानुनी’

रामदेवको टेलिभिजन विवादमा, पत्रकार महासंघले भन्यो ‘गैरकानुनी’

नेपाल पत्रकार महासंघले पतञ्जलि योगपीठले अस्ति काठमाडौंमा उद्घाटन गरेको टेलिभिजन च्यानल गैरकानुनी भएको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको उक्त टेलिभिजनको बैधानिकता सम्बन्धमा पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको प्रचलित कानुनले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतको पतञ्जलि योगपीठले टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन हो ।’विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यम समेत भएको स्मरण पनि गराइएको छ । उसले दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्नु कानुनविपरीत भएको बताउँदै राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिकाको सन्दर्भलाई गम्भीर ढंगले उठाएको छ ।

सञ्चारक्षेत्रमा गरिएको विदेशी लगानीले स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि नै आँच पुगेको पनि महासंघले जनाएको छ । उसले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष समेत निकालेको छ ।

टिप्पणीहरू