हामी काेही पनि कम्युनिष्ट हाेइनाैँ

हामी काेही पनि कम्युनिष्ट हाेइनाैँ

मानुषी यमी भट्टराई, डा.बाबुराम–हिसिलाकी छोरी

एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए, भूमिगत हुँदा बाबुराम कसरी लण्डन गए ? त्यहाँ छोराछोरी पढाउने पैसा कहाँबाट ल्याए ? उक्त प्रश्न गरिएकी पात्र बाबुरामपुत्री मानुषी यमी भट्टराईले तत्काल यसको खण्डन गरिन्, पढ्नलाई बेलायत गएको हैन भनेर । हामीले उनै मानुषीलाई भेट्टायौँ, झोला बोकेर लुखुरलुखुर हिँडिरहँदा ।

जनता समाजवादी पार्टीको केन्द्रीय सदस्यको भूमिकामा छिन् उनी । पार्टीको बाग्मती प्रदेशको सचिव पनि । गत भदौदेखि संगठन सृदृढीकरण अभियानअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र ७ को संयोजन गरिरहेकी छन् । ०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियनकी सचिव, कार्यवाहक सभापति हुँदा विश्वविद्यालय सुधारका लागि धेरै यत्न गर्ने विद्यार्थी नेत्री हुन् उनी । माओवादी जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी सचिवालय सदस्यको रूपमा समेत काम गरिसकेकी उनी जेकेन्द्र श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनकै छिमलका विद्यार्थी राजनीति गरेकाहरू प्राडो र पजेरोमा हुइँकिएर महँगो जीवनशैली बाँचिरहँदा यमी प्राध्यापनबाट जीविकोपार्जन गरिरहेकी छन् ।

– हरि गजुरेल

 विद्यार्थी आन्दोलन किन मुर्झायो ?

– अहिले राजनीतिक दल शक्तिशाली छन् । राज्यभन्दा पनि शक्तिशाली हुने अवस्थामा छन् । जतिबेला दलहरू खुलेर सडकमा पुग्न सक्दैन थिए, त्यो कालखण्डमा प्रत्येक आन्दोलन विद्यार्थीले लड्नुपथ्र्यो । अहिले दल आफँै, युवा, किसानलगायत विभिन्न जनसंगठन सडकमा आउँछन् । त्यसैले विद्यार्थी संगठनको राप र ताप पहिलाजस्तो नदेखिएको हो । तर, अहिलेका आन्दोलन पनि चलाउनेचाहिँ विद्यार्थीहरूले नै हो । मूल्यवृद्धि विरुद्ध विद्यार्थी बोल्दै आएका छन् । यद्यपि, प्रभाव पहिलाजस्तो रहेन । विद्यार्थी आन्दोलन सम्झौतापरस्त हुँदै गए । माउ पार्टी सत्तामा हुँदा र नहुँदा फरक चरित्र देखाउने भएका कारण विद्यार्थी आन्दोलन प्रभावकारी नभएको जस्तो देखिन्छ ।

कुनै समय विद्यार्थी आन्दोलनको लिडर तपाईं । कसरी अगाडि बढ्नुपर्छ विद्यार्थी आन्दोलन ?

– मूलतः राजनीतिक, वैचारिक सम्बन्ध हुन सक्छ । अलि बढी स्वयतता हुनुपर्छ । विद्यार्थी संगठन भनेको सदैव प्रतिपक्षी रहनुपर्ने छ । पार्टीभित्र गलत प्रवृत्ति हाबी भएको खण्डमा आवाज उठाउने, विद्रोह गर्ने खालको हुनुपर्ने हो । अहिले आफ्नो राजनीतिक दलले जे बोले त्यही सुगा रटाइ गर्ने खालको बन्यो । सांगठनिक, विधान र व्यवहार साथैं कार्यान्वयनमा पनि स्वायत्त र स्वतन्त्र हुनुपर्छ माउ पार्टीभन्दा । नेतृत्व पुरानै हुनुहुन्छ, आमरूपमा आमविद्यार्थीको नेतृत्व गर्न सकेजस्तो लाग्दैन ।

माओवादीले जुन शिक्षा प्रणालीलाई बुर्जुवा भन्यो । त्यही शिक्षा प्रणालीमा लिनुभयो । समग्रमा नेपालको शिक्षा प्रणाली कस्तो पाउनुभयो ? कसरी सुधार्ने ?

– दुई वर्ष भए पनि बेलायतमा पढ्दा, भारतका विभिन्न ठाउँका प्रायः सरकारी शैक्षिक संस्थामा पढ्दा र नेपालको हेर्दा हाम्रो शैक्षिक प्रणाली उदेकलाग्दो छ । देशलाई आर्थिक रूपमा विकास गर्ने हो समृद्धिको दिशामा लैजाने हो भने सबैभन्दा पहिला हाम्रो शैक्षिक संस्था सुधार्न र पूर्ण रूपमा रूपान्तरण नगरेसम्म असम्भव देख्छु । हाम्रो शैक्षिक प्रणाली रट्नेमा मात्र केन्द्रित भयो । हाम्रो पढाउने स्टाइललाई विविधिकरण गर्न सकेका छैनौं । म आफैं विद्यार्थी आन्दोलनबाट आएको, एउटा राजनीतिक आन्दोलनबाट आएको र अध्ययनमा एकदमै रुचि राख्ने व्यक्ति भएका कारण शैक्षिक संस्था रूपान्तरण मेरो पहिलो प्रथामिकतामा पर्छ ।

 विद्यार्थी राजनीतिले हाम्रा विश्वविद्यालय ध्वस्त पारे भन्ने आरोप लाग्दै आएको छ । मान्नुहुन्छ ?

– एकतर्फी भाष्य बन्यो नेपालमा । त्यति मात्र भनेर हामी उम्कन पाउँदैनौँ । मुख्य गल्ती त राज्यकै हो सरकारी शैक्षिक संस्था ध्वस्त बनाउनुमा । भीसी, पदाधिकारी, क्याम्पस चिफ, प्राध्यापक, डिर्पाटमेन्ट हेड, सेवा आयोगमा नाम निकाल्ने, सरुवा वा बढुवा सबै कुरामा राजनीति हस्तक्षेप छ । स्ववियु निर्वाचन नभएको यतिका वर्ष भयो, शैक्षिक संस्थामा केही सुधार आएको छ र ? यसैबाट थाहा हुन्छ, मुख्य बाधक स्ववियु, विद्यार्थी होइनन् । अपावद बाहेकका केही डिपार्टमेन्टमा प्राध्यापकका पहलका कारण केही सुधार आएको छ तर परीक्षा प्रणाली, पाठ्यक्रमका केही रूपान्तरण आएको छैन । अहिले पनि टियुको दुई वर्षे कोर्स तीन वर्ष वा चार वर्ष नभई सर्टिफिकेट पाइँदैन । यसमा त स्ववियु बाधक छैनन् ।

तपाईंकै छिमलका विद्यार्थी राजनीति गर्नेहरू कोही प्राडो, पजेरो चढ्ने भए । कोहीले त्यही राजनीतिको आडमा काठमाडौंमा महल ठड्याए । तपार्इं आफ्नो खाइजीविकाका लागि अहिले पनि प्राध्यापन गर्दै हुनुहुन्छ । विद्यार्थी राजनीतिलाई धेरैले कमाइखाने भाँडो बनाएका कारण यो बदनाम भयो भन्छन् । स्विकार्नुहुन्छ ?

– म स्ववियुमा आउनुअघि एकदमै अपारदर्शी थियो । टियुमा पैसा खान गाह्रो काम रहेनछ भन्ने थाहा पाइयो । मेरो बाबा, आमाको पहिचानका कारण कसैले मेराअगाडि आँट गरेनन् । केन्द्रीय क्याम्पसमा हामी गएपछि पहिलो पटक फि घटाइएको थियो । आज राम्रो मान्छे आउला, भोलि नराम्रो मान्छे आउला त्यही कारण सिष्टम बलियो बनाउनुपर्छ । अर्काेचाहिँ जनस्तरबाट दण्ड र सजायको व्यवस्था हुनुपर्छ । भ्रष्टाचारीलाई पुरस्कृत, भ्रष्टाचार नगर्ने तिरस्कृत हुनेक्रम बढ्दो छ । जुनसुकै तरिकाले होस पैसा कमाउने मान्छे नै शक्तिशाली हुने परिपाटी निर्माण भइरहेको छ । यो परिपाटी रहेसम्म असल नियतले राजनीतिमा आउनेहरू तिरस्कृत हुनुपर्ने स्थिति छ ।

१७ महिनाअघि तपार्इंको बेबी बम्पले बजार पिट्यो । गर्भको पेट प्रदर्शन गर्नुपर्ने त्यस्तो बाध्यता कि के आइलाग्यो ?

– धेरै चर्चाको विषय बनाउनुपर्ने आवश्यक थिएन । हामी आधुनिक युगमा बाँचिरहेका छौं भन्छौं, आफूलाई । आफ्नो सन्तान पेटमा हुँदा खुसी हुने, उत्सव बनाउनु स्वाभाविकै हो । यस्तो विषयलाई समाजले हस्तक्षेप गर्ने, मर्यादासँग जोड्ने । महिला भूमिका सदैव परम्परागत हुनुपर्छ भन्ने कुरा अहिलेको पुस्ताले पचाउँदैन । अग्रगामी सोच राख्ने र पश्चगामी सोच बोक्नेहरूबीचको द्वन्द्व देखिएको मात्र हो । माओवादी आन्दोलनबाट आउनुभएको एक जना साथीले प्रियंका कार्कीको बेबी बम्पलाई अभद्र भन्नुभयो । जबकि मेरो बाबाले प्रियंकाको सपोर्टमा ट्विट गर्नुभएको थियो । काउण्टरमा उनले मेरा बाबालाई सक्नुहुन्छ भने आफ्नो छोरीलाई पनि बेबी बम्ब गर्न लगाउनू भन्नुभयो । यस्तो कुरामा तथाकथित कम्युनिष्ट, वामपन्थीहरू रुढीवादी हुनुहुन्न । वामपन्थीहरू प्रगतिशील हुनुपर्नेमा उहाँहरूमै रुढीबादी चेतना देखिएपछि मैले प्रदर्शन गरेको हो ।

 केपी ओलीले केही साताअघि तपाईंले बेलायतमा अध्ययन गर्नुभएको प्रसंग निकाल्नुभएको थियो । उहाँको आरोपमा कत्तिको सत्यता छ ?

– एउटा जिम्मेवार दलको अध्यक्ष, पूर्वप्रधानमन्त्रीको मुखबाट यस्तो झुटो कुरा आउनु चिन्ताजनक विषय हो । मैले खण्डन पनि गरिसकेँ । कोही नेताले यस्ता विषयलाई सनसनीपूर्ण बनाउने, ताली पड्काउने कुरा मात्र बनाउनेभन्दा पनि नेताहरूको जीवनशैली आर्थिक सोचबारे राम्रै सोच र बहस हुनुपर्छ भन्ने लाग्छ । समग्र रूपमा हाम्रो राजनीतिक दलका नेताको सन्तान कसरी जीवनयापन गरिरहेका छन् ? आमजनताको चासो हुनु राम्रो हो । ०४९ सालमा आमा स्कलरसिपमा छनोट हुनुभयो । म एक्ली छोरी, बुबाले हेर्न सक्ने अवस्था थिएन । त्यो बेला एम्बेसीले पुरुषले स्कलरसिप पाउँदा परिवार लिएर जान पाउँथ्यो तर मेरो ममीले स्कलरसिप पाउँदा परिवार लैजान दिएन । ममीले ठूलो संघर्ष गर्नुप¥यो । छोरीलाई लान दिनुहुन्न भने म पनि जान्नँ भन्ने ममीको अड्डीपछि एम्बेसी गल्यो । मैले तीन–चार कक्षाचाहिँ बेलायतमा पढेको हुँ । ०५१ सालमा त हामी नेपाल फर्कियौं ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री ओलीको टार्गेट बाबुराम भट्टराई वा प्रचण्डप्रति बढी देखिन्छ । किन होला ?

– माओवादी आन्दोलनबाट आज गणतन्त्र, संघीयता, समावेशितालगायत उपलब्धि हामीले गरेका छौं । यी उपलब्धिसँग जोडिने पात्र हुन् माओवादी आन्दोलनका अगुवा प्रचण्ड र बाबुराम । गत वर्षदेखिको ओली सरकारको गतिविधि, काण्ड, नेकपा गठन हुँदादेखि नै बाबुराम भट्टराईले त्यो ठीक छैन । ओली प्रवृत्ति भनेको भष्मासुर प्रवृत्ति भन्दै आउनुभएको थियो । प्रचण्ड माधव नेपाल चुप रहँदा पनि निरन्तर खबरदारी गरिरहने व्यक्ति हुनुहुन्थ्यो बाबुराम भट्टराई । त्यसैले गर्दा बाबुराम भट्टराईलाई तारो बनाउनुभएको हो कि जस्तो लाग्छ ।

 तपार्इंको शिक्षा स्थिर भएन । बेलायत, भारत हुँदै नेपालका शिक्षालयबाट भयो । अध्ययनका क्रममा कतिको दुःख भुक्तमान गर्नुप¥यो ?

– कति अपांग छन् । कतिपय गोलीका छर्रा बोकेर हिँड्नुभएको छ । शहीद, बेपत्ताका परिवारका अगाडि मैले दुःख पाएँ भन्न त पटक्कै सुहाउँदैन । बा आमाबाट १० वर्षको उमेरदेखि अलग रहेर हिँडे । धेरैजसो सीमापारिका नेपाली कामदार, मजदुरी गर्नेहरूले राख्नुभयो । सुरक्षाको थ्रेट त हुन्थ्यो । बा आमासँग टाढा रहनुपर्ने र आफ्नो परिचय लुकाउनुपर्ने स्थितिथ्यो । बाँचे र सँगसँगै अध्ययन गर्न पाए । नर्सरीदेखी केजीसम्म काठमाडौंकै स्वर्णिम स्कुल, नवज्योति स्कुलबाट १ र २ र बेलायतको हट्सपर स्कुल र न्युक्यासलस्थित क्राइस्ट चर्च स्कुलबाट कक्षा ३ र ४, ५ काठमाडौंमै त्यसपछि कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स् स्कुल । ८ देखि १० सम्म दार्जिलिङ पेदोङस्थित सेन्ट जर्जेज् स्कुल । १० कक्षापछि पार्टीको औपचारिक सदस्यता लिएर प्रवास कमिटीमा काम गर्न थालेको हुँ । ११ र १२ को पढाइचाहिँ नयाँदिल्लीस्थित नवयुग स्कुल, दिल्ली विश्वविद्यालयअन्तर्गतको लेडी श्रीराम कलेजबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र इतिहास विषयमा स्नातकोत्तर पूरा गरेको हुँ । सन् २०१६ मा दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट राजनीतिक अध्ययन विषयमा एमफिल पूरा । सापेक्षिक रूपमा मेरो दुःखलाई दुःख भन्न मिल्दैन । मैले जे–जति सुविधा र अवसर पाएँ, राजनीतिमा म जति समय सक्रिय हुन्छु त्यो अवधिभर आफ्ना साथीहरूको बलिदानी बिर्सनुहुन्न, शिक्षाप्रति घमण्ड गर्नुहुन्न । अवसर पाएको सुविधा अरुले कसरी लिन सक्छन् भन्ने सदैव बोध हुन्छ ।

नयाँ विद्यार्थी र युवालाई राजनीतिमा तान्न के–कस्ता कार्यक्रम छन्, तपाईंहरूसँग ?

– म अहिले विद्यार्थी संगठनभन्दा भूगोल संगठनमा सक्रिय छ । स्थानीयस्तरका जनतालाई कहाँ समस्या वा मर्का परेको छ त्यसैमा केन्द्रित छौं । तपार्इंहरूको समस्या पर्दा हामी साथैमा छौं भन्ने आभाष दिलाउने ढंगले काम गरिरहेका छौं ।

तपाईंको बुवाले वाम आन्दोलनलाई उत्कर्षमा पु¥याउनुभयो । माओवादी छाडेर, नयाँ शक्ति हुँदै अहिले जनता समाजवादी पार्टी निर्माण गर्नुभएको छ । वाम आन्दोलनबाट उहाँले अहिले अर्कै धार पकड्नुभएको छ । कतिपयले बाबुरामलाई राजनीतिमा अस्थिर खेलाडी भन्छन् । कसरी लिनुहुन्छ ?

– संसारमा केही चिज स्थायी छ भने परिवर्तन मात्र हो । विज्ञान, समाजको नियम त्यही हो । कतिपयले बाबा जता लाग्यो छोरी उतै लाग्यो भन्छन् । बाबाले नयाँ शक्ति शुरु गर्नुअगावै माओवादीमा देखिएको दुई लाइन संघर्ष अस्वस्थ ढंगले अगाडि बढेको थियो । माओवादी पार्टीबाट अलि टाढा भइसकेको थिएँ म आफैं पनि । बाले नयाँ शक्ति अभियान घोषणा गरेपछि म पनि उत्साहित भएको हुँ ।

म सचेत राजनीतिशास्त्रको विद्यार्थी । क्षितिजपारि अरूले देख्न नसकेको कुरा बाबुराम भट्टराईले देख्नुहुन्छ । संविधान संशोधनको ‘स’सुन्न नचाहने मान्छेहरू अहिले संविधान संशोधनको लाइनमा आएका छन् । मधेस, थारूको मुद्दालाई अपराधीकरण गर्नेहरू अहिले ती मुद्दा जायज रहेछन्, सम्बोधन हुनुपर्छ भन्ने ठाउँमा आपइपुगेका छन् । ओली प्रवृत्ति भष्मासुर प्रवृत्ति हो भनेर उहाँले पहिल्यैदेखि भन्नुभएको हो । अहिले केही महिनादेखि सबै ओलीका भष्मासुर प्रवृत्तिकै चर्चा गर्दै छन् । उहाँले धेरै पहिल्यै समाजवादी धारको चर्चा गर्न थाल्नुभएको हो । अहिले माधव नेपालहरू त्यहीँ आइपुग्नुभएको छ । कालान्तरमा बुवाले भनेकै लाइनमा आइपुग्दा रहेछन् ।

तपाईंले लामो समय कम्युनिष्ट राजनीति गर्नुभयो । अहिले जनता समाजवादी पार्टीको केन्द्रीय सदस्यको भूमिकामा हुनुहुन्छ । तपार्इं अब कम्युनिष्ट रहनुभयो कि भएन ?

– कम्युनिष्ट त हामी कोही पनि छैनौं । जसले आफूलाई कम्युनिष्ट पार्टीका भन्छौं, कम्युनिष्ट बन्ने लक्ष्य राखेका मात्र हौं । नेपालको सन्दर्भमा कम्युनिष्ट एकदमै विकृत भएको ब्राण्ड । कम्युनिष्टहरू आफूलाई कम्युनिष्ट भन्न लजाउनुपर्ने स्थिति छ । जतिसुकै कुहिए पनि जतिसुकै गन्हाए पनि त्यो कम्युनिष्ट भन्ने ब्राण्डलाई बोकिराख्छु भनेर म सक्दिनँ । म माक्र्सवादी पद्धति मान्ने व्यक्ति हुँ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकको सहयोग लिन्छु आज पनि राजनीतिमा । यद्यपि, त्यो दशकौंअघि विकास भएको हो त्यसलाई हुबहु नेपालमा लागू गर्नुपर्दछ भन्ने मलाई लाग्दैन ।

 नेपालको कम्युनिष्ट धार किन भुत्ते भयो । वाम एकता किन टिक्दैन ?

– वामपन्थीको मुख्य सिद्धान्त कसरी बन्यो ? त्यसलाई नेपालको सन्दर्भमा जसरी ढाल्न खोज्यौं त्यसमा केही खोट देख्छु । विशुद्ध प्रयोगात्मक हिसाबले मात्र लिइयो । दोस्रो, एकदमै केन्द्रिकृत भयो कम्युनिष्ट पार्टी । त्यही कारण एकता धेरै नटिक्ने फुटिहाल्ने । नेताहरूमा इगो बोकिराख्ने परिपाटी भयो । नेतृत्व कहिल्यै हस्तान्तरण नहुने, आजीवन बसिरहनुपर्ने यसले गर्दा कम्युनिष्ट पार्टी धेरै टिक्छ भन्ने लाग्दैन ।

 पार्टी, संगठनबाहेक अरू के गर्नुहुन्छ ?

– थेम कलेजमा पढाइरहेकी छु ।

टिप्पणीहरू