भएजति भर्ती भरिभराउ

भएजति भर्ती भरिभराउ

प्रधानमन्त्रीलाई अहिलेसम्म सल्लाहकारहरू चाहिएको छैन । तर, मन्त्रीहरूले त्यस्ता सल्लाहकार भरिभराउ पारिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयमा प्रशासनिक सल्लाहकारका रूपमा जनार्दन नेपालबाहेक कोही नियुक्त गर्नुभएको छैन । प्रेस सल्लाहकारका रूपमा अघोषित रूपमा गोविन्द परियार, यम विरही, विजय अधिकारीले सघाइरहेका छन् ।

तर, प्रधानमन्त्रीभन्दा अघि बढेर मन्त्रीहरूले भटाभट सचिवालय भरिसकेका छन् । कतिपय मन्त्रीले आवश्यक नहुने राजनीतिक र प्रेस सल्लाहकार लगेर सचिवालय भर्न भ्याएका छन् । जसमध्ये एक हुन् उमाकान्त चौधरी । कृष्ण सिटौलाको कोटाबाट मन्त्री बनेका चौधरीले राजनीतिक सल्लाहकारको रूपमा नारायण अधिकारीलाई नियुक्त दिएका छन् ।

प्रेस सल्लाहकारको जिम्मेवारी लीलाराज खनाललाई दिइएको छ । तर, उनको हातमा नियुक्ति पत्र पुगेको छैन । यस्तै दीपकमणि पोखरेल, कृष्ण चौधरी, पप्पु राय सम्मिलित सचिवालय बनेको छ । रक्षामन्त्री मीनेन्द्र रिजालले निजी सचिवमा सुशील आचार्य, स्वकीय जितेन्द्र ठकुरी र अधिकृत सुनिता भण्डारी सम्मिलित सचिवालय बनाएका छन् ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले निजी सचिवमा गजेन्द्र सिंह भट्ट, प्रमुख स्वकीय केशरसिंह भण्डारी, कृष्णसिंह महत, महेवा जोशीलाई समेटेर सचिवालय बनाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले निजीमा रेकान्त भट्टराई, स्वकीयमा सुरज महर्जन र कार्यालय सहयोगी कमला सुनुवारसम्मिलित सचिवालय बनाइएको छ ।

भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले निजी सचिव विष्णु पौडेल, प्रकाश दुलाल, प्रेस संयोजक तुलसी सापकोटा, स्वकीय अशोक महर्जन र विभन मादिप बानियाँ सम्मिलित सचिवालय बनाइएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको स्वकीय सचिवमा माधव तिमिल्सिना, निजी सचिवमा मधु मिजार, कोश थापा, स्वकीय सुरज थापा र प्रेस सल्लाहकार शान्तराम बिडारी नियुक्त दिने कुरा छ । कृषिमन्त्री महिन्द्र राय यादवको निजी सचिवमा डा दिनेशकुमार यादव, स्वकीय सचिवमा धीरेन्द्र यादव, समीर प्रजापति र राजु कायरले भरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आफ्नो सचिवालयमा रोल्पाका ६ जना लगेर भरेका छन् । शर्माको जिल्ला रुकुमका एकै परिवारका ५ सदस्य अर्थ मन्त्रालयमा कार्यरत छन् । मन्त्री शर्माले रमेशकुमार केसी, दिलीप केसी, कृष्णबहादुर केसी, सुवर्णप्रभा केसी र ईश्वरी केसी ल्याएर आफ्नो सचिवालय भरेका छन् । उनीहरू एकाघरका हुन् । अधिकृत कृष्णबहादुर केसी मन्त्री शर्माको निजी सचिव, उनको बहिनी सुवर्णप्रभा केसी नायब सुब्बा छिन् । उनलाई पनि मन्त्रीको सचिवालयमा राखिएको छ ।

उपसचिव दिलीप केसीकी श्रीमती ईश्वरी केसी पनि अर्थ मन्त्रालयअन्तर्गत नै तानेका छन् । त्यहाँ रोल्पाकै उपसचिव अर्जुन भण्डारीलाई गृहमातहतको लागुऔषध विभागबाट तानेर अहिले जनार्दन शर्माले आफ्नो सचिवालयमा लगेका छन् । पर्यटनमन्त्री प्रेमबहादुर आलेको सचिवालयमा विमल विष्ट र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सचिवालयमा शिवलाल सुवेदी प्रेस संयोजक नियुक्त भएका छन् ।

टिप्पणीहरू