आज पनि न्यायाधीशहरु भित्र, वकिलहरु बाहिर

आज पनि न्यायाधीशहरु भित्र, वकिलहरु बाहिर

आज पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसहित सबै मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज संयुक्त र एकल १० वटा इजलास गठन गरि ३ सय ३४ वटा मुद्दामा पेसी तोक्नुभएको हो । प्रधानन्यायाधीशले आज पनि आफ्ना लागि पेसी तोक्नुभएको छैन ।

सर्वोच्चका न्यायाधीशहरुको बिहीबारको पूर्णबैठक (फूलकोर्ट) ले गोला प्रणालीसहितको नियमावली पास गर्ने निर्णय गरेको थियो । त्यसपछि इजलास बहिष्कार गर्दै आएका आन्दोलित न्यायाधीशहरु बेञ्चमा फर्कन तयार भएका हुन् ।

यसअघि अदालतका १९ जना न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरेका थिए । सोही कारण झण्डै एक महिनादेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ नै भएन । त्यसबाट हजारौं सेवाग्राही मर्कामा परेका छन् ।

यता, प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि सर्वोच्च अदालत परिसरमा घम्साघम्सी भएको छ । प्रहरीले आज पनि आफ्नो शान्तिपूर्ण कार्यक्रममा अवरोध पुर्याएको कानुन व्यवसायीहरुको आरोप छ ।

बारले आज पनि सर्वोच्चमा बिरोध प्रदर्शनलाई जारी राखेको हो । आज उसले देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा बहस नगर्ने निर्णय गरेको छ । यसअघिका कार्यक्रममा प्रहरी दमन र धरपकड भएकोमा त्यसको बिरोध गर्दै बारले आज सबै अदालतमा बहस बहिष्कारको कार्यक्रम राखेको हो ।

टिप्पणीहरू