अर्कैसँग नजिकिनमा प्रतिष्पर्धा

गत बुधबार दिउँसो माइती नेपाल, नारायणगढ कार्यालयमा दुईजना चेपाङ युवती भेटिए । इच्छाकामना–७, खेतबारी बस्ने २७ वर्षीया करकी चेपाङ घरबाट हराएकी भनेर नन्द फूलमतीले केही दिनअघि उजुर हालेकी थिइन् । निवेदनमा करकीको लमजुङ बस्ने दाइको मोबाइल नम्बर पनि उल्लेख थियो । फोन गर्दा करकी त्यहीँ रहेको पत्ता लाग्यो । 

करकीसँगै भेटिएकी डिल्लीमाया चेपाङका अनुसार माइती नेपालबाट फोन गर्नेबित्तिकै दाइ निकै डराएका थिए । उनले भनिन्, ‘आफ्नो गल्ती नभएपछि के हुन्छ र भनी बहिनीलाई तुरुन्तै पठाउनू भनें ।’ उनीहरूका अनुसार करकीलाई नन्दले आफ्नो श्रीमान् सुदीपसँग लागेको भनेर प्रताडना दिने गरेकी रहिछन् । सोही सहन नसकेर घरबाट भागेको बताउने करकीले आफू तीन दिन खेतबारीकै जंगलमा बसेको र पछि दाइको घरमा गएको बताइन् । 

सोही दिन माइती नेपालमा फूलमतीलाई पनि बोलाइएको थियो । उनले कैयौंपटक करकी आफ्नो श्रीमान्को काखमा बसेको, एकअर्कालाई समातेर चल्ने गरेको देखेको बताएकी माइती नेपालका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिए । आफ्नो पति पनि भाउजूसित लागेको भन्ने करकीले आफू भने ज्वाइँ (नन्दको पोइ)सित लाग्दै नलागेको बताइन् । उनको नौ र तीन वर्षका दुईवटा छोरा छन् ।

डिल्लीमायाले आफूलाई सबैले ट्याक्सी भनेर बोलाउने गरेको सुनाउँदै आफ्नो सम्बन्धबारे यसरी खुलाइन्, उनको बिहे भएको केही समयपछि लोग्ने रोजगारीका लागि बिदेसिएछन् । त्यहीबेला ती पति छाडेर दोस्रो बिहे गरिन् । आफ्नो श्रीमान् पनि अरूसितै लागेको भन्दै उनले ‘तँ अरूसित लाग्छस् भने म पनि अर्काे राख्छु’ भनी अर्काे बिहे गरेको बताइन् । अहिले आफू कान्छो श्रीमान्सित बसिरहेको र विदेशबाट जेठो लोग्नेले पनि पैसा पठाउने गरेको उनको भनाइ छ । भन्छिन्, ‘पहिलो श्रीमान्सित मोबाइलमा सिम चेञ्ज गरेर कुरा गर्छु ।’ माइती नेपालका कार्यक्रम संयोजक ईश्वर भन्छन्, ‘पिछडिएको मानिने चेपाङ समुदाय यौनको मामिलामा भने धेरै खुला र अगाडि रहेको पाइयो ।’

– अजय गोर्खाली

टिप्पणीहरू