आज राजधानीमा कसले के गर्दैछ ?

आज राजधानीमा कसले के गर्दैछ ?

नेकपा एमाले दशौं महाधिवेशनको अवसरमा राष्ट्रिय युवा संघ, ललितपुर जिल्ला कमिटीले आज बिहानदेखि बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम महारानीपोखरी मंगलबजारमा बिहान साढे ७ बजेदेखि भएको हो ।

उता आन्तरिक राजश्व कार्यालय, नयाँ सडक, काठमाडौं र राष्ट्रिय व्यापार संघले पनि दशौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बृहत खुल्ला रक्तदान कार्यक्रम एवम् कर प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । बिहान ८ बजेदेखि शुरु भएको कार्यक्रम फसिकेब चोकमा भइरहेको छ ।

आजै नेकपा (विप्लव) निकट जनवर्गीय संगठनहरूले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको बिरोधमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै छ । संगठनहरुले मन्त्रालयमा बिहान १० बजे ज्ञापनपत्र बुझाउने बताएको छ ।

सर्वोच्च अदालतमा आज पनि नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणको राजीनामा माग्दै कालोपट्टी बाँधेर बिरोध तथा धर्ना कार्यक्रम गर्ने जनाएको छ । अदालतको मुख्य गेटमा बिहान १० बजेदेखि धर्ना शुरु हुने जनाइएको छ ।

नेपाल खेलकुद महासंघले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज खेल नीति सम्मेलको आयोजना गर्दैछ । काठमाडौं बैंक्वेट थापागाउँमा बिहान ११ बजेदेखि सम्मलेन शुरु हुने जानकारी दिइएको छ ।

आज द्वन्द्वपिडीत समुदाय र नागरिक संघ संस्थाहरूले समयसीमा र कार्ययोजना सहितको संक्रमणकालीन न्यायसम्बन्धी मार्गचित्र, सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानुनबमोजिम ऐन संशोधन, पिडीतलगायत सरोकारवालाहरूसँग अर्थपूर्ण परामर्श गर्न आग्रह गर्ने भएको छ । उसले खुला, पारदर्शी र सार्वजनिक प्रक्रियाद्वारा स्वतन्त्र आयोग गठनको मागको निम्ति आजै बिहान ११ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ ।

आज बिहान ११ बजे नेकपा एमाले ललितपुर जिल्ला कमिटीको बैठक डाकिएको छ । बैठक बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा राखिएको हो ।
शंखमूलमा जगत गुरु आश्रम एवम् जगतनारायण मन्दिर, व्यवस्थापनको आयोजनामा श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ शुरु हुँदैछ । प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभुषित वालसन्त मोहनशरण देवाचार्य महाराज श्रीबाट शंखमूल जगतनारायण मन्दिरमा बिहान ११ बजेदेखि महायज्ञ शुरु हुने जानकारी दिइएको छ ।

उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले नेपाल बारको आन्दोलन र सर्वोच्च अदालतमा न्यायाधीशहरुले गर्दै आएको इजलास बहिस्कार एवम् अदालतमा देखिएको बेथितिविरुद्ध सर्वोच्च अदालत घेराउ गर्ने भएका छन् । उनीहरुले बिहान साढे ११ बजे माइतीघर मण्डलामा भेला भएर अदालत घेर्न जाने बताएका छन् ।

प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटीले नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन सन्दर्भमा मध्यान्ह १२ बजे अन्तरक्रिया कार्यक्रम राखेको छ । होटल हार्दिक बागबजारमा हुने कार्यक्रममा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली, एमाले सचिव योगेश भट्टराईलगायतका व्यक्तिहरुको उपस्थिति हुने भनिएको छ ।

संयुक्त राष्ट्रवादी, देशभक्त गठबन्धनले २०४७ को संविधान लागू गर्न र अहिलेको संविधान खारेज गर्न गत सातादेखि गर्दै आउको बिरोध प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएको छ । कार्यक्रम माइतीघर मण्डलामा दिउँसो १ बजे हुने छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीले नेकपा (एमाले) को दशौं महाधिवेशनको सन्दर्भमा जनपरिचालन भेला गर्ने भएको छ । भेला आरआर क्याम्पस, प्रदर्शनीमार्गमा दिउँसो २ बजे राखिएको छ ।

त्यही ठाउँमा अखिल क्रान्तिकारी आरआर क्याम्पस कमिटीले सबै खालका मूल्यवृद्धि बिरूद्ध भात पकाएर बिरोधसभा गर्दैछ । कार्यक्रम साँझ ५ बजे राखिएको छ ।

उता नेपाली काँग्रेसको मुख्यालय सानेपामा आज पनि काँग्रेस डडेलधुराको संस्थापनपक्षले रिले अनसन राखेको छ । त्यहाँ रौतहटलगायतका जिल्लाका काँग्रेसीले पनि बिरोध कार्यक्रम राख्दै आएका छन् ।

टिप्पणीहरू