१२ वर्षमाथि उमेर समूहकालाई पनि खोप धमाधम

१२ वर्षमाथि उमेर समूहकालाई पनि खोप धमाधम

कोरोना महामारीविरूद्धको फाइजर खोप १२ वर्षमाथि उमेर समूहकाले समेत पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकी सरकारले प्रदान गरेको फाइजर खोप दीर्घरोगीलाई मात्रै लगाईंदै आएकोमा हिजोदेखि १२ वर्ष उमेरभन्दा माथिका समूहले पनि पाएका हुन् ।

अमेरिकाबाट प्राप्त एक लाख ६ सय २० मात्रा फाइजर खोप प्रारम्भमा अस्पतालमा उपचार गराइरहेका दीर्घ रोगीलाई मात्र लगाइने भनिएको थियो । गत साता उनीहरुलई मात्र लगाइएको थियो । तर फाइजर खोप १८ वर्ष मुनिका बालबालिकालाई समेत लगाउन शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार दीर्घरोगीलाई लगाइसकेपछि पनि खोप बाँकी भएकाले अन्य उमेर समूहकालाई दिइएको हो ।

पहिलो चरणमा प्राप्त फाइजर खोप हिजोसम्म लगाउने तालिका बनाइएको थियो । तर दीर्घरोगीलाई लगाएपछि पनि खोप बाँकी रहेकाले यसलाई निरन्तरता दिइएको मन्त्रालयले बताएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले उक्त खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा ९५ प्रतिशत प्रभावकारी रहेको बताउँदै आएको छ ।

टिप्पणीहरू