आज देशभरका अदालतमा बहस बहिष्कार, सर्वोच्च बाहिर के होला ?

आज देशभरका अदालतमा बहस बहिष्कार, सर्वोच्च बाहिर के होला ?

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आज मुलुकभरका अदालतमा बहस नगर्ने भएको छ । सर्वोच्च अदालतभित्र दंगा प्रहरी प्रवेश गराएको, कानुन व्यवसायीको धर्नामा प्रहरी दमन भएको, सुरक्षाकर्मीले कानुन व्यवसायीलाई घाइते बनाएको बिरोधमा आज सबै अदालतमा बहस बहिष्कार गर्ने घोषणा गरेको हो ।

बारका सबै इकाइलाई हिजो साँझ पठाइएको पत्रमा एसोसिएसनले भनेको छ, ‘अस्तिको बैठकको निर्णयानुसार बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित अन्य सबै मुद्दाको बहस आज बहिष्कार गरिनेछ ।’ भोलि भने सर्वोच्च अदालतमा सीमित कालोपट्टी बाँधेर धर्ना दिँदै आएको कार्यक्रमलाई मुलुकभरका अदालतमा सञ्चालन गर्ने जनाइएको छ । भोलि नै संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई ज्ञापनपत्र र ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेको छ ।

मंगलबार बारले हदम्याद गुज्रने अवस्थाको अन्तिम म्यादको बाहेक सबै खालका मुद्दा, रिट, बहस नोट, प्रतिउत्तरलगायत केही पनि कुनै पनि अदालतमा दर्ता नगर्ने र बुधबार सबै उच्च अदालत र उच्च अदालतका इजलास रहेका स्थानमा बिरोध सभा गर्ने कार्यक्रम तय गरेको छ ।

आगामी बिहीबार र शुक्रबार भने काठमाडौं उपत्यकाका सबै बार इकाइको सहभागितामा सर्वोच्च अदालतमा बृहत बिरोध सभा गर्ने जनाइएको छ ।

यसैबीच बारले मंसिर २४ देखि २६ गतेसम्म पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन पनि हाललाई स्थागित गरेको जानकारी दिएको छ ।

सर्वोच्च अदालत बाहिर प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा रोक लगाउने भन्दै बारले बिहान १० बजेदेखि गर्दै आएको कालोपट्टी बाँध्ने र धर्ना दिने कार्यक्रमलाई आज उत्सुकतापूर्वक हेरिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित न्यायाधीशहरु शुक्रबारदेखि इजलासमा फर्केकाले नेपाल बारको आन्दोलनलाई सबैले चासोपूर्वका हेरेका हुन् ।

टिप्पणीहरू