यसरी हुँदैछ काँग्रेस रुकुममा भागबण्डा

यसरी हुँदैछ काँग्रेस रुकुममा भागबण्डा

यतिबेला रुकुम पश्चिमको नेपाली काँग्रेसलाई केन्द्रको १४ औ महाधिवेशन र जिल्लाको सातौ अधिवेशनको चटारो छ । मंसिर ६ गते तोकिएको जिल्ला अधिवेशनले सदरमुकाममा काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति बाक्लिएको छ ।

जिल्ला अधिवेशनबाट चयन हुने नयाँ जिल्ला कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत बनाउन यतिबेला काँग्रेसका अग्रजहरु सक्रिय छन् । प्राप्त जानकारीअनुसार सभापतिसहितका जिल्ला पदाधिकारीमा लगभग सहमति भएको छ । वर्तमान सभापति प्रेमप्रकाश ओली नै पुनः सभापतिमा दोहोरिने सम्भावना प्रवल छ । सभापतिका अर्का दाबेदार काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागका सदस्य कृष्णबहादुर रोकायलाई कर्णाली प्रदेशको महासचिव बनाउने गरि ओलीलाई फेरि सभापतिमा दोहोर्याउने सहमति भएको स्रोतले जनाएको छ ।

योसँगै अन्य केही महत्वपूर्ण पदहरुको निम्ति सहमति नजिक पुगेको जनाइएको छ । सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने र रुकुम काँग्रेसलाई एक ढिक्का बनाउने गरि सहजीकरण भइरहेको एक नेताले जनआस्थालाई बताए ।

स्रोतका अनुसार हाल जिल्ला सभापतिको दाबेदारीमा रहेका ओली र रोकाय दुवै जना पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । ओली यसअघि रामचन्द्र पौडेलको लाइनमा रहेको बताइएको थियो । जिल्ला पार्टीलाई एक ढिक्का बनाउने गरि दुबै जनाले केन्द्रमा एउटै लाइन रोजेको बताउनेहरु पनि छन् ।

अहिले जिल्लामा ओली र रोकाय समूहबीच सहमतिको अन्तिम प्रयास भइरहेको छ । हालसम्म भएका छलफलमा रुकुम पश्चिमको पहिलो उपाध्यक्षमा रोकाय निकट हर्कसिं खत्री हुने सम्भावना देखिन्छ भने अर्का उपाध्यक्षमा ओली लाइनबाट सुरतजंग मल्ल देखिएका छन् ।

दुई जना सचिवमध्ये दुबै समूहका एक एक जना हुने सहमति नजिक रहेको छ । जसमा रोकाय पक्षका महेन्द्र केसी र ओली पक्षका तारक शाही लगभग निश्चिन्त देखिन्छन् ।

सहसचिवमा भने दुई जनाभन्दा बढीको नाम आएको छ । दुई जना सहसचिवमा पनि दुबै समूहका एक एक जना हुनेगरी सहमति गरिएको बताइन्छ । सहसचिवमा टेकबहादुर बस्नेत, यज्ञ बिष्ट, लालबहादुर ओली, कमल शाहको नाम चर्चामा छ ।

कोषाध्यक्षमा भने मनोनित गर्ने प्रावधान रहेको छ । हालका कोषाध्यक्ष मोहवीर खड्का दुबै पक्षको सहमतिमा पुनः कोषाध्यक्षमा दोहोरिने सहमति गरिएको चर्चा छ । यसका साथै निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा पनि कमल शाह र यज्ञ बिष्टको नाम आएको छ भने ‘ख’ क्षेत्रमा भद्रबहादुर बिष्ट र गोरख चन्दको नाममा छलफल भइरहको जानकारी दिइएको छ ।

३७ सदस्यीय जिल्ला कार्यसमितिका अन्य पदहरुमा भने आरक्षण कोटा र पालिकाको सिफारिसमा समावेश गरिने समझदारी भएको छ । प्रावधानअनुसार जिल्लाका तीन ओटा नगरपालिकाबाट तीन जनाको दरले नौ जना र तीन ओटा गाउँपालिकाबाट दुई जनाको दरले छ जनाको जिल्ला समितिमा प्रतिनिधित्व हुनेछ । जसअनुसार पालिकाबाट १५ जना जिल्ला समितिमा पुग्नेछन् भने नौ जना आरक्षण कोटाबाट पर्नेछन् ।

प्राप्त जानकारीअनुसार दुबै समूहबीचमा सहमतिको सहजीकरण गरिरहेका नेताद्वय पूर्वराज्यमन्त्री गोपालजी जंग शाह र पूर्वसभापति मानबहादुर नेपालीलाई केन्द्रीय समितिमा लैजान जिल्लामा एक भएर अघि बढ्ने सहमति भएको बताइन्छ । शाहलाई खुला तर्फबाट र नेपालीलाई दलित कोटामा केन्द्रीय सदस्यको उम्मेदवार बनाएर जिताउने सहमति भएको हो ।

जिल्लाबाट छानिने २५ जना महाधिवेशन प्रतिनिधि र ३४ जना प्रदेश प्रतिनिधिको लागि भने भइरहेको छलफल टुंगोमा पुगेको छैन ।

टिप्पणीहरू