नमोबुद्धमा श्रद्धालुहरुको खचाखच

नमोबुद्धमा श्रद्धालुहरुको खचाखच

काभ्रेपलाञ्चोकको नमोबुद्धमा अस्तिदेखि मेला लागेको छ । कात्तिकशुक्ल पूर्णिमाका अवसरमा नमोबुद्धमा हरेक वर्ष मेला लाग्ने गरेको छ । मेलामा बौद्धधर्मावलम्वीहरुले पूजाअर्चना र दीप प्रज्ज्वलन गर्छन् ।

बिहीबारदेखि आज बिहानसम्म एक लाखभन्दा बढी दर्शनार्थी नमोबुद्ध पुगेको मेला व्यवस्थापन समितिले जनाएको छ । सबैभन्दा धेरै दर्शनार्थी हिजो साँझ र गएको रातभर त्यहाँ बसेका थिए ।

गतवर्ष कोरोना महामारीका कारण मेला रोकिएको थियो । मेलामा विशेष गरी तामाङ र नेवार समुदायका मानिसको घुईंचो लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरले बताएका छन् ।

यो वर्षको मेलामा काभेपलाञ्चोकका अतिरिक्त सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट, गोरखा र कास्कीलगायतका जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ ।

नमोबुद्धमा भाद्रकृष्ण द्वादशी र चैत्रकृष्ण द्वादशीको दिन समेत पनि मेला लाग्दछ । तर कात्तिकशुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा धेरै भीड लाग्ने गरेको छ ।

टिप्पणीहरू