घरजग्गाको भाउ अचाक्ली, सबैभन्दा महँगो कर्णालीमा

घरजग्गाको भाउ अचाक्ली, सबैभन्दा महँगो कर्णालीमा

मुलुकभर पछिल्ला केही वर्षमा घरजग्गाको मूल्य धेरै बढेको छ । वार्षिकरुपमा औसत २६ दशमलब ४५ प्रतिशतले वृद्धि भएको देखिए पनि व्यवहारमा त्योभन्दा निकै बढी पाइएको छ । मुलुकमा सबैभन्दा धेरै घरजग्गाको भाउ कर्णाली प्रदेशमा बढेको एउटा अध्ययनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनको तथ्याङ्क वाणिज्य बैंकमा भएका कारोबारका आधारमा निकालिएको हो । सरकारको मालपोत कार्यालयको विवरणका आधारमा भने उक्त वृद्धिदर झन् कम देखिन्छ । त्यो वृद्धिदर औसतमा १९ दशमलब ४५ प्रतिशत मात्र देखिएको छ ।

बैंकले विभिन्न २० जिल्लाका मालपोत कार्यालयमा भएको घरजग्गाको किनबेच र छ वटा वाणिज्य बैंकले प्रवाह गरेको ऋणका आधारमा उक्त सर्वेक्षण तयार गरेको हो । प्रतिवेदनअनुसार बजारको वास्तविक मूल्य र कारोबारको मूल्यमा निकै अन्तर पाइएको छ । राजश्व कम तिर्नको लागि कारोबारीले न्यून मूल्याङ्कन गरेको आकलन गरिएको छ ।

यो प्रतिवेदन मुलुकका केही शहरी क्षेत्रलाई आधार मानेर तयार पारिएको हो । प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै १९ दशमलब १९ प्रतिशतले घरजग्गाको मूल्यवृद्धि भएको छ । यस्तै, कर्णालीमा १९ दशमलब ०२ प्रतिशत, बागमतीमा १८ दशमलब २ प्रतिशत, सुदूरपश्चिममा १६ दशमलब ३२ प्रतिशत, प्रदेश नम्बर २ मा १६ दशमलब २ प्रतिशत, प्रदेश नम्बर १ मा १५ दशमलब १४ र लुम्बिनी प्रदेशमा सबैभन्दा थोरै ४ दशमलब ३२ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ ।

टिप्पणीहरू